राजनीति शास्त्रका अध्येताहरू दरबार हत्याकाण्ड नभएको भए नेपालमा गणतन्त्र आउन असम्भव मान्छन् भने सामाजिक अध्येताहरू दरबार हत्याकाण्डपछि समग्र नेपालीको मनोभाव नै परिवर्तन भएको ठम्याउँछन् ।
गणतन्त्र आएपछि तत्कालीन राजदरबारलाई राष्ट्रिय संग्रहालय बनाउने एवं राजा वीरेन्द्र र उनका परिवारको सम्पत्तिलाई ट्रस्ट बनाएर ग्रामीण क्षेत्रको शिक्षा एवं स्वास्थ्यमा लगानी गर्ने निर्णय गरियो ।
नेपाल ट्रस्टको स्थापनापछि सबैभन्दा ठूलो चासो विदेशमा थुपारिएको भनिएको तत्कालीन राजपरिवारका सदस्यहरू वीरेन्द्र–ऐश्वर्य र उनका परिवारको नाममा कति सम्पत्ति छ भन्ने नै थियो ।
विदेशमा रहेको भनिएको सम्पत्ति न्यून भेटिए पनि नेपालमा भने तत्कालीन राजा वीरेन्द्र र उनका परिवारका नाममा करिब १ खर्ब रुपैयाँभन्दा बढीको सम्पत्ति फेला परेको छ ।
तत्कालीन राजा वीरेन्द्र र उनका परिवारका सदस्यहरूको हत्या भएको १५ वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते शुक्रबार राति भएको उक्त घटना ‘दरबार हत्याकाण्ड’ का नामले स्मरण गरिन्छ । उक्त हत्याले नेपालको राजनीतिलाई मात्र परिवर्तन गरेन, नेपालको समाज मनोविज्ञानलाई नै परिवर्तन गर्यो । राजनीति शास्त्रका अध्येताहरू दरबार हत्याकाण्ड नभएको भए नेपालमा गणतन्त्र आउन असम्भव मान्छन् भने सामाजिक अध्येताहरू दरबार हत्याकाण्डपछि समग्र नेपालीको मनोभाव नै परिवर्तन भएको ठम्याउँछन् । दरबार हत्याकाण्डपछि नै राजसंस्थाप्रतिको नेपाली आस्था एकैपटक धर्मरायो र पर्खालभित्रको गोप्य कुरा बाहिर छताछुल्ल भए । त्यसभित्रका प्रेम र घृणाका कथाहरू सहरका गल्लीहरूमा मात्र होइन, गाउँका चौतारीहरूमा समेत खुला बहसको विषय बने ।
संविधानसभाको पहिलो बैठकले देशलाई गणतन्त्र घोषणा गरेपछि २ सय ३९ वर्ष पुरानो राजसंस्थाका सबै अधिकार कटौती गर्यो । गणतन्त्र आएपछि यो स्वभाविक नै थियो । यद्यपि जनताले अनुभूति गर्ने किसिमका दुईवटा निर्णयले भने जनस्तरमा सकारात्मक प्रभाव पारेका थिए । ती दुईमध्ये एउटा तत्कालीन राजदरबारलाई राष्ट्रिय संग्रहालय बनाउने घोषणा थियो भने अर्को हत्या गरिएका राजा वीरेन्द्र र उनका परिवारको सम्पत्तिलाई ट्रस्ट बनाएर ग्रामीण क्षेत्रको शिक्षा एवं स्वास्थ्यमा लगानी गर्ने निर्णय थियो । २०६४ सालमा संसद्बाट पारित भएको उक्त विधेयकले नेपाल ट्रस्टको स्थापना गरेपछि यो संस्थाले देश–विदेशमा राजा वीरेन्द्र र उनको परिवारको नाममा रहेको सम्पत्ति खोजी गरेको थियो ।
कति भेटियो सम्पत्ति ?
