सागर राज, निर्देशक/गायक
‘पानी पर्यो असिना झर्यो दाइको रुमाल भाउजूलाई मन पर्यो...’ गायक अल्मोडा राना उप्रेतीको यो गीतको म्युजिक भिडियो अत्यन्त लोकप्रिय छ । प्राय: सबै नेपाली टेलिभिजन च्यानलमा त यो गीत प्रसारण भएकै छ, युट्युबमा समेत यो भिडियो झन्डै ८ लाख पटक हेरिएको छ । सिर्जनात्मक यो भिडियाका सर्जक हुन्— सागर राज । सन् २००० देखि नेपालको सांगीतिक क्षेत्रमा सक्रिय सागर राज मूलत: संगीतकर्मी हुन् तर उनी आफूलाई नौलो सिर्जना गर्न मन पराउने स्रष्टाका रूपमा परिचय गराउन रुचाउँछन् । पप, रक, सुफीसहित अन्डरग्राउन्ड म्युजिकमा समेत काम गरिसकेका सागरलाई दर्शक तथा श्रोताले ‘झाले माले भाइ’ तथा ‘कठै बरा’ जस्ता गीतमा सुनिसकेका छन् । संगीतकारका रूपमा समेत नेपालका अधिकांश गायक–गायिकालाई गीत गाउन लगाइसकेका राज यतिबेला आफ्नो निर्देशकीय क्षमताका कारण चर्चामा छन् । सिर्जनात्मक शैलीका म्युजिक भिडियो निर्माण गर्नु पर्छ भन्ने सोचका साथ सागर राजले निर्देशन गरेको ‘फन्टास्टिक’ गीतको भिडियो लोकप्रिय भएपछि यतिबेला उनलाई भिडियो निर्देशनले व्यस्त बनाएको छ । भर्खरै सार्वजनिक भएको गायक निरज शाक्यको ‘सात बोतल...’ गीतको भिडियोबाट समेत चर्चा पाएका सागर पछिल्लो समय आँखा नदेख्न गायक पार्कर लिम्बूको गीतको भिडियो बनाइरहेका छन् । एकपछि अर्को गर्दै संगीत तथा भिडियोमा नौलो प्रयोग गरिरहेका सागर राजसंग साप्ताहिकको तीन प्रश्न :
संगीतकर्मीबाट भिडियो निर्देशक बन्ने योजना कसरी बन्यो ?
मैले विगत डेढ दशकदेखि नै सांगीतिक क्षेत्रमा नौलो प्रयोग गर्दै आएको छु । मैले गरेका कतिपय काम दर्शकमाझ पुगेका छन्, कतिपय पुग्ने क्रममा छन् । सिर्जनात्मक कार्य गर्दागर्दै म निर्देशनको विधामा आइपुगेको हुँ ।
‘फन्टास्टिक’ गीतको सफलताको श्रेय कसलाई दिनुहुन्छ ?
म्युजिक भिडियोमा केटा र केटीको रोमान्सलाई मात्र प्रस्तुत गर्नुपर्छ भन्ने मान्यतालाई तोड्दै मैले चरित्रलाई प्राथमिकता दिएर यो भिडियो तयार पारेको हुँ । भिडियोमा अभिनय, नृत्य एवं रमाइलो हाउभाउ प्रस्तुत गर्ने सम्पूर्ण कलाकार तथा गीतले यो भिडियोलाई उत्कृष्ट बनाएको हो ।
भविष्यको योजना के छ ?
आगामी दिनमा अझ बढी सिर्जनात्मक काम गर्ने चुनौती थपिएको छ । डिजिटल युगका दर्शकलाई कस्तो भिडियो मन पर्छ भन्ने कुरा अध्ययन गर्दै त्यहीअनुरूप भिडियो तयार पार्दै जानेछु ।
सागर राजद्धारा निर्देशित भिडियो