साप्ताहिक संवाददाता
अल्मोडा उप्रेती राना, गायक/संगीतकार
‘फन्टास्टिक पानी पर्यो...’ गीतको लोकप्रियतालाई कसरी मूल्यांकन गर्नुभएको छ ?
करिब एक वर्ष लगाएर तयार पारिएको यो गीत लोकप्रिय हुनेछ भन्ने कुरामा म ढुक्क थिएँ । गीतअनुसार म्युजिक भिडियो पनि तयार भएपछि यसलाई दर्शक तथा स्रोताले असाध्यै मन पराउनुभयो ।
यो गीतको शैलीलाई कसरी परिभाषित गर्नुहुन्छ ?
यो लोकदोहोरी तथा पप गीतलाई मिश्रण गरिएको फ्युजन शैलीको गीत हो । विधानराज भण्डारीको आकर्षक शब्दमा मैले डान्स फ्लेवर शैलीको धुन तयार पारेको छु । गायनमा पनि उत्तिकै मेहनत गरिएको छ । गीत तयार भएपछि निर्देशक सागर राजले उत्कृष्ट भिडियो बनाउनुभयो । आजको मितिसम्म युट्युबमा यो भिडियो भन्डै १२ लाख पटक हेरिएको छ ।
भिडियोमा आफैंले नृत्य पनि गर्नुभएको रहेछ ?
मैले सबैभन्दा मेहनत गरेको प्रोजेक्ट नै यही हो । नृत्य गर्न मात्र मैले झन्डै एक महिना पसिना चुहाएर मेहनत गरेको छु । त्यसैले आज यो गीत बालबालिकादेखि हरेक उमेरका श्रोताले मन पराउनुभएको छ ।
सांगीतिक क्षेत्रमा सक्रिय हुनुभएको कति भयो ?
संगीतमा आकर्षित भएको त १५–२० वर्ष नै भयो तर व्यवसायिक रूपले विगत दुई वर्षदेखि संगीत संयोजक तथा संगीतकारका रूपमा सक्रिय छु । पूर्वाञ्चल विश्वविद्यालयबाट संगीतमा स्नातक तथा लन्डन विश्व विद्यालयबाट संगीतमा स्नातकोत्तर गरेपछि म संगीतलाई नै करियर बनाएर अघि बढेको छु ।
संगीतकार तथा संगीत संयोजकका रूपमा के–के काम गर्नुभयो ?
नेपाली चलचित्रमा सक्रिय छु । ‘जालमा...’ गीतमा संगीत संयोजकका रूपमा काम गरेर उक्त गीत लोकप्रिय भएपछि थुप्रै चलचित्रमा काम गरिसकेको छु । जेरी, कबड्डी–कबड्डी, ड्रिम्स, पुरानो डुंगा, सयपत्री, छक्का पञ्जाजस्ता चलचित्रमा संगीत संयोजकका रूपमा काम गरेको छु भने चलचित्र ‘जंगे’ मा संगीतकारकै रूपमा काम गरेको छु ।
अबको योजना के छ ?
संगीत संयोजन तथा संगीतकारका रूपमा नेपाली चलचित्रमा सक्रिय भैरहनेछु । सौखका रूपमा भने गायनलाई पनि निरन्तरता दिइरहनेछु । श्रोताहरूले चाँडै नै मेरा केही राष्ट्रिय गीत तथा म्यासप गीत सुन्न पाउनु हुनेछ ।