पढ्नका लागि’ भन्दै विदेश जाने नेपाली विद्यार्थीको लर्को लामो छ । गत आर्थिक वर्षमा मात्र वैदेशिक शिक्षाका लागि शिक्षा मन्त्रालयबाट ३० हजारभन्दा बढी विद्यार्थीले ‘नो अब्जेक्सन लेटर’ लिएको तथ्यांक छ । यसरी बर्सेनि पढ्न जाने विद्यार्थीसँगै ठूलो रकम बाहिरिन्छ । गएको वर्ष बिदेसिने विद्यार्थीमार्फत करिब १२ अर्ब रुपैयाँ बाहिरिएको छ । ब्रेन ड्रेनको स्थिति पनि उत्तिकै भयावह छ । यसले के देखाउँछ भने, नेपालमा पढ्ने ठाउँ छैन वा पढ्ने विषय नै छैन ।
नेपालमा पढ्ने ठाउँ मात्र नभएको होइन, यहाँ विदेशी विद्यार्थी भित्र्याउने प्रशस्तै आधार पनि छन् । उनीहरूलाई अफर गर्न सक्ने अनगिन्ती विषय छन् । कुनै पनि विषयगत अध्ययनका लागि अन्तर्राष्ट्रिय विद्यार्थीको शैक्षिक हब बन्न सक्छ, नेपाल । यहाँ अध्ययनका लागि अनेकन स्रोत छन्, विषय छन् ।
जस्तो, यसपालि हामीले अस्ट्रेलियाको स्कुल अफ ह्युमेन सर्भिसेस एन्ड सोसल वर्कका दुई दर्जनजति विद्यार्थीलाई नेपाल आमन्त्रण गर्यौं । उनीहरू सोसल वर्क तथा क्रिमिनोलोजीका विद्यार्थी हुन् । दुवै समूह सम्मिलित विद्यार्थीले यहाँ ‘सोसल वर्क’को अवस्था के छ भन्ने कुराको स्थलगत अध्ययन गरिरहेका छन् । यसका साथै नेपालको सामाजिक–सांस्कृतिक विविधतालाई समेत उनीहरूले नजिकबाट नियाल्नेछन् । यो अस्ट्रेलियन सरकारअन्तर्गतकै अध्ययन भ्रमण हो ।
सोसल वर्कका क्षेत्रमा नेपालमा कुन ढंगले काम भैरहेको छ, त्यसको अवस्था के छ, एनजिओ/आइएनजिओले कसरी काम गरिरहेका छन् जस्ता कुरा उनीहरूका निम्ति खोजको विषय हो । किनभने, अस्ट्रेलिया वा अरू विकसित देशको तुलनामा नेपालको अवस्था नितान्त फरक छ । यही फरकपनले उनीहरूलाई यहाँसम्म तान्ने आधार तय गरिदिएको हो ।
अस्ट्रेलियामा सोसल वर्क र क्रिमिनोलोजीका विद्यार्थीहरू एक–अर्काको परिपूरकजस्तो भएर काम गर्छन् । त्यहाँ कुनै पनि अपराधीलाई सजायमुक्त भैसकेपछि समाजमा पुनस्र्थापित गरिन्छ । उनीहरूका लागि सहज रूपमा जीवनयापन गर्न सक्ने वातावरण बनाइन्छ । यसले गर्दा उनीहरू पुन: अपराधकर्ममा फर्कने सम्भावना हुँदैन । नेपालमा अहिलेसम्म त्यस्तो अभ्यास भएको छैन । त्यसैले सोसल वर्क र क्रिमिनोलोजीलाई एकै ठाउँमा राखेर हेर्ने दृष्टिकोण पनि छैन ।
अस्ट्रेलियाबाट आएका विद्यार्थीले नेपालमा क्राइम क्षेत्रको फरक पाटो नियाल्नेछन् । खासगरी सीमित स्रोत र साधनका बाबजुद अपराध नियन्त्रणमा कसरी सफलता हासिल भैरहेको छ भन्ने कुरा उनीहरूसामु प्रस्तुत गरिनेछ । किनभने उनीहरूलाई हाम्रो कमजोरी देखाउन यहाँ बोलाइएको होइन, क्षमता देखाउन हो ।
११ वर्षे द्वन्द्व, विनाशकारी भूकम्प, नाकाबन्दीपछि पनि नेपाली समाज कसरी अघि बढिरहेको छ भन्ने कुरा उनीहरूको अध्ययनको विषय हो । ठूलो प्राकृतिक विपत्ति झेलेर आर्थिक, सामाजिक क्षेत्रमा रूपान्तरण खोजिरहेको नेपाली समाजलाई उनीहरूले अनेक कोणबाट अध्ययन गर्न सक्छन् । त्यसका अतिरिक्त यहाँका मठमन्दिर एवं पुरातात्त्विक महत्त्वका संरचनाहरू पनि उनीहरूका निम्ति अध्ययनका विषय हुनेछन् ।
हाम्रो ध्येय भनेको अन्तर्राष्ट्रिय विद्यार्थीलाई अफर गर्न सक्ने अध्ययन स्रोत नेपालमा छ भनेर देखाउनु हो । बर्सेनि अन्तर्राष्ट्रिय विद्यार्थीलाई आमन्त्रण गर्नु हो । यसलाई ट्रेन्डकै रूपमा विकास गर्नु हो ।
यसपालि अस्ट्रेलियाबाट आउने विद्यार्थीसँगै मिसिएर हाम्रा विद्यार्थीहरूले पनि समाजका यावत् गतिविधि नियाल्नेछन् । यसले एक–अर्काको काम गर्ने तौर तरिकालाई नजिकबाट नियाल्ने अवसर प्रदान गर्नेछ । यसबाट ‘नलेज एक्सचेन्ज’ हुनेछ । यसका साथै नेपाल पर्यटनका लागि सुरक्षित गन्तव्य हो भन्ने सन्देशसमेत प्रवाह हुनेछ ।
(लेखक कादम्बरी मेमोरियल कलेजका क्याम्पस प्रमुख हुन् ।)