यो वर्षको एसएलसी परीक्षामा सहभागीमध्ये ४ लाख ८२ हजार ९ सय ९८ विद्यार्थी कक्षा ११ मा भर्ना हुन पाउँछन् । त्यसमध्ये उच्च माध्यमिक शिक्षा परिषद्ले लागू गरेका केही प्राविधिक कोर्स तथा सिटिइभिटीअन्तर्गतका कोर्स पढ्न रुचाउने विद्यार्थीको संख्या उल्लेख्य छ । सिटिइभिटीअन्तर्गतका केही प्राविधिक शिक्षालयले एसएलसीपछि तीनवर्षे डिप्लोमा स्तरमा मेकानिकल, नर्सिङ, हेल्थ असिस्टेन्ट आदि विषय अध्यापन गराउँदै आएका छन् जसलाई प्रवीणता प्रमाणपत्र तहको समकक्षता प्रदान गरिएको छ । सिटिइभिटीले आफ्नै शिक्षालयमार्फत, अन्य शैक्षिक संस्थालाई सम्बन्धन दिएर तथा अन्य एनएक्स कार्यक्रम मार्फत प्राविधिक शिक्षा प्रदान गरिरहेको छ ।
यता उच्च माध्यमिक शिक्षा परिषद्ले पनि कक्षा ११ र १२ का लागि प्राविधिक धारका पाँच विषयका पाठ्क्रम तयार गरेको छ । कक्षा ९ र १० मा यस्ता प्राविधिक विषयको अध्यापन पनि प्रारम्भ गरिएको छ । यी विषय लिएर एसएलसीमा राम्रो ग्रेड ल्याउन सके ११ मा प्राविधिक विषयहरू अध्ययन गर्न पाइन्छ । यी पाठ्यक्रम कुल १२ सय पूर्णाङ्कका छन्, जसको अध्ययनबाट प्राविधिक जनशक्ति प्लस टुको अध्ययनबाटै उत्पादन हुनेछन्, तर प्राविधिक विषयहरू पढाइ हुने सामुदायिक विद्यालय करिब १ सयवटा मात्र छन् । उच्च माध्यमिक शिक्षा परिषद्ले हाल प्राविधिक विषयका रूपमा इलेक्ट्रिक, सिभिल इन्जिनियर, कम्प्युटर इन्जिनियर, वनस्पति विज्ञान, जीव विज्ञानजस्ता विषय समावेश गरेको छ ।
अन्य विश्वविद्यालयले पनि प्राविधिक विषयहरूलाई प्राथमिकतामा राखेका छन् । त्रिभुवन विश्वविद्यालयले कृषि, इन्जिनियरिङ, स्वास्थ्य, वन आदि विषयलाई प्राविधिक कोर्सका रूपमा अघि सारेको छ ।
प्राविधिक शिक्षाका लागि सबैभन्दा भरपर्दो गन्तव्य भनेको सिटिइभिटीले सञ्चालन गरेका शैक्षिक कार्यक्रमहरू नै हुन् । सीमित कोटामा भर्ना लिइने सिटिइभिटीका कोर्स पूरा गरिसकेपछि रोजगारीका प्रशस्त सम्भावना हुने सिटिइभिटीका प्रवक्ता शिव शंकर घिमिरेको दाबी छ । ‘हामीबाट उत्पादित जनशक्तिमध्ये ८० प्रतिशतले तुरुन्तै रोजगारी पाएका छन्’, उनले भने, ‘केही विषय महँगा छन् तर यस्ता विषयमा विश्वभरबाट दक्ष जनशक्तिको माग छ ।’ डिप्लोमा तहका विषयमा देशभरबाट १६ हजार ३ सय ५० जना मात्र भर्ना हुने क्षमता छ । ५० जिल्लामा सञ्चालित यस्ता कार्यक्रमका निम्ति २ सय ४२ शिक्षालय छन् भने नर्सिङ कलेज १ सय ९ वटा छन् ।
अध्यापन भैरहेका केही विषय
इन्जिनियरिङ : यसअन्तर्गत डिप्लोमा वा प्रमाणपत्र लेभलका सिभिल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, मेकानिकल, अटो मेकानिकल, आर्किटेक्चर, कम्प्युटर इन्जिनियरिङ, सर्भे इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी आदि विषय पर्छन् । यी सबै कोर्स पूरा गर्न तीन वर्ष लाग्छ । इन्जिनियरिङको डिप्लोमा तहका यी विषयको अध्ययन सकेपछि भने हाइड्रोपावर, सडक, खानेपानी आयोजना, पर्यटन आदि क्षेत्रमा रोजगारी प्राप्त गर्न सकिन्छ ।
