प्लस टु कस्तो अर्थात् सस्तो वा महँगो रोज्ने भन्ने विषयले विद्यार्थी तथा अभिभावकहरूलाई चिन्तित बनाउँछ, आर्थिक अवस्था कमजोर भएकाहरूलाई प्लस टु भर्ना गर्नुपूर्व धेरै पटक सोच्न विवस बनाउँछ । सस्तोमा भर्ना लिने प्लस टुहरूमा सुविधा र गुणस्तरीय शिक्षा पाइँदैन भन्ने छाप छ । भौतिक पूर्वाधारको अभाव, अनुभवी शिक्षकको कमी तथा गुणस्तरीय शिक्षा पाइँदैन भन्ने धारणाले सस्ता कलेजहरूमा विद्यार्थीहरूको ध्यान खासै जाँदैन । महँगोमा पढ्न हैसियतले भ्याउँदैन । प्रचार–प्रसार अर्थात् विज्ञापन गरिरहेका प्लस टुले पनि प्रतिबद्धताअनुसार गुणस्तरीय शिक्षा प्रदान गर्न नसकेको आरोप पनि खेपिरहेका छन् ।
सरकारी क्याम्पसहरूमा प्रवीणता प्रमाणपत्र तह खारेज भएपछि आर्थिकस्थिति कमजोर भएका विद्यार्थीहरूका लागि निजी स्तरका प्लस टुमा भर्ना नगरी सुख छैन । सामुदायिक स्तरका प्लस टुमा सबै विद्यार्थीलाई धान्न सक्ने क्षमता छैन । त्यसैले पनि निजी क्षेत्रले सञ्चालन गरेका महँगा कलेजमा भर्ना हुनुपर्ने बाध्यता छ । यतिबेला करिब ६ लाख २५ हजार विद्यार्थी एसएलसी परीक्षाको नतिजा कुरिरहेका छन् जसमध्ये करिब ६५ प्रतिशत विद्यार्थी निजी क्षेत्रकै प्लस टुमा भर्ना हुन झुम्मिन्छन् । कुल ३ हजार ७ सय प्लस टु मध्ये १ हजार ५० भन्दा बढी प्लस टु निजी क्षेत्रबाट सञ्चालित छन् । यी निजी कलेजले विभिन्न आकर्षण दिएर विद्यार्थी तानिरहेका छन् । सामुदायिक कलेजले पनि विद्यार्थी तान्ने अनेकौं अभियान चलाइरहेका छन् । यद्यपि निजी क्षेत्रका प्रचार सामग्री आक्रामक तथा विद्यार्थी लोभ्याउने किसिमका हुन्छन् ।
भिएस निकेतन कलेजकी म्यानेजमेन्ट कोर्डिनेटर प्रेमलता श्रेष्ठ भन्छिन,‘प्लस टु हरूमा महँगो शुल्क लिएको कुरा विद्यार्थीले अनुभूति नै गर्न पाउँदैनन्’ निजी क्षेत्रका हाम्रो कलेजको सेवा, सुविधा एवं गुणस्तरले उनीहरूलाई सन्तुष्टि प्रदान गर्छ ।’ जेहेन्दार र गरिब विद्यार्थीहरूका लागि सहुलियत रूपमा पढ्ने व्यवस्था भएकाले सबैले पढ्न सक्ने अवस्था रहेको श्रेष्ठको दाबी छ । संकायअनुसार कलेजहरूले आफैं शुल्क निर्धारण गर्छन् । सरकारले कुनै मापदण्ड निर्धारण गरेको छैन् । शुल्क निर्धारण मापदण्डका सम्बन्धमा उच्च माध्यमिक विद्यालय संघ (हिसान)ले केही प्रयाय गरिरहेको दाबी गरेको छ । यद्यपि, अन्तर्राष्ट्रिय स्तरको तुलनामा नेपालको प्लस टु शुल्क सस्तो मानिन्छ । कलेजले दिने सुविधा, शिक्षकको पारिश्रमिक, भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप आदिका आधारमा कलेजहरूले शुल्क निर्धारण गर्ने बताइन्छ ।
कति छ शुल्क ?
नेपालका सामुदायिक तथा निजी क्षेत्रका प्लस टु सबैले आफैं शुल्क निर्धारण गर्छन् । यस क्रममा निजी स्तरका कलेजको शुल्क तुलनात्मक रूपमा महँगो जस्तो लाग्छ । यस्ता कलेजले न्यूनतम ५ हजारदेखि ४० हजार रुपैयाँसम्म भर्ना शुल्क लिन्छन् । त्यसबाहेक, खेलकुद, लाइब्रेरी, ल्याब, अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण खर्च, इन्टरनेट आदिका साथै मासिक शुल्क बुझाउँदा एकजना विद्यार्थीको वार्षिक शुल्क १ लाख नाघ्छ । मासिक शुल्क न्यूनतम ५ सयदेखि ७ हजारसम्म तिर्नुपर्छ । अधिकांश कलेजले छात्रवृत्तिको सुविधा उपलब्ध गराउँछन् । कतिपय विद्यार्थीले नि:शुल्क पनि पढ्न पाउँछन् भने ५० प्रतिशतसम्म पनि छुटको व्यवस्था गरिन्छ । उच्च अंक ल्याउने विद्यार्थीहरूलाई सोही अनुरूप सेवा सुविधा प्रदान गरिन्छ । यद्यपि यसमा कलेजले निर्धारण गरेको कोटाले ठूलो भूमिका निर्वाह गर्छ ।
सामुदायिक तथा केही निजी स्तरका कलेजहरूमा भने करिब ७० हजार हाराहारीको खर्चले धान्न सकिन्छ । यसमा भौतिक पूर्वाधार, शैक्षिक गुणस्तरका आधारमा शुल्कमा केही तल माथि भने हुने गरेको छ । त्यसमा पनि विषय अनुसार भर्ना शुल्क फरक–फरक छ । उच्च माध्यमिक शिक्षा परिषद्ले अहिलेसम्म कलेजहरूसँग मिलेर शुल्कसम्बन्धी कुनै किसिमको मापदण्ड तयार पार्न सकेको छैन ।