साप्ताहिक संवाददाता
निरक पौडेल, निर्देशक
तपाईंको पहिलो निर्देशन कुसुमे रुमाल र दोस्रो होमवर्कबीच लामो ग्याप देखिन्छ, किन होला ?
सम्भवत: होमवर्क नै गरिरहेको थिएँ । मैले आफ्नो कम्पनीमा समय दिनुपर्ने भएकाले पनि यति ग्याप भयो ।
होमवर्कमा बूढो बनाउन आर्यन सिग्देललाई नै रोज्नुको कारण ?
स्क्रिप्ट लेखिसकेपछि स्क्रिप्टले आर्यन नै चाहिन्छ भनेर भन्यो ।
होमवर्क यथार्थवादी चलचित्र हो कि मनोरञ्जक ?
दुवै हो । सन्देश भएको, हरेक बुजुर्ग व्यक्तिले महसुस गर्ने चलचित्र हो ।
आफ्नै निर्माण कम्पनी भएर पनि तपाईं निर्देशनमा किन निरन्तर सक्रिय हुनुहुन्न ?
कम्पनीमा समय दिनुपर्छ । फेरि अरूलाई चान्स पनि त दिनुपर्यो नि, तर अब हरेक वर्ष एउटा चलचित्र बनाउने निधो गरेको छु ।
निर्देशनमा कोसँग बढी प्रभावित हुनुहुन्छ ?
दर्शकबाट, दर्शक अचेल निकै बाठा र जान्ने भैसकेका छन् ।
होमवर्कका दुई महिला कलाकार गौरी मल्ल र नम्रता श्रेष्ठमध्ये एक जनालाई रोज्दा ?
मल्ल प्लस श्रेष्ठ, दुवै ।
चलचित्रको ट्रेलरमा आएको एउटा प्रतिक्रिया, बुढेसकालमा अध्ययन गर्न के स–साना बालबालिकाहरूसरह विद्यालय नै जानुपर्छ र ? प्रौढशिक्षाको व्यवस्था पनि त छ नेपालमा ?
ट्रेलर हेरेर जजमेन्ट गरिएकाले त्यसो भनिएको होला । पूरै चलचित्र हेरिसकेपछि यसको जवाफ पाइन्छ ।
चलचित्र होमवर्कको प्रोमोमा देखाएझैं अंग्रेजी सिक्नकै लागि विद्यालय जानुपर्ने बाध्यता भएको व्यक्तिले घरमै अंग्रेजी पनि जान्न सक्थ्यो होला नि, हैन र ?
ट्रेलरमै छ यसको जवाफ, युवा भुमिकामा रहेका आर्यनले यही प्रश्न गरेका छन् ।
नेपालको पुरानो चलचित्र स्टुडियो चलचित्र विकास कम्पनी (एनएफडिसी) तपाईंको मातहतमा छ, यो समयअनुसार किन अपग्रेट हुन सकिरहेको छैन ?
टेक्नोलोजीले फड्को मारेको मलाई थाहा छ, तर पब्लिक लिमिटेड कम्पनी चलाउनु प्राइभेट लिमिटेड कम्पनी चलाएजस्तो सहज हुँदो रहेनछ । सञ्चार मन्त्रालयसहित यसमा ६ हजार सेयर होल्डर छन् । यस्तोमा निरक पौडलको एकल निर्णयले मात्र केही हुँदैन ।
विवाहपछिको जीवन रमाइलो कि विवाहअघिको ?
त्योभन्दा पनि बाल्यकालको जीवन रमाइलो ।
आफ्नो निर्देशनमा काम गराउन चाहेका तीन अभिनेत्री ?
भुवन चन्द, रेखा थापा र प्रियंका कार्की ।
गर्न चाहेर पनि गर्न नसकेको कुनै काम ?
चलचित्र विकास कम्पनी (एनएफडिसी) लाई अन्तर्राष्ट्रिय चलचित्र निर्माणको गन्तव्य बनाउने र सुविधा सम्पन्न बनाउने काम । यसका लागि खाका र नक्सा पास भैसकेको छ । काम गर्न सकिरहेको छैन ।
नेपाली चलचित्र क्षेत्रका तीन व्यक्तित्व, जोसँग तपाईं औधी प्रभावित हुनुहुन्छ ?
उद्धव पौडेल, उद्धव पौडेल र उद्धव पौडेल ।
नेपाली चलचित्र क्षेत्रको विकासको बाधक कसलाई मान्नुहुन्छ ?
होमवर्क अर्थात् पूर्वतयारी नगरी चलचित्र बनाउने रहर गर्नेहरूलाई ।