साप्ताहिक संवाददाता
सोमबार मध्यान्ह नायक सौगात मल्ल वालवालिकाहरुबिच घेरिएका थिए । उनीसंग फोटो र सेल्फि खिच्नेहरुको घुइँचो थियो । सडक वालवालिकाहरु सौगातलाई प्रश्न सोध्न तछाडमछाड गरिरहेका देखिन्थे । भक्तपुर, सानोठिमीस्थित ‘न्यूनतम सुबिधाबिहीन वालवालिकाहरुको लागि शैक्षिक कार्यक्रम’ (युसेप) मा आश्रय लिईरहेका चालिस जना वालवालिकाहरु त्यो भेटमा निकै खुसी देखिन्थे ।
लुट, लुकामारी, दासढुंगा, फन्को, छड्के, कागबेनी जस्ता चलचित्रहरुमा अब्बल अभिनय गरिसकेका सौगातले वालवालिकाहरुसामु आफ्ना अनुभब सुनाउन पाउँदा प्रसन्न देखिन्थे । ‘हरेक मानिसमा कुनै न कुनै गुण हुन्छ ।’ उनी भन्दै गए, ‘आफूलाई जुन कुरामा बढी रुचि हुन्छ जीवनमा त्यही काम गर्ने हो । मलाई अभिनयमा रुचि लाग्थ्यो, त्यही गरें । अहिले २० वटा चलचित्रमा अभिनय गरिसकें ।’ सौगातलाई कतिले गीत गाउन अनुरोध गरेपनि उनले ‘गाउँन जान्दिन’ भनेर टारिदिए । बरु चलचित्रमा धेरै रुचाइएका संबाद भने उनले सुनाउन भ्याए । सामाजिक सेवाका लागि स्थापना गरिएको युसेपमा बिभिन्न ठाउबाट उद्धार गरिएपछि ल्याईएका बालबालिकाहरुलाई आश्रय लिइरहेका छन् ।
‘यहाँको वातावरण एकदम रमाइलो छ ।’ केही समय यता यस संस्थामा स्वयंसेवा गरिरहेकी त्रिभुबन विश्वविद्यालय, मास्टर्स अफ सोसल वर्ककि विद्यार्थी जानुका अर्यालले भनिन् ‘उनीहरु नया कुरा सिक्नमा एकदम चाख लिने गर्छन् ।’ ‘बालबालिकाहरुलाई जीवनप्रति उत्साह देखाउन, अबसर सिर्जना गराउन र ख्यातीप्राप्त व्यक्तिसंग भेट गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।’ केन्द्रीय बालकल्याण समितिका रवि गौतमले भने ।