हेमराज बि.सी निर्देशित फिल्म ‘गाजलु’ को हङ्कङमा प्रिमियर गरिएको छ । नेपालमा सफल प्रर्दशन पश्चात बाहिरी मुलुकमा प्रर्दशनका लागि हङ्कङमा पहिलो प्रिमियर गरिएको हो ।
दर्शकसँगै बसेर फिल्म हेर्नका लागि फिल्मकी नायिका तथा मिस नेपाल २०१२ सृष्टि श्रेष्ठ हङकङ आएकी थिईन । नेपाल राष्ट्रिय चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न प्रिमियरमा राईले नेपाली फिल्मको स्तर बृद्धि भैरहेको बताए, बिगतको तुलनामा प्राविधिक पक्षमा उत्कृष्टता दिने प्रयास भईरहे पनि कथानकरुपमा अझ मेहनत गर्नु पर्ने बताए । बाहिरी मुलुकको फिल्म प्रर्दशनमा सचेत भई उत्कृष्टतालाई मात्र मौका दिनु पर्ने उनी सुझाउँछन् । जुन पायो त्यो फिल्मको प्रर्दशन गर्दा पहिलो पटक नेपाली फिल्म हेर्ने दर्शकले नाक खुम्च्याउने उनको तर्क थियो ।
अधिकांश दर्शकले फिल्मले समेटेको कुमारीको कथालाई मन पराए । आफ्नो मैलिक कथालाई समावेश गरिएकाले नायिका सृष्टिलाई हङ्कङेली दर्शकहरुले खुलेरै प्रशंसा गरे ।
सृष्टिसँगै अनमोल केसी, गौरव पहारी, सलोन बस्नेत, मेनुका प्रधान, रितिक शाही, गौरी मल्ल लगायतका कलाकारहरुको अभिनय रहेको फिल्मलाई रोहित अधिकारीले निर्माण गरेका हुन् ।
फिल्मलाई ब्ल्याक पिग प्रडक्सन हङकङले प्रर्दशनको ब्यवस्था मिलाएको थियो । हङ्कङमा प्रर्दशित अन्य चलचित्र भन्दा गाजलुले दर्शकहरुको अत्यधिक माया पाएको प्रडक्सनका अध्यक्ष हरिहाङ् तिगेला बताउँछन् । बोर्ड अध्यक्ष राई तथा नायिका सुष्टिलाई ब्ल्याक पिग र नेपाली चलचित्र विकास बोर्ड हङ्कङका पदाधिकारीहरुले सम्मानपत्र तथा मायाको चिनो वितरण गरेका थिए ।