२०४६ सालअघि राजपरिवारले आफ्नो सम्पत्ति विदेशमा लुकाएको कुराले ठूलो राजनीतिक बहस सुरु गरेको थियो । राजा र उनको परिवारले स्वीस बैंकमा अर्बौं रुपैयाँ थुपारेको हुन सक्ने समाचार बन्ने गरेका थिए । २०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा काठमाडौंका जनता होमिनुमा यस्ता समाचारले पनि काम गरेका थिए । जसै दरबार हत्याकाण्ड भयो, त्यसपछि यो मुद्दा एकाएक उचालिएर आयो । नेपाल ट्रस्टको स्थापनापछि सबैभन्दा ठूलो चासो विदेशमा थुपारिएको भनिएको तत्कालीन राजपरिवारका सदस्यहरू वीरेन्द्र–ऐश्वर्य र उनका परिवारको नाममा कति सम्पत्ति छ भन्ने नै थियो ।
नेपाल ट्रस्टको स्थापना भएको ८ वर्षपछि भने नेपाली जनता निराश हुने स्थिति छ । तत्कालीन राजा वीरेन्द्र र उनको परिवारको नाममा विदेशमा जम्मा–जम्मी ३ करोड नेपाली रुपैयाँ बराबरको मात्र सम्पत्ति फेला परेको छ । उक्त रकम विदेशी मुद्रामै नेपालको प्रभु बैंकमा सारिएको र वार्षिक २ हजार पाउण्ड ब्याज आउने व्यवस्था गरिएको छ । कतिपयले भने विदेशमा रहेको सम्पत्ति पत्ता लगाउन सक्ने विशेषज्ञको अभावमा सम्पत्ति फेला पर्न नसकेको बताएका छन् ।
नेपालमा १ खर्ब
विदेशमा रहेको भनिएको सम्पत्ति न्यून भेटिए पनि नेपालमा भने तत्कालीन राजा वीरेन्द्र र उनका परिवारका नाममा करिब १ खर्ब रुपैयाँभन्दा बढीको सम्पत्ति फेला परेको छ । तीमध्ये धेरैजसो जग्गा–जमिन, बैंकहरूका सेयर तथा केही नगद रहेको नेपाल ट्रस्टको कार्यालयले जनाएको छ । राजा वीरेन्द्र र उनको परिवारका नाममा सबैभन्दा बढी काठमाडौंमा जग्गा जमिन देखिन्छ ।
काठमाडौंको महाराजगन्जस्थित १ रोपनी ७ आना मूल्यवान् जग्गा नेपाल ट्रस्टको नाममा छ । पूर्वराजा ज्ञानेन्द्रको निजी घर छेउको उक्त जग्गा दरबार हत्याकाण्डका प्रमुख आरोपी दीपेन्द्रको भएको खुल्यो । अहिले उक्त जग्गामा निर्मल निवासको सुरक्षार्थ खटिने जवानहरू बस्छन् । उक्त स्थानमा रहेको घर र जग्गाको मूल्य करिब १ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।
अर्को जग्गा बालाजुको इचङ्गुमा भेटिएको छ । स्थानीय किसानले अधियाँमा खेती गरिरहेको उक्त जग्गाको मोहीयानी हक कटाउँदा पनि साढे १० रोपनीभन्दा बढी जग्गा नेपाल ट्रस्टको अधीनमा आएको छ ।
अर्को जग्गा कालिमाटीबाट टेकु जाने सडकको गणेशमानपथमा भेटिएको छ । टाउन डेभलोपर्सले तत्कालीन राजपरिवारसँग जग्गा भाडामा लिएर आधुनिक व्यापारिक भवन बनाएको उक्त स्थानमा करिब २० रोपनी जग्गा रहेको जनाइएको छ । दरबार हत्याकाण्ड हुनुभन्दा ५ वर्षअघि ३० वर्षका लागि लिजमा दिइएको उक्त जग्गाको मूल्य पनि अर्बौं आँकिएको छ ।
वीरेन्द्र र उनको परिवारको नाममा काठमाडौंको ताहाचलमा अर्को महँगो जग्गा फेला परेको छ । एकमुस्ट ६२ रोपनी जग्गा रहेको उक्त स्थान अहिले खरिद अनुगमन कार्यालय तथा गरिबी निवारण कोषले भाडामा लिएका छन् ।
