असार ८, २०७३
बलिउडमा डेब्यु गर्दा नायिका कैटरिना कैफको डुब्लिकेट भनेर आलोचना खेपेकी अभिनेत्री जरिन खानले नकारात्मक टिप्पणीहरूले आफ्नो जीवनमा कुनै असर नपर्ने बताएकी छिन् ।
चलचित्र ‘वीर’ की नायिका खानका अनुसार उनले यति धेरै नकारात्मक टिप्पणीको सामना गरिसकेकी छिन् कि अब जस्तोसुकै टिप्पणी आए पनि उनी त्यसतर्फ ध्यान दिने छैनन् । जरिन हालै सोसल मिडियामार्फत बलिउडका केही हस्तीबीच ठट्टाको पात्र बनेकी थिइन् ।
बलिउडका चर्चित व्यक्तिहरूले उनलाई व्यंग्य गर्दै सोसल मिडियामा टिप्पणी गरेका थिए । पछिल्ला वर्षहरूमा बलिउड चलचित्रमा काम नपाएर खाली बसेकी खानले सामान्य कार्यक्रमहरूमा सहभागिता जनाउँदै आएकी छिन् । उनले राम्रा ब्यानरका ठूला चलचित्रमा अवसर पाएकी छैनन् । यद्यपि हाल उनी एक चलचित्रको रिमेकको छायांकनमा व्यस्त छिन् ।