आगामी दिनमा केही पुराना मेकअप ट्रेण्ड यथावत् रहने देखिन्छ भने केही नयाँ ट्रेन्ड भित्रिने बताइन्छ । अबका दिनमा के–कस्ता मेकअप प्रचलनमा रहलान् भन्ने विषयमा ललितपुरको जावलाखेलस्थित सेरोमनी ब्युटिपार्लरकी ब्युटिसियन मीना रिमाल न्यौपानेले अनुमान गरेका केही मेकअप शैली :
टिनेज/न्यूड मेकअप
अहिलेका युवायुवती न्यूड मेकअप मन पराउँछन् । ग्ल्यामरस लुक दिने मेकअप नै उनीहरूको छनोटमा पर्ने गरेको छ । आगामी दिनमा टिनएज मेकअप अझ फस्टाउने देखिन्छ । टिनएजरहरू सफा प्राकृतिक छाला मन पराउँछन् । इभेन कम्प्लेक्सको प्रयोगमा यो मेकअप गरेर हिँडे साइड इफेक्ट पनि हुँदैन । अनुहारलाई स्लिम देखाउन ब्रन्जरको सहयोग लिन सकिन्छ । यो प्रभावकारी पनि छ । ब्रन्जरमाथि साइनिङ देखाउन सिमर पाउडर लगाउन सकिन्छ । सिमर पाउडरले अनुहारमा थप चमक ल्याउँछ ।
एयरब्रस मेकअप
यस्तो मेकअप ब्रसको सहायताले गरिन्छ । हाइजेनिक मानिने एयरब्रस मेकअप हातले छोएर गरिँदैन । संवेदनशील छाला हुनेहरूका लागि यो मेकअप अत्यन्तै प्रभावकारी हुन्छ । अहिले सबै उमेर समूहका महिलाहरूको रोजाइ परेको मेकअप पनि यही नै हो । यो मेकअप गर्मी तथा जाडो दुवै मौसमका लागि उपयुक्त छ ।
सेल्फ डे मेकअप
सेल्फ डे मेकअपले प्राकृतिक लुक्स दिन्छ । यसमा आइलिड स्याडो प्रयोग गर्न सकिन्छ । नेचुरल रोज प्रयोग हुने यो मेकअप दिनहुँ गरिने मेकअप हो । यस्तो मेकअप आफंै पनि गर्न सकिन्छ । यस्तो मेकअपमा खासै धेरै सौन्दर्य प्रसाधन प्रयोग हुँदैन । आफूले क्यारी गर्न सकिने हिसाबले पनि यस्तो मेकअप गर्न सकिन्छ ।
फोटोसुट मेकअप
सफा अनुहार देखाउन फोटोसुट मेकअपको ट्रेन्ड पनि उत्तिकै लोकप्रिय छ । यो मेकअप फोकसेबल मानिन्छ । यस्तो मेकअप गर्दा अनुहारमा भएका डन्डीफोर तथा अन्य दागहरू छोपिन्छ । यो मेकअप गर्दा आँखा र ओठको मेकअपमा विशेष ध्यान दिइन्छ ।
पार्टी मेकअप
दिनमा हुने पार्टी र राति हुने पार्टीका लागि फरक–फरक मेकअप गर्नुपर्छ । दिउँसो हुने पार्टीका लागि पहिरनअनुरूपको मेकअप गर्नुपर्छ भने राति हुने पार्टीका लागि मेकअपको बेस नै हेभी हुनुपर्छ, जसले आफूलाई सालिन शैलीमा प्रस्तुत हुन सहयोग गरोस् ।
मोडल मेकअप
मोडल मेकअप पनि लोकप्रिय र अत्यन्तै ट्ेरन्डी मेकअप हो । पहिरनअनुसार नै गरिने यस्तो मेकअपमा बढीभन्दा बढी वेस्टर्न कलर कम्बिनेसन प्रयोग हुन्छ । मोडल मेकअपले मानिसमा बोल्डनेस तथा कन्फिडेन्ट लेभल जगाउँछ ।
स्टेज मेकअप
स्टेज मेकअप अन्य मेकअपको तुलनामा हेभी हुन्छ । यो मेकअप टाढाबाट पनि देखिने खालको हुनुपर्छ । स्टेज मेकअपमा डे आउट अर्थात् पार्टीमा जान सकिँदैन । स्टेज मेकअपलाई कलरफुल मेकअप पनि भनिन्छ । देखाउने मेकअपका रूपमा पनि लिइने भएकाले यो मेकअप ब्राइट देखिन्छ ।
अफिसियल मेकअप
अफिसियल मेकअप नेचुरल तथा व्यक्तित्व देखाउने खालको हुन्छ । अफिसियल मेकअपलाई सोवर मेकअप मानिन्छ, यसमा अफिसियल पहिरनअनुरूप मेकअप गर्नुपर्छ । साडी लगाउने हो भने अलि गाढा मेकअप गर्नुपर्छ अन्यथा पहिरनसँग म्याच हुने मेकअप आवश्यक हुन्छ ।