साप्ताहिक संवाददाता
साप्ताहिकले विगत एक दशकदेखि मुलुकका उत्कृष्ट उच्च माध्यमिक विद्यालयको सूची सार्वजनिक गर्दै आएको छ । यो वर्ष पनि त्यसलाई निरन्तरता दिँदै ५ वर्षका १० वटा परीक्षा (कक्षा ११ र १२) को परिणाममा अब्बल नतिजा ल्याउने उमाविहरू छनौट गरिएको छ । शैक्षिक परिणाममा तुलनात्मक रूपमा सफल ठहरिएका उमावि यो सूचीमा परेका छन् ।
विद्यार्थीलाई राम्रा उमाविहरूका बारेमा जानकारी दिने उद्देश्यले १२ वर्षअघिदेखि साप्ताहिकले र्याङ्किङको यो ट्ेरन्ड सुरु गरेको थियो । यसले परिणाममै उत्कृष्ट उमाविको यथार्थ चित्रण गर्छ । पछिल्ला वर्षहरूमा पाँच वर्षको १० परीक्षालाई आधार बनाएर छनौट गरिने भएकाले निरन्तर रूपमा सफल परिणाम ल्याउने उमावि मात्र यो सूचीमा सामेल हुन्छन् । उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमीबाट प्राप्त तथ्यांकका आधारमा धेरै विद्यार्थीमा अधिकतमलाई सफल बनाउन सक्षम उमावि उत्कृष्ट १० भित्र परेका छन् ।
धेरैको जिज्ञासा रहन्छ, मुलकभरकै उत्कृष्ट उमाविहरू कुन–कुन होलान् त ? खासगरी एसएलसी तह उत्तीर्ण विद्यार्थी र तिनका अभिभावकहरूलाई यसमा प्रत्यक्ष चासो हुन्छ । यसपटक पनि विगतदेखिकै आफ्नो स्थान सुरक्षित गर्दै ललितपुरस्थित प्रसादी एकेडेमी नम्बर वान पोजिसनमा रह्यो । यस्तै पहिलो पटक र्याङ्किङमा स्थान बनाएको सेन्ट जेभियर्स कलेज दोस्रो स्थान कब्जा गर्न सफल भयो ।
यसबाहेक सेन्टमेरिज उमावि जावलाखेल, काठमाडौं मोडल उमावि बागबजार, सैनिक महाविद्यालय भक्तपुर, ग्लोबल कलेज अफ म्यानेजमेन्ट मध्यबानेश्वर, जेभियर एकेडेमी लाजिम्पाट, एनसिसिएस पकनाजोल, मोडर्न बोर्डिङ उमावि भक्तपुर तथा सगरमाथा उमावि पोखरा क्रमश: उत्कृष्ट १० भित्र पर्न सफल भएका छन् । मोर्डन बोर्डिङ उमावि पनि यसपटक पहिलो पटक र्याङ्किङको सूचीभित्र पर्दै नवौं नम्बरमा स्थान बनाउन सफल भयो ।
निरन्तर उत्कृष्ट परिणाम प्रदर्शन गर्न सक्नु एउटा उमाविका निम्ति वास्तवमै चुनौती हुन्छ । लामो समयसम्म पनि परिणाममा उल्लेख्य उतारचढाव नआएका उमाविहरू उत्कृष्ट कलेज हुन सक्छन् भन्ने मान्यतामा ५ वर्षका १० परीक्षाफललाई आधार बनाइएको हो । छोटो समयभन्दा लामो समयसम्म उच्च क्षमता प्रदर्शन गर्ने उमावि अब्बल हुन सक्छन् । एक वा दुई वर्षको परिणाममा उत्कृष्ट रिजल्ट ल्याएका थुप्रै उमाविमा समयक्रममा टिठलाग्दो परिणाम पनि देखिन्छ ।
क्रसं. | कलेज नाम | ०६७/०६८ | ०६८/०६९ | ०६९/०७० | ०७०/०७१ | ०७१/०७२ | औसत |
१ | प्रसादी एकेडेमी, ललितपुर | ९९.२८ | ९८.५५ | ९९.३५ | ९८.७८ | ९७.५ | ९८.६९ |
२ | सेन्ट जेभियर्स कलेज, माइतीघर | ९६.३४ | ९२.१८ | ९८.४३ | ९७.२५ | ९८.९ | ९६.६२ |
३ | सेन्टमेरिज उमावि, जावलाखेल | ९५.४३ | ९७.५९ | ९७.२ | ९२.७ | ९६.५४ | ९५.८९ |
४ | काठमाडौं मोडल उमावि, बागबजार | ९५.८७ | ९५.४३ | ९५.२७ | ९२.८४ | ९६.५४ | ९५.१९ |
५ | सैनिक महाविद्यालय सल्लाघारी | ९४.४८ | ९५.३३ | ९५.७३ | ९५.४३ | ९०.२२ | ९४.४३ |
६ | ग्लोबल कलेज अफ म्यानेजमेन्ट, नयाँ बानेश्वर | ८८.२९ | ९३.२२ | ९७.०१ | ९७.१४ | ९४.८ | ९४.०९ |
७ | जेभियर एकेडेमी, लाजिम्पाट | ९३.७६ | ९५.५१ | ९५.३४ | ९५.१४ | ८३.५२ | ९२.६५ |
८ | एनसिसिएस उमावि, पकनाजोल | ९६.०५ | ९२.५६ | ८८.७९ | ९५.०१ | ८९.९८ | ९२.४७ |
९ | मोर्डन बोर्डिङ उमावि भक्तपुर | ९१.१५ | ९१.५४ | ९४.६८ | ९४.९६ | ८६.३ | ९१.७२ |
१० | सगरमाथा उमावि पोखरा | ८४.७३ | ९३.७० | ८७.८६ | ९४.८२ | ९५.०१ | ९१.२३ |