त्यसैगरी बालाजुबाट त्रिशुली जाने सडकमा झन्डै १ सय २३ रापनी जग्गा पनि नेपाल ट्रस्टको नाममा आएको छ । उक्त जग्गाको मूल्य पनि अर्बौ रुपैयाँ आँकिएको छ । उक्त जग्गालाई ट्रस्टले हालै भाडामा लगाएको छ ।
काठमाडौंको पर्यटकीय केन्द्र ठमेलबाट सामाखुसी जाने ओरालोमा ९ आना जग्गा पनि पूर्वराजा वीरेन्द्रको नाममा फेला परेको छ । उक्त जग्गा मोहीले प्रयोग गरिरहेको अवस्थामा फेला परेको हो । त्यसैगरी काठमाडौंबाट दक्षिणकाली जाने सडकमा पर्ने रोडमा रेहेको ६८ रोपनी जग्गा भने नि:शुल्क रूपमा सरकारी स्कुल त्रिभुवन आदर्श माध्यमिक विद्यालयले प्रयोग गरिरहेको अवस्थामा फेला परेको छ ।
सबैभन्दा महँगो स्थानमा रहेको जग्गा दरबारमार्गस्थित १ रोपनी १४ आना जग्गालाई मानिएको छ । दरबारमार्ग प्रहरी कार्यालयको विपरीततर्फ रहेको उक्त जग्गाको मूल्य आनाको करोडभन्दा माथि मानिएको छ । यसरी हेर्दा उक्त जग्गाको मूल्य २ अर्बभन्दा माथि छ । त्यसैगरी लाजिम्पाटस्थित स्ट्यान्डर्ड चार्टड बैंकले लिजमा लिएको ६ रोपनी १३ आना जग्गा पनि अत्यधिक मूल्यांकन गरिएको जग्गा हो । काठमाडौं प्लाजाको नामबाट परिचित पुतलीसडक–कमलादी बाटोमा पर्ने जग्गा पनि अत्यधिक मूल्यको मानिएको छ । त्यहाँ ८ रोपनी १ आना जग्गा छ । अर्को महत्वपूर्ण जग्गा गोकर्णमा छ । जंगलले घेरिएको तथा गोकर्ण भिलेज रिसोर्ट सञ्चालनमा रहेको उक्त क्षेत्रमा २ हजार ७ सय ९१ रोपनी जग्गा छ । उक्त जग्गाको मूल्य नै ४० अर्बभन्दा बढी मानिएको छ । त्यसैगरी भक्तपुरको मुख्य सडकसँग जोडिएको सल्लाघारीमा पनि १ सय ९ रोपनी जग्गा फेला परेको छ । उक्त जग्गाको मूल्य ३५ अर्ब भन्दा बढी पर्ने बताइन्छ ।
उपत्यकाबाहिर पनि
उपत्यकाभित्र मात्र होइन, उपत्यकाबाहिर पनि तत्कालीन राजपरिवारको नाममा झण्डै अर्बंको सम्पत्ति फेला परेको छ ।
नुवाकोटको थानसिंङ्मा १ सय ७२ रोपनी, गणेशस्थानको माछापोखरीमा २ रोपनी तथा थानसिङको अर्को स्थानमा ६५ रोपनी जग्गा फेला परेको छ । ती सबै क्षेत्रमा फलफूल खेती छ वा जंगल छ ।
अर्को महत्वपूर्ण जग्गा धनकुटाको चुलिवनमा फेला परेको छ । उक्त स्थानमा १ सय ९४ रोपनी जग्गा छ । हेटौंडामा पनि दरबारसहितको २६ रोपनी जग्गा फेला परेको छ । पूर्व–पश्चिम राजमार्गसँग जोडिएको हेटौंडा बजारस्थित वनविज्ञान अध्ययन संस्थानको छेउमा रहेको उक्त जग्गा व्यवसायिक क्षेत्रमा छ । हालै ट्रस्टले उक्त दरबारलाई पर्यटकीय अवलोकनका लागि खुला गरेको छ ।
