कुनै समय क्रिकेट खेलाडी पृथु बास्कोटाको खुट्टामा समस्या आउँदा चिकित्सकहरूले उनलाई ९ महिनासम्म आराम गर्ने सल्लाह दिए । त्यही समय डा. श्रील भगत नयाँदिल्लीस्थित इन्डियन स्पाइनल इन्जुरी सेन्टरबाट मस्कुलो स्केलेटन विषयमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेर नेपाल फर्किएका थिए । कसैले डा. भगतलाई क्रिकेटर पृथुको समस्याका बारेमा जानकारी गराए । त्यसपछि उनले पृथुसँग भेट गरेर उनको उपचार सुरु गरे । ४५ दिनसम्म आफ्नो उपचार हेर्न अनुरोधसमेत गरे । नभन्दै पृथु ४५ दिनमै क्रिकेट खेल्न सक्ने भए ।
अर्को उदाहरण, चन्दना सेनगुप्तालाई लिन सकिन्छ । घुँडा र हिप दुख्ने समस्याबाट पीडित चन्दनाले धेरै स्थानमा उपचार गराउँदा पनि निको नभएपछि भगतकै सम्पर्कमा पुगिन् । अहिले १५ दिनको अवधिमा उनले आफ्नो समस्या धेरै बिसेक भएको अनुभव गरेकी छिन् ।
छोटो समयमै उपचार आवश्यक पर्ने यस्ता धेरै समस्या हुन सक्छन् । व्यस्त दैनिकीमा लामो समयसम्म उपचार गर्नुपर्दा मानिसको दैनिकीमै प्रतिकूल प्रभाव देखिन सक्छ । एउटा रोगका कारण अर्को रोग लाग्ने सम्भावना पनि उत्तिकै हुन्छ । यही कुरालाई मनन गरेर पीडितहरूलाई छोटो समयमै उपचार उपलब्ध गराउन अहिले नेपालमा पनि उच्च स्तरीय इटालियन प्रविधिका उपकरणहरू भित्रिएका छन् । ललितपुरको एम्स फिजियोथेरापी रिह्याबिलिटेसन एन्ड पेन पोलिक्लिनिकले भित्र्याएका ती उपकरणको प्रयोगले रोगको पहिचान र उपचार सहज भएको छ । ती उपकरणले कम्प्युटर प्रविधिको सहयोगमा हड्डी, मांसपेशी तथा नसासँग सम्बन्धित विभिन्न रोगको उपचार गर्छ । यी उपकरण अहिले नेपालमा डाक्टर भगतकै समन्वयमा चलाइँदै आएको छ ।
कस्ता–कस्ता छन् उपकरण ?
हाईपावर लेजर : यो उपकरणले शरीरमा बायो स्टिमुलेटिङ इफेक्ट उत्पन्न गर्छ, जसले शरीरको इन्ट्रा सेलुलर लेभलमा काम गर्ने डा. भगत बताउँछन् । यसले उपचार गर्नुपर्ने कोषको मेटाबोलिज्म बढाउँछ । कुनै तन्तुमा घाउ भएको छ, सुनिएको छ वा अन्य केही भएको छ भने पनि यो उपकरणले प्रभावकारी उपचार गर्छ । यसमार्फत पठाइने लेजरले ९ सय ८० र ८ सय १० न्युटन मिटरको वेभलेन्थमा काम गर्छ । यो आईएसओ २०१३ सर्टिफाइड उपकरण हो ।
सक मेड : शरीरको कुनै भागमा असामान्य रूपमा क्याल्सियम थुप्रिएको छ भने यो उपकरणले त्यसलाई मिलाउने काम गर्छ । युरिक एसिड, अर्थराइटिस आदि भएको अवस्थामा यो उपकरण प्रयोग गर्न सकिन्छ । सक मेडले हाईपावरको एकस्टिक वेब उत्पादन गर्छ । एकस्टक वेभले तन्तुहरूको मेटाबोलिज्मलाई १० गुणासम्म बढाइदिन्छ । कुनै अंग भाँच्चिएको वा साधारण फ्रयाक्चर भएको अवस्थामा सक मेडको सहयोगले ठीक गर्न सकिने डा.भगत बताउँछन् । लेजरमार्फत गर्न नसकिएको उपचारसमेत सक मेडको सहयोगले गरिन्छ । हड्डी बढेको, रिढमा हड्डी पलाएको आदि अवस्थामा यो उपकरण प्रयोग गरिन्छ ।
इलेक्ट्रा : यो उपकरणलाई अर्को शब्दमा इलेक्ट्रोथेरापी पनि भनिन्छ । यसले शरीरको स्नायु प्रणालीका लागि कार्य गर्छ । यो विभिन्न प्रकारको करेन्ट प्रणाली हो । यसमा लगभग ३० प्रकारका वेभ फर्म हुन्छन् । यसलाई हजारौं प्यारामिटरमा प्रयोग गर्न सकिने भएकाले यसबाट सबै प्रकारको स्नायुसम्बन्धी समस्या हल गर्न सकिन्छ । यसले शरीरको स्नायु प्रणालीलाई पहिलेकै अवस्थामा ल्याउँछ । प्यारालाइसिस, महिलामा हुने पाठेघरको समस्या र अन्य रोगमा समेत यो उपकरणको प्रयोग प्रभावकारी देखिएको छ ।
थेराप्युटिक अल्ट्रासाउन्ड : थेराप्युटिक अल्टासाउन्डले १ र ३ मेगाहर्जमा काम गर्छ । यसले सामान्य तन्तुमा भएका रोगको पहिचान गरी उपचार गर्छ । कम्प्युटर प्रविधिमा आधारित यी उपकरणमा बिरामीको पूरै इतिहास पनि सुरक्षित राख्न सकिन्छ । कुन दिन कुन बिरामीको कुन रोगको उपचार भएको थियो भन्ने कुरालाई ती उपकरणमै सुरक्षित राख्न सकिन्छ ।
फिजियोथेरापी गर्नुपर्ने वा अन्य न्युरो, मस्कुलो र स्केलेटेल अर्थात मस्तिष्क, मांसपेशी एवं हाडजोर्नीसम्बन्धी सबै प्रकारको रोग पहिचान र उपचार एकै पटक गर्न सकिने भएकाले यी उपकरणबाट गरिने उपचार अहिले संसारभरि नै लोकप्रिय भैरहेका छन् ।