समग्र परीक्षाफलका आधारमा यी उमाविहरू उत्कृष्टको सूचीमा पर्न सफल भए पनि मुलुकभर अन्य थुप्रै उमावि छन्, जसले शैक्षिक गुणस्तरलाई खस्कन नदिई सफल विद्यालयको परिचयमा आफूलाई स्थापित गराएका छन् । काठमाडौं उपत्यकाका दर्जनौं यस्ता उमाविका अतिरिक्त मोफसलमा पोखरा, विराटनगर, धरान, बुटवल, नारायणगढ, रौतहट, दाङका उमाविहरूले पनि निरन्तर राम्रो परिणाम हासिल गर्दै धेरै विद्यार्थीलाई सफल बनाएका छन् । उत्कृष्ट १० भित्र नपरेका दर्जनौं राम्रा उमाविले विद्यार्थीको शैक्षिक भविष्य उज्जवल बनाउन आफ्नो तर्फबाट योगदान दिइरहेकै छन् ।
त्यसो त राम्रा उमावि छनौट गर्नुमात्र पनि विद्यार्थीको सफलता होइन, विद्यार्थीको शैक्षिक भविष्य उज्ज्वल हुन राम्रो शैक्षिक संस्था त आवश्यक हुन्छ नै, स्वयं विद्यार्थीको मेहनतले पनि उत्तिकै भूमिका खेल्छ । शैक्षिक सफलताका निम्ति विद्यार्थीको मेहनत पहिलो प्राथमिकतामा पर्छ भने त्यसपछि दोस्रोमा सम्बन्धित शैक्षिक संस्थाको वातावरणले विद्यार्थीको प्रगतिलाई टेवा पुर्याउँछ ।
यो वर्ष उत्कृष्ट उमावि छनौटका क्रममा २०६७ कक्षा ११, २०६८ कक्षा १२, २०६८ कक्षा ११, २०६९ कक्षा १२, २०६९ कक्षा ११, २०७० कक्षा १२, २०७० कक्षा ११, २०७१ कक्षा १२ तथा २०७१ कक्षा ११ र २०७२ कक्षा १२ को परीक्षाको परिणामका आधारमा न्यूनतम् १ सय २६ विद्यार्थी भएका उमाविलाई यो सर्वेक्षणमा सहभागी गराइएको थियो । पछिल्लो ५ वर्षका १० वटा परीक्षामा सहभागी कुल विद्यार्थी संख्यालाई कुल उमावि संख्याले भाग गर्दा आएको औसत १ सय २६ विद्यार्थी संख्यालाई आधार मानिएको हो ।
थोरै प्रतिशतको अन्तरले गर्दा बाहिरिएका राम्रा कलेज पनि थुप्रै छन् । विगतमा टपटेनभित्र पर्दै आएको लिटल एन्जल्स उमावि, हात्तीवन एकदमै न्यून अन्तरले एघारौं स्थानमा पुग्यो । र्याङ्किङको प्रारम्भदेखि हालसम्म उत्कृष्ट १० भित्र पर्न सफल ललितपुरस्थित युनाइटेड एकेडेमी पनि यसपटक बाहिरियो । युनाइटेड १२ औं स्थानमा रह्यो । यस्तै डिल्लीबजारस्थित ट्रिनिटि इन्टरनेसनल उमावि तेह्रौं स्थानमा रह्यो । बनेपाको सिद्धार्थ इंग्लिस उमावि, सेन्टलरेन्स उमावि चावहिल थोरै अन्तरले पछाडि परे । मोफसलबाट धेरै विद्यार्थीमा सर्वोत्कृष्ट परिणाम ल्याउने उमाविका रूपमा परिचित मेरिल्यान्ड उमावि विराटनगर यो वर्ष टपटेन बाहिरै रह्यो । यसपटकको टपटेन र्याङ्किङमा काठमाडौं उपत्यकाका उमाविहरूको वर्चस्व रह्यो । मोफसलबाट सगरमाथा उमावि पोखरा दसौं स्थानमा रहन सफल भयो ।
गत वर्ष दोस्रो स्थानमा रहँदै उत्कृष्ट १० को सूचीमा पर्न सफल सैनिक महाविद्यालय यसपटक पाचौं स्थानमा पुग्यो । गत वर्ष सातौं स्थानमा रहेको जेभियर एकेडेमी यो वर्ष पनि सोही स्थान रहयो । गत वर्ष पाँचौं स्थानमा रहन सफल ग्लोबल कलेज अफ म्यानेजमेन्ट मध्यबानेश्वर यो वर्ष छैंटौं स्थानमा पुग्यो । व्यवस्थापन संकायमात्र अध्यापन हुने उमाविमा ग्लोबल सर्वोत्कृष्ट उमावि हो ।
एनसिसिएस पकनाजोल यो वर्ष आठौं स्थानमा पुग्यो । गत वर्ष एनसिसिएस छैंटौं स्थानमा थियो । लामो समयसम्म प्रसादी एकेडेमीपछि दोस्रो स्थानमा रहने सेन्टमेरिज उमावि जावलाखेल गत वर्षदेखि तेस्रो स्थानमा रहँदै आएको छ । यस्तै विगतमा लामो समय तेस्रो स्थानमा रहने काठमाडौं मोडल उमावि यो वर्ष पनि गत वर्षझैं चौथो स्थानमै रह्यो । र्याङ्किङको नवौं स्थानमा नवप्रवेशीका रूपमा मोडर्न बोर्डिङ उमावि भक्तपुर रहन सफल भयो ।