एसएलसी परीक्षाको नतिजा प्रकाशन भएपछि सबै उत्तीर्ण विद्यार्थीको ध्यान उच्च शिक्षामा केन्द्रित भएको छ । उनीहरू एउटा खुड्किलो पार गरी अर्को खुड्किलोमा पाइला लम्काउने तयारीमा छन् तर के ती पाइला मजबुत सावित हुनसक्लान ? वास्तवमा यो अवस्थामा विद्यार्थी र तिनका अभिभावक समेतले एउटा बलियो निर्णय लिनुपर्ने आवश्यकता छ । नेपालको वर्तमान शिक्षा प्रणाली नै अन्यौल अवस्थाबाट गुज्रिरहेको छ । विद्यार्थीले पढ्नुपर्ने बाध्यता पनि छ र पढ्नकै लागि पनि कठिन अवस्था पार गर्नुपर्ने अवस्थासमेत छ ।
सर्वप्रथम विद्यार्थीले कुन विषय पढ्ने निर्धारण गर्नु आवश्यक छ । यो जिन्दगीको एउटा कठिन अवस्था हो । अहिलेको निर्णयले नै भविष्यलाई प्रभावित गर्छ । राम्रो विषय छनौट गर्न सकिएन भने पछि आफूले पढेको विषयको औचित्य नै नरहन सक्छ । यो अवस्थामा आफूले लगानी गरेको मेहनत र परिश्रम मात्र होइन, आर्थिक लगानी पनि खेर जान्छ । विषयको निर्णय गरिसकेपछि कुन कलेज छनौट गर्ने ? साथीभाइ, घरपरिवार, समाज सबैको कुरा सुनेर त्यहीअनुसार निर्णय गर्नुपर्ने हुन्छ ।
एसएलसी उत्तीर्ण गरेका विद्यार्थीलाई अझै परिपक्व मानिँदैन । उनीहरू साथीभाइ वा अरूको लहैलहैमा लागेर आफूखुसी निर्णय गर्न सक्छन् । यो अवस्थामा उनीहरूलाई सही मार्गदर्शन गर्ने काम अभिभावकहरूको हो । त्यसैले कुनै विषय कुन कलेजमा पढ्ने भन्ने निर्णयमा अभिभावकको महत्वपूर्ण भूमिका हुन्छ । अहिलेका अभिभावकहरू यो मामिलामा धेरै अगाडि पाइन्छन्, तर पनि सबै अभिभावकले आफ्ना सन्तानलाई उचित मार्गदर्शन गरेको पाइँदैन । आफ्नो इच्छालाई प्राथमिकता दिँदै वा सन्तानको चाहना नबुझी जबर्जस्ती यो विषय यो कलेजमा पढ भन्नु पनि उचित होइन । कतिपय अभिभावकको चाहना एउटा र सन्तानको चाहना अर्कै हुन सक्छ । यो अवस्थामा देश, काल, परिस्थिति हेरेर उचित विश्लेषण गरी त्यसै अनुरूप निर्णय लिनुपर्ने हुन्छ ।
अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारी आफूले के पढ्ने भन्ने निर्णय गर्ने अधिकार सन्तानको भए पनि उनीहरूलाई उचित मार्गदर्शन प्रदान गर्ने काम अभिभावकहरूको भएको बताउँछन् । कुनै विद्यार्थीले विज्ञान विषय पढ्न चाह्यो, अभिभावकलाई अर्कै विषय पढिदेओस् भन्ने इच्छा हुन सक्छ । भण्डारी यो अवस्थामा अभिभावक र सन्तानका बीचमा स्वस्थ छलफल हुनुपर्ने बताउँछन् । जे भए पनि पढ्ने र भविष्य निर्माण गर्ने कामचाहिँ सन्तानको हो । बरु उसले विषय छनौट गर्दा साथीभाइको लहैलहैमा लागेर मात्र यो निर्णय गरेको छ कि त्यसको औचित्य पनि छ भन्ने विषयमा एक–अर्कामा छलफल हुनु आवश्यक भएको भण्डारीको तर्क छ । यसका लागि विद्यार्थीको प्राथमिकता सुनेर आपसी छलफल गर्न सकिन्छ । यदि विद्यार्थीको रुचिअनुरूपको विषय पढ्दा भविष्यमा उपलब्धि हुन्छ भने उसकै रोजाइलाई स्वीकृति दिनु राम्रो हुने भण्डारी बताउँछन् । त्यसो होइन भने पनि उसलाई धेरै दबाब दिनु हँुदैन ।
यसका लागि आवश्यक परामर्श प्रदान गरी उसको मन जित्ने प्रयास गर्नु राम्रो हुने भण्डारीको सुझाव छ ।
