साप्ताहिक संवाददाता
काठमाडौंको एउटा घरमा डेरा गरी बसेका विभिन्न व्यक्तिलाई चित्रण गर्दै निर्माण गरिएको चलचित्र ‘लुकामारी’ विशेष गरी सस्पेन्स कमेडी श्रेणीको चलचित्र हो । महिलाको काटिएको एउटा हात फेला परेपछि ती महिलाको शवको खोजी र हत्या हुनुको कारणलाई रमाइलो ढंगबाट प्रस्तुत गरिएको चलचित्र हो— लुकामारी ।
घरबेटीको छोराको भूमिकामा रहेका कर्मले डेरामा बस्ने मधेसी पात्रको भूमिकामा रहेका सौगात मल्ललाई दु:ख दिएका दृश्य तथा डेरामै बसेकी युवती सुरबिना कार्कीसँगको उसको प्रेम सम्बन्धलाई चलचित्रमा रोचक ढंगबाट देखाइएको छ । हत्याराको खोजीमा जुटेका अनुसन्धान अधिकृतहरूको अनुसन्धानमा आधारित चलचित्र ‘लुकामारी’मा सौगात र कर्मको गेटअपले निकै चर्चा बटुलेको छ ।
आँखा डेढो पारेर मधेसी पात्रको भूमिका निर्वाह गरेका सौगात र केश पहेंलो पारेर काठमाडौंको नेवार युवकको भूमिकामा रहेका कर्मको स्वभाविक अभिनयलाई चलचित्रको ट्रेलरमै मन पराइएको छ । सुसन प्रजापतिले खिचेको चलचित्र ‘लुकामारी’का निर्माता मदन केसी हुन् ।
यो चलचित्रमा अमृत मरहट्ठाको मेकअपले पनि चर्चा पाएको छ । विनोद खतिवडाले लेखेको चलचित्र ‘लुकामारी’का सम्पादक कृष्ण भण्डारी हुन् ।
निर्देशक : श्रीराम दाहाल
संगीत : विकास सिलवाल
कलाकार : सौगात मल्ल, विक्रम सिंह थारु, कर्म, सुरबिना कार्की, रिश्ता बस्नेत, कृष्णभक्त महर्जन आदि ।
चलचित्र लुकामारीको ट्रेलर