साप्ताहिक संवाददाता
चार दशकअघि रेकर्ड गरिएको एउटा लोकगीत असाध्यै लोकप्रिय थियो । ‘यो माया तिम्रै हो...’ बोलको पुरानो गीत त्यो बेला असाध्यै लोकप्रिय मानिन्थ्यो । बिडम्बना, उक्त गीतका गायक लोकबहादुर क्षेत्री अहिले हामीमाझ छैनन् ।
उनै दिवंगत संगीतकर्मी क्षेत्रीलाई पुन: जीवन्तता प्रदान गर्न गायक कमलमान सिंह यतिबेला अघि सरेका छन् । लोकबहादुरका छोरा रोहित क्षेत्रीको अनुमति लिएर गायक कमलमान सिंहले चालिस वर्षअघिको सोही गीतलाई आफ्नो स्वरमा रि–रेकर्ड तथा रिमेक गरेर सार्वजनिक गरेका छन् । रिमेकका लागि दिनेश कर्माचार्यले पनि कमलमान सिंहलाई सहयोग गरेका छन् ।
पप तथा आधुनिक शैलीका गीत गाएर लोकप्रिय भएका गायक कमलमान सिंहको स्वरमा पुन: रेकर्ड गरिएको उक्त गीतको म्युजिक भिडियो नै तयार पारिएको छ । यूट्युबमार्फत हालै सार्वजनिक गरिएको उक्त गीतले कम समयमै दर्शकको मन जित्न सफल भएको छ ।
गीत रि–रेकर्ड गरेर सुन्दा उत्कृष्ट परिणाम आएपछि कमलले यो गीतको म्युजिक भिडियो निर्माण गर्ने निर्णय गरेका हुन् । नायिका सम्पदा बानियाँ, अभिनेता माधवप्रसाद त्रिपाठी, गायक कमलमान सहित अन्य तीन जना कलाकारको आकर्षक नृत्यसहितको उक्त गीतको भिडियोलाई मोहन अधिकारीले निर्देशन गरेका हुन् । स्व.लोकबहादुर क्षेत्रीकै संगीतको यो गीतका शब्द संकलक दिलबहादुर बस्नेत हुन् । रिमेक गरिएको गीतमा मोहित मुनालले संगीत संयोजन गरेका छन् । निशान घिमिरेद्वारा सम्पादित यो गीतको भिडियोलाई अमृत सुनुवारले छायांकन गरेका हुन् ।
यो माया तिम्रै होको म्युजिक भिडियो