साप्ताहिक संवाददाता
‘यत्रो समय सम्म तपाई किन चुप लाग्नुभयो ? किताब छापिनुअघि किन बोल्नु भएन ?’ साहित्यकार हरिमाया भेटवालले शारदा भुसाललाई सोधिन् । ‘घरबाट बाहिर जान दिदैनथे ।’ जवाफमा लेखक भुसाल बोलिन् । ‘सबै पार्टीहरुकै मानिस थिए । म बाहिर आउनै सक्दिनथें ।’
दर्शक दिर्घाबाट अर्काे प्रश्न सोधियो । ‘पुस्तकमा आएका धेरै कुरामा विश्वास लाग्दैन । चार वर्षअघि साहित्यकार मोदनाथ प्रश्रितलाई आफैले आयोजना गरेको कार्यक्रमको स्टेजमै किन बोलाउनु भयो ?’ प्रतिउत्तरमा भुसाल बोलिन्, ‘त्यो झुटो कुरा हो । प्रश्रितले २०५४ मा आफूलाई प्रमुख अतिथि बनाएको भनेका छन् । त्यो बेला कार्यक्रम नै गरिएको थिएन ।’
भ्रष्टाचार बिरोधी अभियानमा संलग्न शारदा भुसालको आत्मकथा धरातल माथि अन्र्तक्रिया भईरहँदा लेखक र पाठकबिच गरिएका प्रश्नोत्तर हुन् यि । शनिबार बखुन्डोलस्थित नेक्सस कल्चर नेपालमा आह्वानद्वारा आयोजना गरिएको कार्यक्रममा लेखक शारदा भुसाल र समीक्षक अमृता लम्सालबिच छलफल भएको थियो । त्यसपछि पाठकहरुले आ–आफ्ना जिज्ञासा तथा प्रश्नहरु राखेका थिए ।
विवादास्पद पुस्तक धरातल का प्रकाशक कृष्ण अबिरललाई पनि पाठकहरुले किन छापेको भनेर प्रश्न राखेका थिए । ‘मैले अनुसन्धान पछि मात्रै पुस्तक छापेको हुँ ।’ अबिरलले भने, ‘छाप्नुअघि मैले एमालेका नेताहरुलाई पनि देखाएको हो । तपाईलाई सही लाग्छ भने आफ्नो निर्णय गर्नुहोस् भन्नुभयो ।’
पुस्तक र यस विषयको बारेमा निष्पक्ष रुपमा छलफल होस् भनेर कार्यक्रम आयोजना गरिएको बताईन्, आयोजक अर्चना थापा र उमा सुबेदीले । आह्वानले नियमित रुपमा साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको छ ।