कृषि : यसअन्तर्गत एनिमल साइन्स तथा प्लान्ट साइन्स पर्छन् । त्यसबाहेक टेक्सटाइल एन्ड सेरिकल्चर, आईएस्सी.एजी आदि छन् । डिप्लोमा इन फुड एन्ड डेरी टेक्नोलोजी पनि कृषिअन्तर्गत छ । यी कोर्स पूरा गर्न तीन वर्ष लाग्छ । नेपाल कृषिप्रधान देश भएकाले यहाँ यो विषयमा रोजगारीको सम्भावना धेरै छ । कृषि अनुसन्धान परिषद्, कृषि विभाग, कृषि मन्त्रालय, कृषि विकास कार्यालय, कृषिसम्बन्धी एनजीओ तथा आईएनजीओहरू रोजगारीका सम्भावित क्षेत्रहरू हुन् ।
स्वास्थ्य : यसमा सिएमए, अनमी, एएएच डब्ल्यू, डेन्टल हाईजेनिस्ट, मेडिकल ल्याब टेक्नोलोजी, अक्युपन्चर, जनरल मेडिसियन, फार्मेसी, मेडिकल ल्याब टेक्निसियन, फिजियोथेरापी, होमीयोप्याथी आदि विषयहरू पर्छन् । यी विषयको कोर्स पूरा गर्न तीन वर्ष लाग्छ । परीक्षामा सामेल भएर उत्तीर्ण भएपछि भने माथिल्लो तहको अध्ययन गर्ने अवसर पनि प्राप्त हुन्छ । एसएलसी उत्तीर्णहरूले यी विषयमा आवदेन भरेर प्रवेश परीक्षा मार्फत छनोट हुने अवसर पाउँछन् । एसएलसीका अनिवार्य विषयलगायत स्वास्थ्य तथा जनसंख्या विषयबाट प्रवेश परीक्षामा प्रश्न सोधिन्छ । यी सबै कोर्स स्वदेश तथा विदेशमा उपयोगी हुने सिटिइभिटीको दाबी छ ।
फरेस्ट्री : डिप्लोमा तहको यो तीनवर्षे कोर्स पूरा गरेपछि वन विकाससँग सम्बन्धित संघसंस्था वा सरकारी निकायहरूमा रोजगारीको अवसर मिल्छ । सरकारी सेवाअन्तर्गत वन विभाग, भू–संरक्षण विभाग, राष्ट्रिय निकुञ्ज, वन्यजन्तु विभाग, वन मन्त्रालय आदि स्थानमा रोजगारीको सम्भावना हुन्छ, तर नेपालमा यो विषय अध्यापन हुने कलेज सीमित संख्यामा छन् ।
होटल म्यानेजमेन्ट : डिप्लोमा लेभलको यो तीनवर्षे कोर्स पूरा गरेपछि पर्यटन क्षेत्रमा रोजगारीको सम्भावना हुन्छ । पर्यटकीय स्थलमा खुलेका रिसोर्ट, कटेज, तारे होटल तथा रेस्टुराँ आदिमा रोजगारीको अवसर मिल्छ । त्यसबाहेक पर्यटन क्षेत्रमा फड्को मारेका देशहरूमा पनि रोजगारीको अवसर प्राप्त हुन्छ ।
सामाजिक परिचालक : सिटिइभिटीले नै सञ्चालन गर्दै आएको सामाजिक परिचालकको कोर्स पूरा गर्न पनि एसएलसी उत्तीर्ण विद्यार्थीका लागि तीन वर्ष लाग्छ । यो कोर्स पूरा गरेपछि विशेष गरी एनजीओ तथा आईएनजीओहरूमा रोजगारीको अवसर प्राप्त हुन्छ । त्यसबाहेक सरकारी स्तरमा पनि प्रशस्त सम्भावना हुन्छन् ।
जीपीए कति हुनुपर्छ?
यी सबै विषयमा भर्ना हुन सिटिइभिटीले विषयगत दक्षतालाई प्राथमिकता दिएको छ । स्वास्थ्य विषय लिएर पढ्न चाहनेहरूका लागि एसएलसीमा जीपीए अर्थात् ग्रेडप्वाइन्ट सी ग्रेड तथा जीपीए २.० हुनुपर्छ । इन्जियिरिङ, फरेस्ट्री, कृषि, पर्यटन आदि विषयमा भर्ना हुन पनि अंग्रेजी, गणित तथा विज्ञानमा सी ग्रेड ल्याउनुपर्छ । एसएलसीपछिका अन्य तीनवर्षे कोर्स गर्न सी ग्रेड तथा जीपीए २.० हुनुपर्ने प्रावधान छ ।