साप्ताहिक संवाददाता
जुन ५ मा हामी विश्व वातावरण दिवस मनाउँछौं । वातावरण दिवसका अवसरमा हामी विभिन्न कार्यक्रम आयोजित गर्छौं । कागजको प्रयोग कम गरेर पनि हामी वातावरण जोगाउन सक्छौं । कागज बनाउन नै विश्वमा प्रत्येक वर्ष करोडौं हरिया बोटबिरुवा काटिन्छ । त्यसैले कागजको सट्टा विभिन्न प्रकारका अनलाइन टुल्स प्रयोग गरी डिजिटल नोट बनाउने बानी बसाल्नु उपयुक्त हुन्छ ।
यही कुरालाई मनन गरी अहिले विश्वमै कागजको सट्टा डिजिटल सामग्री प्रयोग गर्ने क्रम बढेको छ । यसका कारण दैनिकी सहज हुने मात्र होइन, वातावरण संरक्षणमा समेत सहयोग पुग्छ । कुनै पनि कुरा टिपोट गर्न हामी कागजको डायरीको सट्टा स्मार्टफोन प्रयोग गर्न सक्छौं । स्मार्टफोनमा भएका सामान्य नोटका साथै अन्य एप्सहरू प्रयोग गरेर पनि हामी आफ्नो कामलाई स्मार्ट बनाउन सक्छौं ।
गुगल किप
कुनै पनि कामको टिपोट गर्न वा नोट बनाउन गुगल किप एप निकै उपयुक्त छ । यसको इन्टरफेस सामान्य छ । यसमा लेख्न पनि सजिलो छ । यसमा आफ्नो विचार, चेकलिस्ट तथा विभिन्न लेख राख्न सकिन्छ । यसमा भ्वाइस मेमोसमेत रेकर्ड गराउन सकिन्छ । अडियो ट्रान्सक्रिप्सनका लागि यो धेरै नै उपयोगी छ । आइओएस, एन्ड्रोइड तथा वेब सबैमा यो एप्स प्रयोग गर्न सकिन्छ ।
वान नोट
वान नोट नामक एप्सलाई पेपर नोटबुक पनि भन्न सकिन्छ । आफूलाई मन लागेको कुनै पनि कुरा कागजमा लेखेजस्तै क्लिक गरी लेख्न सकिन्छ । यसमा नोटका साथमा इमेज, फाइल, अडियो, स्केच र भिडियोसमेत राख्न सकिने अप्सन उपलब्ध छ । यो माइक्रोसफ्ट वान नोट क्लाउड स्टोरेजसँग लिंक हुन्छ । यसलाई आइओएस, एन्ड्रोइड तथा विन्डोज फोनमा प्रयोग गर्न सकिन्छ ।
सिम्पल नोट
यो एक प्रकारको खाली पेज जस्तो लाग्छ । नाम जस्तै यो प्रयोग गर्न पनि सजिलो छ । खाली पेजमा कुनै चिज लेखेजस्तै यसमा पनि आफूलाई मन लागेको कुरा लेख्न सकिन्छ । यदि कुनै महत्वपूर्ण सामग्री डिलिट भए सिम्पलनोट हिस्ट्रीबाट फेरि प्राप्त गर्न सकिन्छ । यसलाई आइओएस, एन्ड्रोइड तथा विन्डोज फोनमा प्रयोग गर्न सकिन्छ ।
स्क्विड
स्क्विड एउटा ह्यान्डराइटिङ एप्स हो । यसमा प्रेसर सेन्सिटिभ स्टाइलस वा आफ्नो औंलाले पनि लेख्न सकिन्छ । यसमा डकुमेन्ट, इमेज, पीडीएफ आदि इम्पोर्ट गर्ने सुविधा छ । यसमा टेक्स्टलाई बोल्ड तथा हाइलाइट गर्न सकिन्छ । यसमा सेयरिङ गर्न मिल्ने अप्सन पनि छ । यो एप्स एन्ड्रोइड र विन्डोज दुवै भर्सनका फोनमा उपलब्ध छ ।
एभर नोट
डिजिटल नोटबुकको क्षेत्रमा सर्वाधिक लोकप्रिय एप्लिकेसन हो— एभरनोट । नोट र डकुमेन्टलाई स्क्यानिङ र वेब पेज क्लिपिङका लागि प्रयोग गर्न पनि सकिन्छ । यसको सहयोगले विभिन्न प्रकारका नोट तयार गर्न र आफ्नो जीवनलाई डिजिटल लाइफमा परिणत गर्न सकिन्छ । यसलाई आइओएस, एन्ड्रोइड तथा विन्डोज फोनमा प्रयोग गर्न मिल्छ ।
कागज र वातावरण
हामीले कागजको प्रयोग कम गर्यौं भने वातावरण संरक्षणमा सहयोग पुग्छ । कागज कम प्रयोग गर्दा बोटबिरुवाको नोक्सानी कम हुन्छ । यसले गर्दा वातावरण संरक्षण हुन्छ ।
कार्यालयमा प्रयोग गरिने १ टन कागज बनाउन करिब २४ वटा रुख प्रयोग गरिएको हुन्छ ।
एक पाना कागज बनाउन करिब डेढ कप पानी खर्च हुन्छ ।
एक टन कागज बनाउँदा करिब ६० पाउन्ड वायु प्रदूषण उत्पन्न हुन्छ ।
एक केस अर्थात् १० रिम्स कागज एउटा रूखको ६० प्रतिशत बराबर हुन्छ ।
कागज उद्योगले अन्य कुनै पनि उद्योगको तुलनामा बढी पानी खर्च गर्छन् ।
पल्प तथा पेपर इन्डस्ट्रीले संसारको करिब ४ प्रतिशत शक्ति प्रयोग गर्छन् ।