साप्ताहिक संवाददाता
काठमाडौंका चिल्ला सडकमा हुइँकिने बानी परेका ठिटा–ठिटीहरूलाई कसैले दुर्गम पहाडी बाटोमा घन्टौं हिँडायो भने कति रिस उठ्ला ? पहाडी बाटो हिँड्दै नहिँडेका युवा–युवतीलाई पाँच–छ घण्टाको उकालो बाटो हिँड्न बाध्य पारियो भने परिस्थिति कस्तो होला ?
यतिबेला निर्देशक ऋषिराज आचार्यले त्यस्तै नियति भोगिरहेका छन् । चलचित्र ‘सुन्तलीलाई भगाइ लग्यो झिल्केले’ का यी निर्देशकले चलचित्रको छायांकन स्थलसम्म पुर्याउन नायक–नायिकाहरूलाई भोजपुरको बिकट पहाडी बाटोमा घन्टौं हिँडाए ।
मोबाइलको नेटवर्कसमेत नभेटिने जंगलको डरलाग्दो बाटो हुँदै एसियाकै दोस्रो ठूलो ‘पोकली’ झरनामा छायांकनका लागि पुग्ने क्रममा यो चलचित्रका नायक–नायिकाले प्रसस्तै सास्ती भोगे । जंगलको बाटो, त्यो पनि उकालो अनि भीर । सवारी साधनको सुविधा नभएको उक्त क्षेत्रमा पैदल हिँड्नु पर्दा चलचित्रका अभिनेता सुशील सिटौला, सुशान्त कार्की, अभिनेत्री सुरजनी केसीसहित प्राविधिकहरूको ठूलै समूहले निर्देशक आचार्यसँग भविष्यमा यस्तो लोकेसनमा काम नगर्ने भन्दै घुर्क्याएका थिए ।