मे २३ तारिख अर्थात् जेठ १० गते सोमबार बिहानै विश्वको सर्वोच्च शिखर सगरमाथामा नेपालको नयाँ संविधान–२०७२ लिएर पुगेका थिए– अनिश लुइँटेल । प्रतिकुल मौसमका बाबजुद अर्थात् हिमपातबीच उनले सगरमाथाको शिखरमा नेपालको संविधान र नेपालको झन्डासहित नेपाल स्काउटको झन्डा समातेर तस्बिर खिचाए ।
सम्भवत: कुनै पनि देशको संविधान सर्वोच्च शिखरमा पुर्याइएको यो पहिलो घटना हुनुपर्छ । सगरमाथा चढ्नुलाई कतिपयले सामान्य रूपमा लिए पनि यो चानचुने विषय पक्कै होइन । त्यसमाथि पनि दुई वर्षदेखि आरोहण हुन नसकेको सगरमाथामा यो वर्ष आरोहण भएको हो । आधा दर्जनले आरोहणकै क्रममा ज्यान पनि गुमाए, तर ज्यानलाई बाजी राखेर नेपालको शान्तिको कामना गर्दै संविधान कार्यान्वयन होस् भन्ने प्रतीकात्मक अर्थ बोकेर अनिशले नेपालको संविधानलाई शिखरमा पुर्याए ।
‘सगरमाथाको शिखरमा मैले आफ्नो देशको संविधान पुर्याउँदा छाती गौरवले फुलेको थियो ।’ अनिशले भने, ‘त्यसको बयान म शब्दमा गर्न सक्दिन ।’ अझ यो वर्ष नेपाल सरकार मार्फत आरोहीको अनुमति लिएर सगरमाथा पुग्ने एक मात्र नेपाली आरोही हुन उनी । पर्यटन विभागमा ७५ हजार रोयल्टी बुझाएपछि मात्र नेपालीले सगरमाथा आरोहणको अनुमति पाउँछन् ।
स्थायी घर मेचीनगर–४ भए पनि भद्रपुर–१२ बस्दै आएका अनिश लुइँटेल २४ वर्षका मात्र छन् । एसएलसी दिएर साथीको घर जान्छु भनी हिँडेका अनिशले गोजीमा १५ हजार रुपैयाँ बोकेका थिए, तर उनी कुनै साथीको घर गएनन् । उनी सीधै अन्नपूर्ण बेस क्याम्प हान्निए ।
तीन सातापछि घर आइपुग्दा अभिभावकले झन्डै पिटेको सम्झना अझै उनको मनमा छ । आफू तराईको पनि सबैभन्दा होचो स्थान रहेको जिल्ला झापामा जन्मिए तर मनमा भने संसारको उच्च स्थानमा पुग्ने अठोट थियो ।
अनिशले २०१४ पछि ६ हजार मिटरभन्दा अग्ला आइल्यान्डपिक, मेरा पिक आदि चढे । गत वर्ष सगरमाथाका लागि हिँडेका अनिश भूकम्प जाँदा क्याम्प–२ मा थिए । सौभाग्य उनलाई केही भएन र हेलिकप्टरले उद्धार गरेर आधारशिविर झार्यो । अहिले परिवारको सहयोगकै कारण उनी आरोहणका लागि तयार भएका थिए ।
शिक्षा संकायमा स्नातक तह पूरा गरेका अनिश नेपाल स्काउटका स्काउट मास्टर हुन् । नेपाल स्काउटका तर्फबाट सगरमाथा आरोहण गर्ने पनि उनी पहिलो नेपाली हुन् । आरोहण गरेर फर्किएपछि अहिले उनी सम्मान लिनमै व्यस्त छन् । अनिशले सगरमाथाको शिखरमा पुर्याएको संविधान तथा नेपालको झन्डा प्रधानमन्त्रीलाई हस्तान्तरण गरिसकेका छन् । उनलाई आरोहण गर्न नेपाल विद्यार्थी संघले ५ लाख सहयोग गरेको थियो भने बाँकी खर्च परिवारले ऋण खोजी दिनेदेखि लिएर आफैंले समेत जुटाएका थिए ।