भूकम्पछि थलिएको नेपालको पर्यटन प्रर्वद्धन हेतु हङकङमा हाइकिङ (लामो दूरीको पैदल यात्रा) को आयोजना गरिने भएको छ ।
‘हाइक फर नेपाल’ शिर्षकमा हुने पैदल यात्रा करिब १३ किलोमिटरको हुनेछ । कार्यक्रम आयोजक मितेरी समाज हङ्कङले पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराएको हो । ‘नेपालको लागि सँगसँगै पाईला चालौ’ भन्ने नारा दिइएको कार्यक्रम साउन ९ गते हुनेछ ।
‘हामी उठ्ने छौ’ अभियान अन्र्तगत हुने उक्त पैदल यात्रामा १० पटक सगरमाथा आरोहण गरिसकेका चर्चित किर्तिमानी आरोही फुर्वा तेन्जिङ् शेर्पा सहभागी हुनेछन् । उनले १७ देखि २४ वर्षको उमेरभित्र ९ पटक सगरमाथाको शिखर चुमेर विश्व किर्तिमान बनाएका छन् । तीन दिनमै दुईपटक सगरमाथा आरोहणको अर्को किर्तिमान पनि उनकै नाममा छ । शेर्पाले हङ्कङेली सँगै विदेशीहरुसँग हिमाल आरोहरणका सफलता, समस्या र चुनौतीबारे अन्र्तक्रिया समेत गर्नेछन् ।
अन्तर्राष्ट्रि्र्र्र्रय सहर हङकङको केन्द्रविन्दु सेन्ट्र्र्र्र्रलबाट सुरु हुने यात्रा वान चाई ग्याप, वाङ नाई, चुङ रिजर्भर पार्क हुँदै रिपल्स बे मा पुगेर टुंगिनेछ । हङ्कङका अग्ला भूभागहरुमा हुने हाइकिङमा नेपालीहरुसँगै विदेशीहरु पनि सहभागी हुने आयोजक मितेरी समाजका अध्यक्ष तुलसी गुरुङले बताए ।
भूकम्पपछि थलिएको नेपालको पर्यटन क्षेत्रलाई उकास्न यस्ता कार्यक्रमले टेवा पुग्ने उनको भनाई थियो । हिमाल आरोही समेत सहभागी हुने भएकाले यो हङकङवासीहरुलाई नेपालको हिमालबारे जान्ने अवसर पनि हुनेछ । पत्रकार सम्मेलनमा समाजका रक्स गुरुङ्, अभियन्ता सुरज गुरुङ् लगायतले हामी उठ्ने छौ अभियान र हाइक फर नेपालको औचित्यमाथि प्रष्ट्याएका थिए । भूकम्प पीडितहरुको सहयोगार्थ सुरु भएको हामी उठ्ने छौ अभियान पछिल्लोसमय विश्वब्यापी बन्दै गईरहेको छ । संसारभरका नेपालीहरुको साथ समर्थन पाएको यस अभियानले सकृयतापूर्वक विभिन्न क्षेत्रहरुमा उत्प्रेरणामूलक गतिविधिहरुलाई निरन्तरता दिदै आइरहेको छ ।