साप्ताहिक संवाददाता
सुरज शाही ठकुरी, गायक
सांगीतिक सक्रियता कस्तो छ ?
भर्खरै ‘ब्रेकिङ न्यूज’ शीर्षकको एल्बम तथा त्यही शीर्षकमा म्युजिक भिडियो सार्वजनिक गरेको छु । यो गीत कम समयमै लोकप्रिय भएपछि सञ्चारमाध्यमका साथै सांगीतिक कार्यक्रमहरूमा सहभागिता जनाउने क्रम पनि बढेको छ ।
‘ब्रेकिङ न्यूज...’ कस्तो शैलीको गीत हो ?
यो पप शैलीमा आधारित मेलोडियस गीत हो, जसमा प्राय: दैनिक जनजीवनमा प्रयोग गरिने शब्दहरू समावेश गरिएको छ । मुकेश आचार्यको शब्दमा इन्द्र पीआरको संगीतले यो गीतलाई कर्णप्रिय बनाएको छ ।
भिडियोलाई पनि समाचारकै शैलीमा तयार पार्नु भएछ नि ?
निर्देशक विभोर पोखरेलको सञ्चारमाध्यममा काम गरेको अनुभवले यो भिडियोलाई आकर्षक बनाउन सहयोग पुर्याएको छ । अकेशा विष्ट तथा मुकेश आचार्यको अभिनयले पनि भिडियोलाई जीवन्तता प्रदान गरेको छ ।
सांगीतिक क्षेत्रमा सक्रिय हुनुभएको कति भयो ?
करिब पाँच वर्षअघि एकल एल्बम ‘संस्करण’ लिएर सांगीतिक क्षेत्रमा प्रवेश गरेयता यही विधामा सक्रिय छु । उक्त एल्बमको ‘तिमीबिना जिउनु त’ गीत लोकप्रिय भएपछि मैले कन्सर्टमा पनि सक्रिय हुने मौका पाएको थिएँ ।
लामो समयदेखिको संगीत प्रशिक्षणले कत्तिको फाइदा पुर्याएको छ ?
संगीतकर्मी चण्डीप्रसाद काफ्ले तथा गायक शिव परियारसँग करिब चार वर्ष संगीतको प्रशिक्षण लिएको छु । त्यसबाहेक मैले तबलावादन तथा गिटारवादनको समेत एक–एक वर्षे प्रशिक्षण लिएको छु । संगीतको प्रशिक्षणले आत्मविश्वास बढाउँछ भन्ने कुरामा म विश्वस्त छु ।
आगामी दिनका लागि कस्तो सांगीतिक योजना छ ?
डिजे सन्तोषद्वारा सञ्चालित ब्ल्याकपेपर स्टुडियोमा ‘इनहाउस परफर्मर’ का रूपमा अनुबन्ध भएको छु । उक्त स्टुडियोमा रहेर विभिन्न गीत–संगीत सिर्जना तथा रेकर्डिङमा व्यस्त रहने छु । त्यसबाहेक कर्णप्रिय सिंगल ट्रयाकमार्फत श्रोतामाझ आइरहनेछु ।