साप्ताहिक संवाददाता
शनिबार मध्याह्न । किनमेलका लागि सधैंजसो भीड लाग्ने कालिमाटी तरकारी बजारको वातावरण बेग्लै थियो । तरकारी किन्न पुगेकाहरू त्यहाँको चर्तिकला देखेर दंग परे, एकैछिनमा रमितेको
घुइँचो लाग्यो ।
यही भीड छिचोल्दै भिमकाय रेस्लर हिमालयन टाइगर रिङमा प्रवेश गरे । बाघको छाला जस्तै टाटेपाङ्ग्रे पहिरनमा उत्रिएका हिमालयन टाइगरको आक्रामक हाउभाउ हेर्न लायक थियो । त्यसअघि नै आपसमा भिडिरहेका रेस्लरहरूमाझ हिमालयन टाइगरको उपस्थितिले रौनक बढाएको थियो ।
जसै, टाइगर रिंगमा उत्रिए, दर्शकहरू रोमाञ्चित हुँदै हुटिङ गर्न थाले । पहलमानहरूको यो भिडन्तको प्रारम्भ भने स्टोनपावर र अजिंगरको घम्साघम्सीबाट भयो ।
त्यसपछि रिंगमा प्रवेश गरे यति र वरियर । उनीहरूसँगै युनिका र जुरेली पनि आपसमा जुध्न थाले । यो रोमाञ्चक भिडन्त भैरहेको बेला एकाएक दर्शकको भीडबाट रेस्लर वारियर रिंगमा भित्रिए र खेल बिथोलियो । त्यसपछि यति, अजिंगर र युनिकालाई एउटा पक्षमा राखेर हिमालयन टाइगरले आफूसँग भिड्न चुनौती दिए । टाइगरलाई वारियर, स्टोन पावर र जुरेलीले साथ दिए ।
अन्त्यमा आफ्नै पार्टनरसँग विवाद भएपछि टाइगरले रिंग छाडे । नेपाली रेस्लिरहरूलाई आपसमा भिडाउने उक्त काम हिमालयन टाइगर प्रो रेस्लिङ एसोसिएसन र कालिमाटी तरकारी तथा फलफूल बजारले गरेको थियो ।