साप्ताहिक संवाददाता
हेमराज बीसी, निर्देशक
गाजलुमा अनमोललाई किन ९ लाख पारिश्रमिक दिनुभएको ?
कस्ट्युम र अरू एक्पेन्सेजसहित उक्त पारिश्रमिक दिएका हौं । फेरि उनैको नामले चलचित्रको ‘ओपनिङ’ राम्रो हुन्छ ।
ओपनिङ राम्रो हुन्छ भन्ने के ग्यारेन्टी छ र ?
राम्रो हुने मात्र होइन, भै नै सक्यो । अनमोललाई लिएकै भएर वितरक एफडीले ‘गाजलु’लाई ४५ लाखको एमजी दिइसकेको छ । १५ लाखमा युट्युब, अनलाइन तथा डिभिडी राइट्स पनि बिक्री गरिसकेका छौं । त्यसबाहेक विदेशका अधिकांश स्थानमा प्रदर्शन पक्का गरिसकेको अवस्था छ ।
सृष्टि श्रेष्ठको त यो पहिलो चलचित्र हो, उनलाई पनि सामान्य चलेका नायिकाहरूले पाउनेभन्दा बढी (पाँच लाख प्लस) दिनुभयो होइन ?
२०१२ मा मिस नेपाल भएकीले । एउटा लेभलमा पुगेका व्यक्तित्वहरूले त्यति पारिश्रमिक पाउनु कुनै अचम्मको कुरा हो जस्तो लाग्दैन ।
नायक र नायिकालाई धेरै पारिश्रमिक दिएर तपाईंहरूले नेपाली चलचित्रको सानो बजारमा निर्माण खर्च बढाउनुभयो नि त ?
अनि चलचित्रका नायक–नायिकाहरूले सधैं थोरै परिश्रमिकमा काम गरून् त ? सेलिब्रेटी भएपछि उनीहरूले पनि त आफ्नो ‘लिभिङ स्टयान्डर्ड’ बढाउन पाउनुपर्यो नि ।
अनमोलको हकमा त तपाईंले नै उनलाई डेब्यु गराउनुभएको थियो । उनले तपाईंसँगै त्यति धेरै डिमान्ड गर्न सुहाउँछ त ?
उनको यतिबेलाको डिमान्ड पहिलो चलचित्र ‘होस्टेल’को जस्तो नवप्रवेशी पनि त रहेन । उनको नाममा चलचित्र चल्छ भने किन नगरून् त डिमान्ड ?
अनमोलका कारण निर्देशक हेमराज चलेका हुन् कि हेमराजले चलचित्र खेलाएकाले अनमोल चलेका हुन् ?
तपाईं के भन्नुहुन्छ ?
अनमोलबिनाको तपाईंको एकमात्र चलचित्र सम्बोधन सुपरहिट हुनुपथ्र्यो ? हैन र ?
हो, मैले जबसम्म अनमोलबिना चलचित्र सुपरहिट बनाएर आफूलाई प्रमाणित गर्दिनँ । तबसम्म तपाईंको यो भनाइ मान्छु ।
बनाउँदै हुनुहुन्छ त अनमोलबिना चलचित्र ग्याङस्टर ब्लुज ?
हो, बनाउँदै छु । यसमा अनमोल अटाएनन् ।
किन ?
‘ग्याङस्टर ब्लुज’ उनको होम प्रोडक्सन ‘ड्रिम्स’भन्दा पहिले नै तयार गर्ने योजना थियो । अहिले उनको अर्को होम प्रोडक्सन सुरु हुने भएको छ । हामी कुर्न सक्ने स्थितिमा भएनौं ।
अनमोलबिना ग्याङस्टर ब्लुज चलेन भने ?
चलचित्र छायांकनमा गएकै छैन । अहिले नै ‘भ्रूण हत्या’ नगर्नुस् न ।