साप्ताहिक संवाददाता
अहिलेसम्म रेकर्ड भएका गीत संगीतको अभिलेख नराखिएकोमा सांगीतिक श्रष्टाहरुले दु:ख व्यक्त गरेका छन् । अभिलेखको अभावका कारण पनि कुन गीत कहिले रेकर्ड भएको र त्यो गीतका स्रस्टाहरु को को भएको भन्ने बारे अनुमानका भरमा लेख्ने गरिएको उनीहरुको भनाई छ ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्धारा प्रज्ञा भवनमा आयोजित ‘नेपाली संगीत हिजो र आज’ विषयको गोष्ठीमा संगीतकर्मीहरुले यस्तो भनाई राखेका हुन् ।
कार्यक्रममा संगीतकार टीका भण्डारीले ‘नेपाली संगीत हिजो र आज’ बिषयको कार्यपत्र प्रस्तुत गरेका थिए । नेपाली आधुनिक संगीत यात्रा सेतुरामबाट १९६० सालपछि सुरु भएर अहिलेसम्मको अबस्थाको चर्चा भण्डारीले कार्यपत्रमा गरेका थिए ।
भण्डारीको कार्यपत्रमाथि गीतकार डा. कृष्णहरि बरालले टिप्पणी गरेका थिए । छोटो समयमा तयार गरिएको कार्यपत्रमा धेरै कुरा समेटिएको उनले बताए । कार्यपत्रमा उल्लेख गरिएका तिथि मिति धेरै गलत भएकाले त्यसलाई सच्याउन उनले सुझाब दिए । कार्यपत्रको बिषय ‘नेपाली संगीत हिजो र आज’ निकै बृहत भएकाले यो शिर्षकबाट एक दर्जन विद्यावारिधिका लागि शोध बिषय निकाल्न सकिने पनि उनले बताए ।
गीतकार किरण खरेलले सो कार्यपत्रको प्रसंसा गर्दै अझ थप अध्ययन अनुसन्धान गरी कार्यपत्रलाई पुस्ताको रुपमा ल्याउन सुझाब दिए ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ (सरुभक्त) ले नेपाली गीत संगीतको खोज अनुसन्धान, संरक्षण सम्वर्धन र विकाश गर्नु नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको दायित्व हो भने । त्यसैले गीत संगीत सम्बन्धी विभिन्न गोष्ठी, खोज अनुसन्धान गरेर त्यसलाई पुस्तकको रुपमा ल्याईने पनि उनले बताए ।