साप्ताहिक संवाददाता
७२ औं भेनिस इन्टरनेसनल फिल्म महोत्सवमा ‘इन्टरनेसनल क्रिटिक्स विक’ जितेको नेपाली चलचित्र ‘कालो पोथी’ आज शुक्रबारदेखि नेपालका विभिन्न चलचित्र हलहरूमा रिलिज हुने भएको छ ।
मीनबहादुर भामद्वारा निर्देशित ‘कालो पोथी’ स्विट्जरल्यान्डको ५० हजार स्विस फ्रान्क, जर्मनीको ३० हजार युरो तथा फ्रान्सको १ लाख १० हजार युरो लगानीमा निर्माण गरिएको हो । मीनबहादुर र अविनाश विक्रम शाहले संयुक्त रूपमा लेखेको यो चलचित्रलाई काजकिस्तानका छायांकार अजिज झाम्बाकिभले खिचेका हुन् ।
छिरिङ रितार शेर्पा पनि एक निर्माता रहेको यो ९० मिनेटको चलचित्रलाई अंग्रेजी, इटाली, फ्रेन्च, जर्मन, स्पेनिस, जापानिज, कोरियन तथा चाइनिज भाषामा सबटाइटल गरिएको छ । मुगुको सुन्दर दृश्य समेटिएको चलचित्र ‘कालो पोथी’ विशेषत: बाल मनोविज्ञानमा आधारित छ । अहिले नेपाली चलचित्रको पाइरेसी हुने क्रम बढेको सन्दर्भमा चलचित्र ‘कालो पोथी’ लाई फ्रान्सेली चलचित्र वितरण कम्पनी वाइड म्यानेजमेन्टले १४ करोड पाइरेसी बिमा गरेको छ ।
निर्देशक : मीनबहादुर भाम
संगीत : जेसन कुँवर
कलाकार : शुक्रराज रोकाय, खड्काराज नेपाली, जितबहादुर मल्ला, हंश खड्का, नन्दप्रसाद खत्री, बेनिशा हमाल, विपिन कार्की तथा प्रवीण खतिवडा ।
चलचित्र कालो पोथीको ट्रेलर