त्यसैगरी फेवातालको किनारमा ऐतिहासिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण १ सय ७४ रोपनी जग्गा दरबारसहित फेला परेको छ । उक्त स्थान पनि अवलोकनका लागि खुला गरिएको छ । विदेशी पर्यटकलाई १ हजार र नेपालीहरूका लागि सय रुपैयाँ शुल्क लिन थालिएको उक्त क्षेत्रको मूल्य पनि १ अर्बभन्दा बढी छ । नेपाल ट्रस्टले चितवनको दियालो बंगलालाई पनि पर्यटकीय अवलोकनका लागि खुल्ला गरेको छ । नारायणी नदीको किनारमा रहेको दियालो बंगलाका रूपमा परिचित उक्त स्थानमा १ सय ६७ रोपनी जग्गा छ । त्यसैगरी काभ्रे, सुर्खेत र धादिङमा पनि करोडौं मूल्य पर्ने जग्गा पूर्व राजपरिवारको नाममा फेला परेको छ । ती जग्गा पनि नेपाल ट्रस्टको नाममा आइसकेको छ ।
जग्गा–जमिन मात्र होइन, बैंक र अन्य औद्योगिक कम्पनीको सेयर पनि राजपरिवारको नाममा फेला परेको छ । नेपाल ट्रस्टले उपलब्ध गराएको विवरण अनुसार नविल बैंकको १ लाख ९२ हजार ६ सय २९ कित्ता, होटल डेला अन्नपूर्णको १५ हजार ३ सय ६० कित्ता, नेपाल औद्योगिक विकास निगमको ६७ हजार ७ सय ५० कित्ता सेयर पूर्वराजपरिवारको नाममा थियो । अहिले ती सबै सेयर नेपाल ट्रस्टको नाममा आएको छ । बजारको मूल्यांकनअनुसार ती सबै सेयरको मूल्य पनि करोडौंमा छ ।
सम्पत्ति खर्ब आम्दानी करोड
अर्थशास्त्रको सामान्य सिद्धान्तले भन्छ, तपाईंसँग एक करोड बराबरको सम्पत्ति छ भने त्यसलाई व्यवसाय लगाउँदा त्यसले कम्तीमा पनि १५ प्रतिशत आम्दानी दिनुपर्छ । उक्त सम्पत्तिलाई भाडामा लगाइयो भने पनि त्यसले कम्तीमा ५ प्रतिशत आम्दानी दिन्छ । अर्थशास्त्रको यो न्यूनतम आम्दानीको सूत्र मान्ने हो भने पनि १ खर्बभन्दा बढी सम्पत्ति आफ्नो हातमा आएको नेपाल ट्रस्टले व्यवसायिक प्रयोजनमा उक्त सम्पत्ति लगाउने हो भने वार्षिक १५ अर्ब रुपैयाँ आम्दानी गर्नुपर्छ ।
होइन, सामान्य अवस्थामा पनि उसले ५ अर्ब आम्दानी गर्नुपर्छ । यद्यपि नेपाल ट्रस्टले अहिले एक प्रतिशत त के शून्य दशमलव ४ प्रतिशत मात्र आम्दानी गरिरहेको छ । नेपाल ट्रस्टले उपलब्ध गराएको विवरणअनुसार गएको वर्ष भाडाबापत ती सबै जग्गा, जमिन एवं व्यवसायिक प्रतिष्ठानबाट जम्मा ४ करोड आम्दानी भएको छ भने विभिन्न प्रतिष्ठानले राखेको धरौटीबापत १० करोड गरी जम्मा १४ करोड आम्दानी भएको हो । सुरुदेखि नै कम भाडामा लगाइएकाले पनि आम्दानी कम भएको सम्बन्धितहरू बताउँछन् । ‘नेपाल ट्रस्टको अधीनमा यी सम्पत्ति आउनुअघि नै कम भाडा कबोलेर प्रयोग गरिरहेकाले आम्दानी कम देखिएको हो ।’ नेपाल ट्रस्टको कार्यकारी सचिव भीमप्रसाद उपाध्याय भन्छन्, ‘लामो समयका लागि लिज दिइएको स्थानबाट भाडा कम उठेको छ । लिज सकिएपछि आम्दानी बढ्न सक्छ ।’ त्यसो त ती जग्गा बेचविखन गर्न पाइँदैन । ट्रस्टको कार्य सञ्चालन नेपाल सरकारका कर्मचारीहरूले गरिरहेका छन् । जग्गाको मूल्य ठूलो भए पनि व्यवसायिक सोचका व्यक्ति उक्त ट्रस्टका कार्यकारी पदमा नआउन्जेलसम्म आम्दानीले ठूलो फड्को मार्ने देखिँदैन ।
नयाँ व्यवस्थापन आउनुपर्छ
अमुदा श्रेष्ठ, प्राध्यापक, शंकरदेव क्याम्पस
नेपाल ट्रस्टमा १ खर्ब रुपैयाँभन्दा बढीको सम्पत्ति देखिन्छ । आम्दानी भने वार्षिक ४ करोड रुपैयाँ मात्र छ, यसलाई कसरी लिनुहुन्छ ?
