साप्ताहिक संवाददाता
चलचित्र लेखनमा आफूलाई स्थापित गराई सकेका लेखक अभिमन्यु निरवी आफ्नो पहिलो कथा कृति साउने झरी लिएर आएका छन् । साउने झरी अन्तराल, श्री ५ अम्बरे, वडा नम्बर ६ आदि चलचित्रका कथाकार निरबीको पहिलो कथा संग्रह हो । रेडियो नाटकबाट प्रारम्भ भएको उनको लेखन यात्राका क्रममा नया बाटो नया पाइला, गाउँ–गाउँमा सिंहदरबार , अँध्यारो उज्यालो जस्ता रेडियो नाटक प्रसारण भएको थियो । भूषण दाहालको निर्देशनमा तयार भएको टेलिश्रृंखला ‘हाम्रो टिम’ को कथा पनि निरबीले नै लेखेका हुन् ।
‘साउने झरि’ लाई लेजेन्ड बुक्सले प्रकाशन गरेको छ । समाजका स–साना विषयलाई टपक्क टिपेर सुन्दर ढंगले कथा बुन्न खप्पिस कथाकार अभिमन्यु निरबीका विभिन्न फुटकर कथा दैनिक पत्रिका तथा अनलाइनहरूमा प्रकाशित छन् । एन्टेना फाउन्डेसन नेपालमा नाटक संयोजकका रूपमा कार्यरत लेखकले साउने झरीमा विविध समसामयिक विषयवस्तुमा तयार पारेका २० वटा कथा संग्रहित गरेका छन् जसमा मधेसदेखि हिमाल र केही परदेशका कथा समाविष्ट छन् ।