यतिबेला पूर्वका विभिन्न भेगमा जातीय पहिरनमा ढोल र झ्याम्टासहित नाचिरहेको दृश्य कम रमाइलो देखिँदैन । प्रकृतिपूजक राई किराँत समुदायले मनाउँदै आएको उधौली पर्व साकेला सिलीले यतिबेला यो समुदायको बसोबास रहेको क्षेत्रलाई छपक्कै छोपेको छ ।
किराँत यले संवत् ५०७६ को अवसर तथा साकेला उधौली पर्वका अवसरमा किराँत राई समुदायले यो पर्व धूमधामका साथ मनाइरहेको छ । विशेष गरी तराईका मोरङ, झापा, इलाम सुनसरी आदि जिल्लाका विभिन्न ठाउँमा दैनिक रूपमा यस्ता दृश्यहरूले सबैलाई आकर्षित गरिरहेको छ । साकेला सिलीका अवसरमा विभिन्न प्रतियोगितासमेत आयोजना हुने गरेका छन् । यसैक्रममा मोरङको लक्ष्मीमार्गमा पनि साकेला सिली प्रतियोगिता सम्पन्न भएको छ । डाँगीहाट वयरबन, लक्ष्मीमार्ग, बेलवारी, उर्लाबारी, लेटाङको कृतिमान, पथरी आदि समूहबीच साकेला शिली प्रतियोगिता तथा अन्तरविद्यालय स्तरीय बहुजातीय सांस्कृतिक प्रतियोगिता सञ्चालन गरिएको थियो ।
प्रतियोगितामा साकेला सिलीतर्फ पथरी शनिश्चरे प्रथम उर्लाबारी दोस्रो तथा लेटाङको कीर्तिमान तेस्रो भए । त्यसैगरी विद्यालयस्तरीय सांस्कृतिक प्रतियोगितामा माउन्ट एभरेस्ट बोर्डिङ लक्ष्मीमार्ग प्रथम, भानुभत मेमोरियल दोस्रो तथा मोरङ ज्ञानोदय बोर्डिङ स्कुल तेस्रो भए ।
किराँती समुदायले बाली लगाउने समय अर्थात् वैशाखे पूर्णिमामा उद्यौली र बाली उठाउने समय मंसिरे पूर्णिमा उभौली पर्व मनाउँछ । अन्न प्रकृति पूजक तथा भूमि पूजकका रूपमा राई किराँतीहरूले बाली लगाउने, उठाउने तथा विभिन्न जनावरहरूको कला समेट्दै साकेला सिली प्रदर्शन गर्छन् ।