भारतको लद्दाखबाट बुद्ध जन्मस्थल लुम्बिनी दर्शन गर्न आएका २३ वर्षीय भिक्षु छेवाङ नोर्बुे निक्कै खुसी छन् । अपेक्षाभन्दा बढी शान्ति अनुभूति गर्न पाउँदा उनले मज्जाले सेल्फी लिए ।
मायादेवी मन्दिरमा पूजाआजासँगै सेल्फी लिन थालेका नोर्बुले धितमर्ने गरी सेल्फी खिचे । उनी जस्तै चिनियाँ भिक्षु सु चुङ्ग युङ पनि लुम्बिनीको वातावरणमा दिनभरि सेल्फीमा रमाए । उनले पनि रोमाञ्चित र उत्साहित हुँदै शान्तिको ऊर्जा प्राप्त गरे ।
युवा–युवती माझ लोकप्रिय सेल्फीले आजभोलि भिक्षुहरूलाई समेत आकर्षित गरेको छ । लुम्बिनी आउने प्राय: सबै भिक्षुसँग स्मार्टफोन हुन्छ । पवित्र लुम्बिनी वनको मनमोहक वातावरणमा ती भिक्षुहरू सेल्फी नलिई बस्न सक्दैनन् । तीर्थाटन गर्न आएका थाई भिक्षु फ्रमहा प्रमोट महाभिरियोले मनमोहक वातावरणले आफूलाई सेल्फी लिन बाध्य बनाएको बताए ।
आजभोलि लुम्बिनी आउने प्राय:सबै भिक्षु–भिक्षुणी तथा उपासक–उपासिकाहरू सेल्फी लिन्छन् । सेल्फीका लागि भिक्षु–भिक्षुणी करिब डेढ किलोमिटर लामो नहर, शान्तिदीप, मायादेवी मन्दिर एवं पुष्करणी पोखरीतर्फ आकर्षित हुन्छन् । उनीहरू मन्दिर परिसरमा दीप प्रज्वलन गर्दा, ध्यानमा बस्दा तथा परित्राण पाठ गर्दा पनि सेल्फी लिन्छन् ।
स्वदेशी–विदेशी भिक्षु–भिक्षुणीको सेल्फीले लुम्बिनीको पर्यटन प्रवद्र्धनमा समेत सघाउ पुर्याइरहेको लुम्बिनी विकास कोषका आध्यात्मिक सल्लाहकार भिक्षु मैत्री बताउँछन् । फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालमा अपलोड हुने यस्ता सेल्फीले लुम्बिनी नआएका भिक्षुहरूलाई समेत लुम्बिनी आउन प्रेरित गर्ने उनको तर्क छ ।