साप्ताहिक संवाददाता
पल्पसा डंगोल, हास्यअभिनेत्री
सन् १९९५ मा मिस नेपालमा भाग लिएर नेपाली रंगमञ्चको दुनियाँमा प्रवेश गरेकी पल्पसा डंगोल ‘चम्सुरी’ नामले परिचत छिन् । नेपाल टेलिभिजनबाट प्रसारण भएका दर्जनौं टेलिश्रृंखलामा अभिनय गरेकी पल्पसा दर्शक तथा कलाकारमाझ समेत ‘चम्सुरी’ को उपनामले लोकप्रिय छिन् । डंगोललाई धेरैले हास्य सिरियल मेरी बास्सैको मूला सागकी श्रीमती चम्सुरीका रूपमा चिन्ने गरेका छन् । केही वर्षयता बनेको यो नयाँ परिचयभित्र हराएकी पल्पसाको आफ्नै पहिचान छ । चम्सुरी नामले उनीभित्रको यथार्थ नाम गुमनामजस्तै भएको छ । पल्पसा चम्सुरी नामसँग साटिएको छ । धमलाको हमला शीर्षकको हिमालय टेलिभिजनको टक–शोबाट धमलाकी वाइफका रूपमा उनको एउटा नयाँ परिचय पनि छ । पल्पसा कुशल डान्सर हुन् । काठमाडांैका आधा दर्जन प्रतिष्ठित स्कुलमा डान्स टिचरका रूपमा कार्यरत पल्पसालाई ती स्कुलमा डान्स सिकाउँदैमा भ्याइनभ्याइ हुन्छ । अझ राति काठमाडौंका भोजन गृह, नेपाली भोजनजस्ता रेस्टुराँमा पल्पसाले टिपिकल नेपाली डान्स–कल्चरल शो प्रस्तुत गर्ने कोर्डिनेटरको काम पनि गर्दै आएकी छिन् । पल्पसाले विभिन्न गायक–गायिकाका तीन दर्जनजति म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । उनले अभियन गर्ने प्राय: सबै प्रकारका म्युजिक भिडियो हास्य मिश्रित हुन्छन् । गायक राजु परियारको ‘गर्नु गर्यौ बलाराम भैंसी पालेर, दुनियाँलाई डाँढेर खाँटी दूधमा पानी हालेर ....’ गीतले उनलाई थप चर्चा दियो । सांगीतिक कार्यक्रमको माध्यमबाट भूकम्पपीडितहरूको सहयोगका लागि विराटनगर आएकी पल्पसासँग साप्ताहिकको तीन प्रश्न :
अहिले केमा व्यस्त हुनुहुन्छ ?
विभिन्न सहरमा हुने स्टेज कार्यक्रम तथा बेलुका/साँझ विदेशीहरूलाई देखाउने कल्चर कार्यक्रममा टिपिकल नेपाली डान्स–कल्चरल शो देखाउँदै आएको छु । स्कुलमा डान्स पनि सिकाउँछु र म्युजिक भिडियोमा समेत व्यस्त छु ।
भूकम्पपीडितको सहयोगमा लाग्नुभएको हो ?
मेरी बास्सैको टिम नै लागेपछि हामी नलाग्ने त कुरै भएन । फेरि मलाई कलाकारितासँगै समाजसेवामा पनि रुचि छ । धुर्मस–सुन्तली फाउन्डेसनले अहिलेसम्म जति पनि कार्यक्रम गरेको छ प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्दै आएकी छु ।
आगामी योजना के छ ?
घर निर्माण गरी भूकम्पपीडितहरूलाई हस्तान्तरण गर्न लागिपरेको धुर्मस–सुन्तली फाउन्डेसनबाट सक्दो सहयोग गर्नेछु । त्यस्तै देश–विदेशमा भएका दर्शकहरूलाई निरन्तर मनोरञ्जन गराइरहनेछु ।