सीधा हिसाबले हेर्दा ट्रस्टमा व्यवस्थापकीय सोच र दूरदृष्टि राखेर काम भएको छैन भन्ने देखिन्छ । विधेयकले उक्त ट्रस्टलाई स्वायत्त संस्था मानेको छ भने सरकारले तुरुन्तै दूरदृष्टि राखेर काम गर्ने व्यवस्थापक नियुक्त गर्नुपर्छ । त्यसपछि व्यवस्थापकले नै कर्मचारी नियुक्त गर्ने र उद्देश्यअनुसार ५, १० र २० वर्षे योजना बनाएर काम अघि बढाउनुपर्छ ।
निजामती सेवाले त्यो काम गर्न सक्दैन र ?
निजामती सेवाले व्यवसायिक सोच राखेर कुनै संस्था चलाउँदा विवाद आउन सक्छ । निजामती कर्मचारीको उद्देश्य यो ट्रस्टको उद्देश्यसँग मेल पनि खाँदैन । निजामती सेवाको अहिलेसम्मको ट्रेन्ड भनेको अगाडि आएको काम गर्ने मात्र देखिन्छ । नयाँ सोच र नयाँ व्यवस्थापकीय क्षमता देखिएको छैन । जबकि विधेयकअनुसार नेपाल ट्रस्ट तोकेको सीमाभित्र व्यापार–व्यवसाय गर्न, लक्ष्य तोकेर त्यहीअनुसार आम्दानी गर्न तथा आम्दानीलाई शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्न स्वतन्त्र छ । यी सबै कामका लागि नयाँ व्यवस्थापनको खाँचो देख्छु ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्ने सरकारको आफ्नै मन्त्रालय छ । फेरि त्यही प्रकृतिको अर्को संस्था आवश्यक छ ?
यो सरकारले सोच्ने कुरा हो । सरकारले आवश्यकता देखेरै पूर्वराजपरिवारको आम्दानी त्यो क्षेत्रमा लगाउने निर्णय गरेको होला, तर सानो आम्दानीबाट ट्रस्टले के गर्न सक्छ र ? त्यसैले संस्था आफैंले आम्दानीअनुसार कहाँ–कहाँ के–के गर्न सकिन्छ भनेर लक्ष्य बनाउनुपर्छ । यस्तो लक्ष्य बनाउँदा सरकारले कहाँ लगानी गर्न सकेको छैन ? कमजोरी कहाँ छ ? त्यही खाली ठाउँमा सहयोग पुर्याउनुपर्छ ।
तपाईंले भनेजस्तो नयाँ व्यवस्थापन आएको खण्डमा १ खर्ब रुपैयाँ सम्पत्ति भएको संस्थाले कतिसम्म आम्दानी गर्न सक्छ ?
नयाँ व्यवस्थापक नियुक्त गर्दा बढीभन्दा बढी आम्दानी दिलाउने लक्ष्य किटान गर्न सक्ने व्यक्ति नियुक्त गर्नुपर्छ । मेरो हिसाबमा कम्तीमा पनि १५ प्रतिशत आम्दानी दिनुपर्छ । यसको अर्थ वार्षिक १५ अर्ब रुपैयाँ बराबरको आम्दानी गर्न सक्ने हुनुपर्छ ।
भएका सबै जग्गा व्यवसायिक छैनन्, यो अलि बढी भएन ?
