साप्ताहिक संवाददाता
उनी गायक हुन् । पप गायक । रक गायक । ‘रक योगिज्’ ब्यान्डका संयोजक । सन् ९० को दशकमा भएको ठूलो राजनीतिक उथल–पुथलपछि नेपालको सांस्कृतिक एवं सांगीतिक क्षेत्रमा उदाएका ठूला नेपाली सांगीतिक व्यक्तित्व । काठमाडौं उपत्यकाका गिनेचुनेका धनी । स्वभावले भद्र । व्यापारी खानदानका उत्तराधिकारी ।
काठमाडौं टुँडिखेलमा भुइँचालोको नाममा सैनिक धर्मपत्नीहरूले सोनाक्षी सिन्हा र मलाइका अरोरालाई नचाएको साता नबित्दै उनी ‘साप्ताहिक’ सँग वार्ता गर्दै थिए । सिन्हा र अरोरा नाचको कार्यक्रम भएकै दिन काठमाडौंका महर्जनहरूको देवाली थियो टुँडिखेलमा । टुँडिखेलमै मनाउनुपर्ने देवाली भारतीय अभिनेत्रीहरूको नाचले रोकिदिएपछि योगी दु:खी थिए । त्यसैले उनले ‘सानोतिनो’ हिसाबले कार्यक्रमको बहिष्कार गरे । उनका लागि त्यसमा हेर्नैपर्ने खालको आइटम पनि केही थिएन ।
‘नेपाली सेनाको जर्नेल भारतीय नर्तकीहरूको स्वागत गर्न एयरपोर्ट गएको’ आलोचनामा चाहिँ उनले खासै तुक भेटेनन् । ‘विवादमा पारिएका ती विचरा जर्नेलको अनुहार हेर्नुभयो तपाईंले ? तिनी स्वागत गर्न गएजस्तो लाग्थे त ?’ उनले प्रश्न गरे । त्यसपछि भने, ‘अहिलेका चिफ साहेव भलादमी छन् । म व्यक्तिगत हिसाबले उनलाई मन पराउँछु । उनको चित्त दुख्ने कुरा गर्दिनँ ।’
योगेश्वरलाई नामले मात्र धेरैले नचिन्न सक्छन् । गीतमा सललल वहने उनको स्वर नै यथेष्ट छ उनलाई चिनाउन । ‘जब सन्ध्या हुन्छ, दिल मेरो घबराउँछ, तिम्रो मिलनको आशमा अध्याँरोले सताउँछ ।’ सम्भवत: सबैभन्दा हिट गीत हो यो उनको । धेरै छन् उनका हिट गीतहरू : तिम्रो आँखा हेर्दै मेरो मुटु चस्कियो, बोली सुन्दा मनै लच्कियो । रूप तिम्रो यति झल्कियो, फूलबारीको फुलै झस्कियो ।’ त्यतिले पुग्दैन भने उनको अर्को पपुलर नम्वर छ ‘लै जा चरी ।’ माया सम्झँदा वाक्क दिक्क लाग्छ उनलाई । कस्ता गायक !
स्टेजमा उक्लिएपछि उनी आफैं तताउँछन् श्रोताहरूलाई । आत्माको भित्री तहदेखि गहिरो तर मीठासपूर्ण गाउँछन् । रमाइलो गर्छन् । पूरै वातावरणलाई एकैछिनमा संगीतमय बनाइ दिन्छन् : गीतका संगीतमय गेडाहरूसँगै उनका भावना जोडिन्छन्, कि लोग्नेमान्छे भएर रुनु हुन्न रे तर किन हो किन मुटु सुकसुकाइरहन्छ रे । गहभरि आँसु पोखिइरहन्छ रे ।
योगेश्वर अमात्य । साथीभाइका लागि योगीमात्र । योगीको आफ्नै सांगीतिक ग्याङ छ : ओमविक्रम विष्ट, दीप श्रेष्ठ, जेम्स प्रधान, दीपक थापा, सुजील कर्माचार्य र तृष्णा गुरुङ, सञ्जीव बराइली, प्रवीणदास श्रेष्ठ, प्रवीण मानन्धर, अमूल र रवीन कार्की ढली, दिनेशराज रेग्मी, सुन्दर महर्जन र लिटल श्रेष्ठका साथमा उदघोषण ‘दि वन एन वन्ली’ भनेर नाम कमाएका भूषण दाहाल.....। यो नापी तौली बनाइएको ग्याङ होइन । यो त मात्र मन मिल्ने साथीहरूको रमाइलो समूह हो ।
योगेश्वर र उनको ग्याङ लन्डनको रोयल अलवर्ट हलमा गीत गाउने पहिलो सांगीतिक समूह बनेको छ । अलवर्ट हल, जुन प्रेक्षालयमा गीत गाउनु हरेक गायक–गायिकाको धोको हुन्छ । जहाँ कोकिलकण्ठी लतामंगेशकर, गजल–दम्पती जगजित–चित्रा र अरू पनि हामीले सुनेका, जानेका, गिनेचुनेका गायकहरूले आफनो आवाज गुन्जाइ सकेका छन् । त्यो हलमा हुने सांगीतिक कार्यक्रमको संगीत संयोजन गर्नु हरेक संगीतकारको धोको हुन्छ । धेरै संसार प्रसिद्ध गायकहरूले त्यहाँ गाएका छन् । रमाइलो कुरा, त्यहाँ गाएर कोही प्रसिद्ध हुने होइन । प्रसिद्धि कमाइ सकेकाहरू स्टेजमा उभिएर गाउने थलो हो त्यो । त्यहाँ गाएपछि कुनै पनि गायकले आफूलाई ‘फुलफिल्ड’ पाउँछ ।
