साप्ताहिक संवाददाता
नेपाल टेलिभिजनमा प्रसारण हुने चर्चित हास्यश्रृंखला ‘भद्रगोल’ का लोकप्रिय कलाकारहरूले अस्ट्रेलिया टुरका क्रममा मेलबर्नमा प्रस्तुति दिएका छन् ।
भद्रगोलका कुमार कट्टेल जिग्री, अर्जुन घिमिरे पाँडे, सागर लम्साल बले तथा हरि निरौला कक्रोचले समसामयिक विषयमा सामूहिक प्रहसन प्रस्तुत गरेका थिए । उनीहरूको व्यंगात्मक प्रस्तुतिमा दर्शकले भरपुर मनोरन्जन प्राप्त गरे । मेलबर्नको सांस्कृतिक साँझको सुरुवातमा रुन्चे गायक प्रकाश पौडेल स्टेजमा उक्लिएका थिए । प्रकाशले हास्यशैलीका आफ्ना गीतहरू गाएका थिए । भद्रगोल टिमसँगै पहिलो पटक अस्ट्रेलियाको कार्यक्रममा सहभागी भएका गायक पौडेलले अनलाइनमार्फत साप्ताहिकलाई भने– ‘हाम्रो पहिलो प्रस्तुति अपेक्षाभन्दा बढी सफल भयो ।
धेरैपछि दर्शकहरूले अत्यधिक मनोरन्जन पाएको प्रतिक्रिया दिनुभएको छ ।’ अहिलेका जल्दाबल्दा विषयमा भद्रगोलका हास्यकलाकारले प्रस्तुति दिएकाले पनि कार्यक्रम मनोरञ्जक भएको गायक पौडेलको भनाइ थियो । कार्यक्रममा गायिका प्रजिता गेलालले पनि आफ्ना गीत सुनाएकी थिइन् । कलाकारहरूको यो समूहले अब ब्रिसबेन, तास्मानिया तथा सिड्नीमा प्रस्तुति दिनेछ । ब्रिसबेनमा असार १९, तास्मानियामा असार २२ एवं सिड्नीमा असार २५ गते कार्यक्रम निर्धारण भएको भद्रगोलका जिग्री अर्थात् कुमारले बताए ।