साप्ताहिक संवाददाता
यतिबेला अभिनेता दयाहाङ राईको ‘चाँदी कटाइ’ छ अर्थात् उनको हातमा भएका चलचित्रको संख्या एक दर्जनभन्दा बढी छ । प्रदर्शनका लागि तयार भएका चलचित्र नै आधा दर्जनभन्दा बढी छन् ।
पछिल्लो समय ‘हाउ फन्नी’ मा देखिएका दयाहाङ चाँडै नै ‘वीरविक्रम’, ‘झुम्की’, ‘त्यान्द्रो’, ‘पुरानो डुंगा’ जस्ता चलचित्रमार्फत दर्शकमाझ आउँदैछन् । दयाहाङले निर्वाह गर्ने भूमिका चलचित्रअनुसार फरक–फरक हुने भएकाले पनि दर्शकले उनको हरेक भूमिकामा नयाँपन पाइरहेका छन् । यतिबेला दयालाई लिएर चलचित्र निर्देशन गर्न चाहने निर्देशकको सूची लामै छ । आगामी चैतसम्म त उनलाई अनुबन्ध भएका चलचित्रबाहेक अन्य चलचित्रका लागि पनि समय छैन ।
यसबीच दयाहाङ उनलाई अभिनयमा स्थापित गराउने चलचित्र ‘लुट’ को सिक्वेल ‘लुट–२’ मा समेत प्रभावकारी भूमिकामा प्रस्तुत हुने निश्चित भएको छ । हालै सार्वजनिक चलचित्रको टिजरमा दयाहाङको गेटअपलाई दर्शकले विशेष मन पराएका छन् ।