योगीले आफ्नो आवाज त्यो हलमा गुन्जाए । उनको त्यो आन्तरिक इच्छा नै थियो । उनकी धर्मपत्नी मंगला पनि यही चाहन्थिन् । दीप श्रेष्ठको सपना थियो त्यहाँ गाउने । त्यो धोको पूरा गर्ने निमित्त बनिदिए योगी । पोहोर साल जून २८ तारिखका दिन नेपाली गायक, गायिका, संगीतकारहरूले आफ्नो आवाजले अलबर्ट हल गुन्जाए । त्यो आवाजको प्रतिध्वनि अहिलेसम्म गुन्जिरहेको छ । त्यहाँ गाउने पहिलो नेपाली गायक बने योगेश्वर र उनको ग्याङ ।
अलवर्ट हलमा गाउने योगेश्वरको धोको निकै पहिलेको हो । भुइँचालोभन्दा पहिलेको । उनी नेपाल र बेलायतकाबीच मित्रताको २ सय वर्ष पूरा भएको उपलक्ष्यमा त्यहाँ नेपाली संगीतिक कार्यक्रम प्रस्तुत गर्न चाहन्थे । बीचमा भुइँचालोले काठमाडौंलाई त्यसरी नै भत्कायो जसरी योगेश्वरका गीतहरूले नेपाली संगीत क्षेत्रका धेरै परम्परागत मान्यतालाई भत्काएको छ । भुइँचालोपछि योगी लागे लन्डनतिर, अलवर्ट हलको कार्यक्रम संयोजन गर्न । ‘वेण्ड इट लाइक वेकह्याम’ सिनेमाको तातो, तातो, तातो गीतकी प्रसिद्ध गायिका बिना मिस्त्रीले उनको मद्दत गरिन् । काठमाडौंस्थित बेलायती दूतावासका डेपुटी मिसन चिफ गाय ह्यारिस्सनको पनि हार्दिक सहयोग मिल्यो योगीलाई ।
योगीकी पत्नी मंगला उक्त कार्यक्रममा सुरुदेखि नै संलग्न थिइन् । उनैले सुझाइन, समारोहबाट उठेको पैसा गोर्खाका भुइँचालो पीडितलाई दिने । त्यहाँ जम्मा भएको २५ हजार पाउण्ड अहिले गोर्खाको स्कुल पुनर्निर्माणमा लगाइएको छ ।
अब उनी अष्ट्रेलिया जाने मेसो मिलाउँदैछन् । सिडनीमा पनि एउटा परफरमेन्सको लोभ गडेर बसेको छ उनको मनमा । योगेश्वर भन्छन्, उनका लागि देशभक्ति निर्विकल्प छ । सनातनी भाषाका राष्ट्रवादी होइनन उनी । उनको देशभक्तिमा समर्पण छ । उनी जे गर्छन् त्यो नेपालकै लागि गर्छन् । यो उनको भावना हो । आफ्ना गीतहरूमा उत्कृष्ट मान्छन् कविवर सिद्धिचरण श्रेष्ठका शब्दहरूमा गुन्जिएको स्वरलाई : क्यारुँ, म यो देश निम्ति क्यारुँ, नाचूँ कि गाऊँ कि गला मिलाउँm, सहर्ष काटी शिर नै चढाउँm ।
योगेश्वर गायक मात्र होइनन् । चिन्तक कलाकार हुन् । देशको समसामयिक वस्तुस्थितिसँग उनी परिचित छन । देशमा चलिरहेको हिन्दू धर्मसम्बन्धी विवादमा उनी स्पष्ट भन्छन्, संविधानबाट हिन्दू धर्म ननिकालेको भए राम्रो हुन्थ्यो । अब फेरि राख्ने हो भने त बबाल हुन्छ ।
सानै उमेरमा हजुरबा दयारामभक्त माथेमा र निबन्धकार शंकर लामिछाने जस्ता दिग्गजको सर–संगतले उनलाई सिर्जनात्मक वनायो । दार्जीलिङको नर्थ पोइन्ट स्कुलमा पढ्दा बेन्च र डेस्कमा हातले ठोकेर मादल र तवला बजाउने केटो नेपालको ‘टप परफर्मिङ’ सिंगर वन्ला भन्ने कल्पना त्यतिबेला सायद गरिएको थिएन । उनको ओठमा रहेको शारीरिक कमीले पनि उनलाई गायक बनाउन मद्दत गर्यो । संगीतले उनमा रहेको हीनता हटायो र आत्मसम्मान वढायो ।
अहिले उनमा प्रचूर आत्म विश्वास छ । भन्छन, ‘मसँग यति धेरै पैसा नभएको भए म सारै राम्रो गायक बन्थे । अहिले त म जे छु, त्यो मेरो गायक प्रतिभाको १० प्रतिशत पनि छैन ।’