शिक्षाविद् विद्यानाथ कोइराला विषय छनौट गर्दा अहिलेको अवस्थामा रोजगारमुखी विषय छनौट गर्नुपर्ने बताउँछन् । अहिले विषय छनौटको मान्यतामा परिवर्तन आएको कोइरालाको तर्क छ । पहिले जस्तो डाक्टर, इन्जिनियर बन्छु भन्नेहरू कम भैसकेका छन् । डाक्टर बन्दा गाउँघरमा गएर सेवा गर्नुपर्छ । इन्जिनियर बन्दा ढुंगा माटोसँग खेल्नुपर्छ । पाइलट बन्दा पनि रोजगारीको ग्यारेन्टी छैन । त्यसैले कुन विषय पढ्दा रोजगारी पाइन्छ भन्ने कुरामै ध्यान केन्द्रित हुनुपर्ने कोइरालाको तर्क छ ।
विषय छनौटका लागि दोश्रो महत्वपुर्ण पक्ष बजार हो । रोजगारी मात्र होइन, आफूले व्यक्तिगत रूपबाट पनि धेरै गर्न सकिने विषयहरू छन् । नेपालको सन्दर्भमा कुरा गर्दा विद्यार्थीहरूको ध्यान भाषा अध्ययनमा त्यति गएको पाइँदैन । नेपाली भाषा विषय रोज्दा पनि यहाँ अपार सम्भावना छ । नेपाली भाषा अध्ययन गर्दा यसैको सहायताले भविष्यमा नेपालमा भएका मैथिली, तामाङ, मगर, गुरुङ जस्ता धेरै भाषाका बारेमा अध्ययन गर्न सकिन्छ । अहिले नेपालमा भाषिक जागरण पनि आएको छ । त्यसैले यसप्रति आँखा चिम्लनु हुँदैन । यस्ता विषय अरु पनि हुन सक्छन् । त्यसैले बजारको विश्लेषण गरी विषय छनौट गर्नुपर्छ ।
शिक्षाविद् कोइराला विषय छनौटका लागि सामाजिक इज्जतलाई ध्यानमा राख्ने जमाना अब नरहेको तर्क गर्छन् । मेरो छोरा वा छोरीले यो विषय पढेका छन् भनेर बाबुआमाले भन्दा गर्व लाग्ने कुनै विषय थिए, तर अब जुनसुकै वा नामै नसुनिएका विषय पनि पढ्न सकिने जमाना आएको छ । त्यसैले कलेजहरूमा यस्ता विषय पढाइ हुन्छन् र ती विषय पढेपछि भविष्यमा यस्तो सम्भावना हुन्छ भनेर विद्यार्थीहरूलाई जानकारी दिई विषय छनौट गर्ने अधिकार उनीहरूमै छाड्नुपर्छ । यसलाई अर्को शब्दमा भन्दा ‘इन्फोर्म्ड च्वाइस’ भनिन्छ । विद्यार्थीलाई सबै कुरा जानकारी होस् र अन्त्यमा उसले विषय छनौटको निर्णय गरोस् । छनौटमा कुनै गलत अनुभव भए मात्र अभिभावक वा अरूले त्यसमा हस्तक्षेप गर्नुपरोस् । यो नै सबैभन्दा उत्तम विकल्प हो, तर यसरी उनीहरूलाई सबै जानकारीले सुसज्जित गराउने काममा भने अभिभावकका साथै एसएलसीसम्म अध्ययन गराएको विद्यालय र प्लस टु कलेजहरूले समेत भूमिका खेल्न सक्छन् ।
विषय छनौटपछि कलेज छनौटका कुरा आउँछन् । खासगरी धेरै पैसा तिर्नुपर्ने, अंग्रेजीकरण गरी राखिएका नाम र चमकदमक भएका कलेजकै बढी चर्चा भएको पाइन्छ तर वास्तविकता सोचेजस्स्तो हुँदैन । पढाइको स्तर सामान्य र चर्चित कलेजमा दुवैतिर उस्तै हो । पढाइभन्दा अन्य कुरातिर बढी ध्यान दिने भएकाले नै उनीहरूको चर्चा पनि धेरै भएको हो । शिक्षाविद्हरूका अनुसार कलेज छनौट गर्दा स्तरीय अध्यापन कहाँ हुन्छ बुझ्नुपर्छ । यसका लागि उक्त कलेजमा अध्यापन गराउने शैलीका बारेमा प्रारम्भिक रूपमै अनुमान गर्न सकिन्छ । त्यसैगरी त्यहाँका शिक्षकहरूका बारेमा पनि पुर्व जानकारी लिन सकिन्छ । यसका लागि त्यहाँ अध्ययनरत वा अध्ययन पूरा गरिसकेका विद्यार्थीहरूको सहयोग लिन सकिन्छ ।
कलेज छनौटमा दूरीको पनि ख्याल गर्नुपर्छ । आफूलाई कुन स्थानमा भएको कलेज ठीक हुन्छ भन्ने विषयमा पनि ध्यान पुर्याउनुपर्छ । यसले गर्दा पनि समय र पैसाको बचत हुन्छ । कलेजको वातावरणले पनि अध्ययनमा असर पुर्याउँछ । त्यसैले भौतिक रूपमा साँघुरो तथा अति व्यस्त सडक छेउका कलेज उपयुक्त नहुन सक्छन् । आफन्त एवं परिवारले चिनेका मानिसले सञ्चालन गरेको कलेज भन्दैमा कलेजका बारेमा जानकारी नै नलिई भर्ना हुनु हुँदैन । समग्र कलेजको शैक्षिक स्तरका सम्बन्धमा जानकारी लिएर मात्र कलेज छनौट गर्नु उपयुक्त हुन्छ ।