जंगल छ भने त्यसलाई चिडियाखाना बनाएर पनि आम्दानी गर्न सकिन्छ । नयाँ होटल बनाउन सकिन्छ । स–शुल्क अवलोकन क्षेत्र बनाउन सकिन्छ । आम्दानीका यस्ता हजारौं बाटा पहिल्याउन सकिन्छ ।
सुरु भएन सेवा
राजा वीरेन्द्र र उनको परिवारको नाममा रहेको सम्पत्ति उपयोग गरी त्यसको आम्दानीले ग्रामीण क्षेत्रमा शिक्षा तथा स्वास्थ्यको काम गर्ने लक्ष्य नेपाल ट्रस्टले लिएको छ । विधेयक बनाउँदा यो संस्थाको नाममा स्वदेश र विदेशबाट राजपरिवारको ठूलो सम्पत्ति हात पर्ने मात्र होइन, उक्त संस्थालाई अन्य निकायले पनि सहयोग गर्ने आशा गरिएको थियो । बितेका ८ वर्षमा स्वदेशका धेरैजसो सम्पत्ति र विदेशमा रहेको भनिएको केही सम्पत्ति ट्रस्टको नियन्त्रणमा आए पनि यसले गर्ने भनिएको सेवामूलक काम अझै प्रारम्भ हुन सकेको छैन । जग्गा–जमिन भाडामा दिएबापत प्राप्त हुनेबाहेक ट्रस्टको अन्य कुनै आम्दानी छैन । अहिलेसम्म ट्रस्टको नाममा जम्मा १६ करोड रुपैयाँ मात्र जम्मा भएको छ । ट्रस्टमा खटिएका सबै कर्मचारीलाई सरकारले नै तलब ख्वाउँदै आएको छ ।
‘व्यवस्थापकीय दृष्टिले यो कमजोर अवस्था हो ।’ प्राध्यापक अमुदा श्रेष्ठ भन्छिन्, ‘सरकारले विधेयक बनाएरै कार्यदिशा स्पष्ट गरिसकेपछि राम्रो व्यवस्थापकका साथ दूरदृष्टि राखेर काम गर्नुपथ्र्यो ।’ अर्थशास्त्रीय दृष्टिकोणबाट पनि सम्पत्तिको सदुपयोग नभएको देखिन्छ ।
राजनीतिमा चासो राख्ने कतिपयले भने राजा वीरेन्द्रकै नाममा ट्रस्ट नखोलिनु नै नेपाल ट्रस्टको झिनो प्रगतिको कारण मानेका छन् । ‘तत्कालीन राजा वीरेन्द्र देशभित्र मात्र होइन, विदेशमा पनि लोकप्रिय थिए । संसारका धनाढ्य व्यवसायी, उद्योगपति एवं सेलिब्रेटीहरू उनका साथी थिए । उनकै नाममा ट्रस्ट खोलेको भए नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा सहयोग गर्न ती व्यक्तिहरूले करोडौं रुपैयाँ सहयोग गर्ने सम्भावना थियो ।’ नेपाल ट्रस्टमा काम गरिसकेका एक पूर्वकर्मचारी भन्छन्, ‘विदेशमा वीरेन्द्र र उनका परिवारको सम्पत्ति खोज्दै जाँदा उनीहरूका साथीभाइहरूले पनि यस्तै चाहना व्यक्त गरेका थिए । देश गणतन्त्रमा गैसकेपछि फेरि राजाको नाममा संस्थालाई पुनर्गठन गर्दा आमजनतामा नकारात्मक सन्देश जाने डरले हामीले कुरा उठाएनौं । राजनैतिक दलहरू पनि त्यस्तो मनस्थितिमा देखिएनन् ।’
वीरेन्द्र र उनको नामको सम्पत्ति नेपाल ट्रस्टको नाममा आएपछि तत्कालीन राजपरिवारका सदस्यहरू पनि खुसी देखिँदैनन् । ‘ट्रस्टमै राखे पनि वीरेन्द्रकै नाममा ट्रस्ट हुनुपथ्र्याे । यसो गर्दा हामीले पनि उक्त संस्थामा रहेर सहयोग गर्न सक्थ्यौं भन्ने भावना पूर्वराजपरिवारका सदस्यमा देखिन्छ ।’ ती कर्मचारी भन्छन्, ‘राजाको नाम लिनेबित्तिकै जनतामा गलत सन्देश जान्छ भनेर राजनैतिक दलहरू डराएका हुन् कि जस्तो लाग्छ ।’
वीरेन्द्रको नाम राख्दा संस्थाको आम्दानी बढ्छ
भीमप्रसाद उपाध्याय, नेपाल ट्रष्ट, प्रमुख
नेपाल ट्रस्टको आम्दानी अहिले जम्मा जम्मी ४ करोड रुपैयाँ देखिन्छ, यसलाई कतिसम्म बढाउन सकिन्छ ?
