साप्ताहिक संवाददाता
स्थानीय नृत्य तथा गीत–संगीतमा रमाउँदै आएका ओखलढुंगाको हिलेपानी थाक्लेका बासिन्दाले यो साता मेचीदेखि महाकाली सम्मका नृत्य हेर्ने अवसर पाए । स्थानीय थाक्लेस्थित मितेरी भन्ज्याङमा आयोजित बृहत् लोकसंस्कृति नाच तथा थुम्का सिद्धबाबा धार्मिक पर्यटकीय स्थल विकास अभियान समुद्घाटन समारोहमा काठमाडौंबाट गएका सांस्कृतिक संस्थानका कलाकारले विविध नेपाली लोकनृत्य प्रस्तुत गरेका थिए ।
ओखलढुंगाका सांसदद्वय रामहरि खतिवडा तथा यज्ञराज सुनुवारले थुम्का सिद्धबाबा पर्यटकीय स्थलका लागि बनाइएको नयाँ मार्गको उद्घाटन गरेपछि बृहत् लोकसंस्कृति नृत्य प्रारम्भ भएको थियो ।
कार्यक्रममा सांस्कृतिक संस्थानका कलाकार मदन थापाले मयूर नृत्य प्रस्तुत गरे भने संस्थानका कलाकारहरूले पूर्वी नेपालको साकेला सिली, सुदूर पश्चिम क्षेत्रको हुड्केली नृत्य, तामाङ समुदायको तामाङ सेलो, हिमाली क्षेत्रको याक नृत्य, मध्यपश्चिमको ट्याम्कुली नृत्य, पश्चिमी क्षेत्रको कौडा नृत्यजस्ता विभिन्न लोक नाच प्रस्तुत गरेका थिए । संस्थानका कलाकारहरू अञ्जु रञ्जितकार, अञ्जु आले, शारदा सिलवाल, सवनम सिलवाल, माया थापा, सुशीला थापा, सीता कार्की, मनोज जोशी, केशवराज राई, गोरन चौधरी, रेशम पुन, श्रीहरि फुयाँल, छवि थापा, खिम बलम्पाकीले ती नृत्य प्रस्तुत गरेका थिए । सांस्कृतिक संस्थानका नृत्य निर्देशक विजय मानन्धर तथा कलाकार रमेश केसी मट्टारेले झाँक्री नाचसँगै प्रस्तुत गरेको प्रहसनलाई दर्शकले रमाइलो माने ।