साप्ताहिक संवाददाता
नेदरल्यान्डकी २७ वर्षीया बाइक राइडर च्यान्टल सिमोन्स पोखरा, चितवन, लाङटाङ तथा लुम्बिनी घुमेर फर्किएकी छिन् । उनी काठमाडौंमा विभिन्न बाइकिङ गतिविधिमा समेत संलग्न भएकी थिइन् ।
यतिबेला सिमोन्स एसियाली देशहरू घुम्ने योजनाका साथ यात्रामा निस्किएकी छिन् ।
रोड ट्रेल बाइकका रूपमा परिचित यामाहाको एक्सटी २५० बाइकमा यात्रा गरिरहेकी सिमोन्सले चिक द चुक चेजर नाममा फेसबुक पेज एवं वेबसाइट खोलेकी छिन्, जसमा उनको यात्राको विवरण अपडेट हुन्छ ।
सिमोन्सले अहिलेसम्म लगभग ४५ हजार किलोमिटर यात्रा गरिसकेकी छिन् । अस्ट्रेलियाबाट इस्ट टिमोर, इन्डोनेसिया, मलेसिया, थाइल्यान्ड, कम्बोडिया, म्यानमार तथा भारत हुँदै नेपाल आएकी सिमोन्स भारत, पाकिस्तान, चीन, किर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, तुर्कमेनिस्तान, इरान, टर्की हुँदै नेदरल्यान्ड फर्कने तयारीमा छिन् ।
नेपालमा उनलाई बाइकर्स नेपाल, राइडर्स युनिफाइड तथा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) आदि संस्थाले स्वागत गरेका थिए । विभिन्न देश घुम्दा उनले त्यहाँका अटोमोबाइलसम्बन्धी एसोसिएसन तथा क्लबहरूको सहयोग लिने गरेकी छिन् । सिमोन्सले आफ्नो यात्रा आगामी डिसेम्बरमा नेदरल्यान्ड पुगेर टुंग्याउने छिन् ।