कुनै पनि आम्दानी गर्न लगानी गर्नुपर्ने हुन्छ । बाहिरबाट हेर्दा ट्रस्टको नाममा १ खर्ब रुपैयाँ बराबरको सम्पत्ति भए पनि त्यहाँबाट हुने आम्दानी बढाउन करोडौं रुपैयाँ लगानी गर्नुपर्छ । कतिपय घर पुराना छन् । कतिपय लिजमा छन् । कतिपय स्थानमा जंगल र झाडी मात्र छन् । त्यसमा के गर्ने ? त्यसैले ४ करोड रुपैयाँको आम्दानीलाई ८ करोड रुपैयाँ पुर्याउन सकिएला, तर त्यो भन्दा माथि पुर्याउन निकै गाह्रो छ ।
कतिपय कमर्सियल जग्गा त्यसै छन् । रिसोर्ट, जंगल वा भवनहरूलाई नयाँ तरिकाले व्यवस्थापन गर्न सकिँदैन ?
हामीले पोखरा, चितवन र हेटौंडाका घरहरूलाई पर्यटकीय अवलोकनका लागि खुला गरेका छौं । विदेशी पर्यटकहरूका लागि १ हजार, नेपालीहरूका लागि १ सय तथा विद्यार्थीहरूका लागि ५० रुपैयाँ प्रवेश शुल्क तोकेका छौं । यसबाट वार्षिक लाखौं रुपैयाँ आम्दानी हुने देखिन्छ, तर करोडौं आम्दानी गर्न ठूला–ठूला कमर्सियल भवन बनाउनुपर्छ । व्यवसायिक दृष्टिकोणले काम गर्नुपर्छ, जुन अहिलेको अवस्थामा सम्भव छैन ।
नयाँ व्यवस्थापन ल्याउँदा कसो होला ?
त्यो सरकारले सोच्ने कुरा हो । अहिले यो ट्रस्ट निजामती कर्मचारीका भरमा चलेको छ । यो ट्रस्टमा अर्बौ रुपैयाँ छ भनेर पहिले ठूलो आकर्षण थियो । अहिले कोही पनि आउन मान्दैनन् । विधेयकको परिकल्पनाअनुरूप ट्रस्टलाई अघि बढाउने हो भने नयाँ सोचअनुसार जानुपर्छ ।
कतिपय व्यक्तिले ट्रस्टको नाम परिवर्तन गरेर वीरेन्द्रको नाम जोड्ने र पूर्वराजपरिवारका सदस्यलाई ल्याउँदा राम्रो हुन्छ भन्ने तर्क गरेका छन्, के भन्नुहुन्छ ?
राजा भएका बखत वीरेन्द्रको संसारभरि राम्रो नेटवर्क थियो । सयौं धनाढ्य र दर्जनौं सेलिब्रेटीसँग उठबस थियो । केही अघि म युरोपको सबैभन्दा सानो देश मोनाको गएको थिएँ । त्यहाँका प्रिन्स अल्बर्टो वीरेन्द्रका साथी रहेछन् । उनको नाममा प्रिन्स अल्बर्टो फाउन्डेसन खुलेको रहेछ । त्यतिबेला प्रिन्स अल्बर्टोले वीरेन्द्रको नाममा नभएका कारण उक्त ट्रस्टप्रति उनीहरूको भावनात्मक लगाव नहुने बताएका थिए । यस्ता धेरै व्यक्ति वा संस्था होलान् जसलाई नेपाल ट्रस्टप्रति आकर्षित गर्न सकिन्छ तसर्थ ट्रस्टको बृहत्तर हितका लागि नाम परिवर्तन गर्न हच्किनु हुँदैन । आखिर इतिहासलाई छोप्नु किन पर्यो ? मेरो विचारमा पनि वीरेन्द्रको नाम जोड्दा ट्रस्टको आम्दानी बढ्छ ।
पूर्वराजपरिवारका सदस्यहरूले ट्रस्टप्रति कुनै चासो देखाएका छैनन् ?
अहिलेसम्म कसैले चासो दिएको मलाई थाहा छैन । मेरो विचारमा पूर्वराजपरिवारको नाममा विभिन्न संस्था खोल्नुभन्दा यही ट्रस्टमार्फत सबै किसिमका गतिविधि गर्न सकिन्छ । त्यसका लागि उहाँहरूलाई प्लेटफर्म चाहिएको हो भने सरकारले ठाउँ दिनुपर्छ, तर म आएको ८ महिना भैसक्दा पनि कसैले त्यस्तो सोधपुछसम्म गरेको छैन ।