ख्याउटे शरीर । दुब्लो जीउडाल । शारीरिक बनावट हेरेर कुरा गर्नेहरूको अनुमान त्यतिबेला गलत हुन पुग्छ, जब उनी चराका सम्बन्धमा खुल्न थाल्छन् । उनी हुन् दिनेश गिरी । चरा चिन्नेदेखि घाइते चराको उद्धारमा जुट्ने काम गर्दागर्दै दुई वर्षअघि गिरी आफंै थला परे । एक वर्ष लगाएर मृगौला प्रत्यारोपण गरे । मृगौला प्रत्यारोपण पछि ६–७ महिना बेड रेस्टमा बसे । महिना–महिनामा चिकित्सकको निगरानीका लागि भक्तपुर जान थालेपछि उनमा फेरि चराप्रति मोह पलायो । चराप्रतिको उनको लगाव यस्तो छ कि मृगौला प्रत्यारोपण गरेको ५/६ महिनापछिदेखि नै उनी फेरि चरा चिनाउन थालिसकेका छन् । २२ वर्षदेखि पर्यटकहरूलाई चरा चिनाउने काममा लागेका गिरी चरा खोज्दै देशका ४१ जिल्ला पुगिसकेका छन् ।
१९ वर्षको उमेरदेखि चरा चिन्दै अरूलाई चिनाउन लागेका दिनेश ४४ वर्षका भए । चरा खोज्दै हिँड्ने गिरीले देशभर पाइने ८ सय ८५ प्रजातिमध्ये ६ सय ६० भन्दा बढी चरा चिनिसकेका छन् । अचम्म त के भने उनी आवाजबाटै ३ सय ९० भन्दा बढी चरा चिन्छन् । आवाजले नचिने रंग, ठोड, खुट्टा, पुच्छर, शारीरिक बनावट तथा उड्ने शैलीबाट उनी सजिलै चराको जात चिन्छन् ।
चितवनको देवौली रत्ननगरका गिरी अनुभवले यति खारिएका छन् कि उनी अहिले लुम्बिनी क्षेत्रमा चरा विशेषज्ञजस्तै भएका छन् । उनी लुम्बिनी आउने चराप्रेमीहरूको एक्लो रोजाइमा पर्छन् । बिरामी भए पनि चरा चिनाउन नछाडेको दिनेश बताउँछन् ।
सधैं दुर्बिन, ट्राईपोर्ट र क्यामेरा लिएर हिँड्ने गिरी जहाँ गए पनि कान र आँखा भने चनाखो राख्छन् । उनका आँखा अक्सर रूख, झाडी र आकाशतिर तेर्सिन्छन् । कुन चरा कहिले भेटिन्छ भन्ने ठेगान हुँदैन, त्यसैले जहिले पनि तयारी अवस्थामा बस्नुपर्छ, –गिरी भन्छन् । सुरिलो, चिरबिर र मनमोहक आवाजले लट्ठिन्छु अनि सजिलै छुट्याउन सक्छु, –उनी भन्छन् ।
कहिलेकाहीं १/२ चरा हेर्न मात्र भनेर आउने पाहुनासँग डुल्दाडुल्दै ४/५ दिन हुँदा पनि चरा नदेखिँदा समस्या हुन्छ, –उनले भने । विश्वमै दुर्लभ काँसे घाँसे चरा साता कुरेर एक विदेशी पर्यटकलाई देखाएको प्रसंग सम्भँदै दिनेशले भने चरा देखाउनु जति कठिन छ, उत्तिकै महँगो पनि ।
लुम्बिनी आसपास २ सयभन्दा बढी प्रजातिका चरा फेला पर्छन् । नेपालमा पाइने विश्वकै दुर्लभ ३३ मध्ये १३ प्रजातिका चरा यहाँ देख्न पाइने भएकाले पनि यसलाई चराहरूको उर्वर भूमि मानिएको हो । यो क्षेत्रमा विश्वका दुर्लभ सारस, भँुडीफोर गरुड, कपिन्जल चातक, रणमत्त महाचील, बोक्सी चील र डंगर गिद्ध आदि पाइन्छन् ।
रंगीन र सुन्दर चराले आफूलाई यतातिर डोर्याएको गिरी बताउँछन् । नेचर गाइडका रूपमा काम थालेको २ वर्ष पछि सौराहा जंगलमा गैंडाको आक्रमणबाट बाँचेपश्चात् उनी चरातिर लागेका हुन् । गिरी ६ वर्ष सौराहा र ८ वर्ष कोसी टप्पुमा रमाएपछि विगत ८ वर्षदेखि लुम्बिनी आसपास चरा मास्टरका रूपमा सक्रिय छन् ।
दिनेश गिरीले कोसीमा काम गर्दा आफ्नै पहलमा एउटा नयाँ चरा दर्ता गराएका थिए । चराले इकोसिस्टममा निकै सहयोग पुर्याई खाद्यान्न उत्पादनमा समेत सहयोग गर्छ भनेर बुझाउन नसक्दा चराहरू लोप भैरहेको गिरीले बताए । लुम्बिनी आसपास आफूलाई चरा रेखदेख गर्ने मान्छे आयो भन्दै खेतबारीमा चराले तरकारी–अन्नपात नोक्सान गरेको भनेर क्षतिपूर्तिसमेत माग्ने गरिएको उनको दुखेसो छ । गिरीले सामान्य देखि विशिष्ट ५ सयभन्दा बढी विदेशीलाई चरा अवलोकन गराइसकेका छन् । राजदूतदेखि विदेशी मन्त्रीसम्मलाई उनले चरा अवलोकन गराएका छन् । फ्रान्स र अस्ट्रेलियाका २ विद्यार्थीलाई थेसिस लेख्न सहयोग गरेका छन् । कतिपय त लुम्बिनीमा चरा हेर्न विदेशबाट फोन गरेर आउने गरेका छन् ।
चरालाई जति पटक हेरे पनि रोचक हुन्छ, दिनेश भन्छन्— कतिखेर के देखिन्छ भन्नै सकिन्न । बर्ड वाचिङका लागि नेपाल विश्वकै विशेष स्थान हो । सय मिटरभन्दा कम देखि सर्वोच्च शिखरसम्मको उचाइमा चरा पाइन्छ । ‘चरा हेर्नुको आनन्द लामो मेहनत र धैर्यबाट प्राप्त हुने केही सेकेन्ड मात्रको दृश्यमा हुन्छ, दिनेश भन्छन्— शान्त हुनुपर्छ, साथै आँखासँगै कानलाई उत्तिकै चनाखो राख्नुपर्छ ।’ चरा जमिन, रूख, नदीकिनार र घाँसमा देख्न पाइन्छ । बिहान उज्यालो भएदेखि १०/११ बजेसम्म राम्रोसँग देखिन्छ भने त्यसपछि ३/४ बजेदेखि अँध्यारो नहुँदासम्म देख्न पाइन्छ । बीचको समय खाना खाने र आराम गर्ने हो । चरा देखाउने काम संवेदनशील पनि छ, चरा आफ्नो बासस्थल वरपर केही समस्या पर्यो भने बच्चालाई छाडेर बसाइँ सर्छन्, जसका कारण सकेसम्म गुड वरपर पर्यटकलाई लानु र गुँड पनि देखाउनु हुँदैन ।