साप्ताहिक संवाददाता
दसौं संस्करणको सेप इन्डिया एजुकेसन फेयर भोली असार २२ र २३ गते अर्थात् बुधबार र बिहीबार सञ्चालन हुने भएको छ । वैदेशिक उच्च शिक्षा खासगरी इन्डियन एजुकेसनलाई प्रवद्र्धन गर्ने उद्देश्यले होटल अन्नपूर्ण दरबारमार्गमा चल्ने ‘दसौं एजुकेसन करियर फेयर–२०१६’ मा शैक्षिक गन्तव्यका रूपमा भारत कति उपयुक्त छ भन्ने विषयमा विद्यार्थीले यथार्थ जानकारी पाउने दाबी गरिएको छ । उच्च शिक्षाका लागि इन्डियन एजुकेसन र त्यहाँको सिस्टमका सम्बन्ध सम्पूर्ण जानकारी प्राप्त हुने आयोजक संस्था सेप इभेन्ट एन्ड मिडियाका प्रबन्ध निर्देशक सञ्जय थापाले बताए । यो मेला असार २५ र २६ गते विराटनगरस्थित होटल नमस्कार परिसरमा पनि आयोजित गरिनेछ ।
‘विद्यार्थीका लागि इन्डियन एजुकेसन सिस्टम र अध्ययनपछि त्यहाँ उपलब्ध अवसरका सम्बन्धमा जानकारी गराउन इन्डियन एजुकेसन करियर फेयरको आयोजना गरिएको हो ।’ प्रबन्ध निर्देशक थापा भन्छन्– ‘नेपाली विद्यार्थीले करियर बेस एजुकेसनका लागि उपयुक्त कलेज छनौट गर्न सकून् भन्ने हाम्रो उद्देश्य हो ।’ युरोप, अस्ट्रेलिया र अमेरिकापछि उच्च शिक्षाका लागि विदेश जानेहरूको गन्तव्य भारततर्फ सोझिएकाले पनि प्रभावकारी शैक्षिक मेलाको आवश्यकता महसुस गरेर हरेक वर्ष निरन्तर फेयर गर्दै आएको थापाले साप्ताहिकलाई बताए । मेलाको प्रभावकारिता देखेर नै पछिल्ला वर्षहरूमा विराटनगरमा समेत मेला विस्तार गरिएको थापाले जानकारी दिए ।
अहिलेको समयमा नेपाली विद्यार्थीका लागि इन्डियन एजुकेसन सबैभन्दा सुहाउँदो देखिएको छ, थापा भन्छन्– भारतका प्रतिष्ठित दुई दर्जन विश्वविद्यालयले स्टल राख्ने भएकाले यो सबैभन्दा भरपर्दो मेला हो । एउटै छातामुनि अभिभावक एवं विद्यार्थीहरू इन्डियन एजुकेसनको साङ्गो–पाङ्गो पक्ष बुझ्न सक्ने थापाको दाबी छ ।
भिसा आवश्यक नपर्ने छिमेकी मुलुक भारतको शिक्षा रोजगारमुखी भएकाले पनि इन्डियन एजुकेसन धेरैको आकर्षणमा पर्दै गएको छ । त्यसैले एसएलसी उत्तीर्णका साथै प्लस टु पूरा गरेका विद्यार्थीहरूलाई लक्षित गरेर मेला आयोजित गरिएको थापा बताउँछन् । हजारौं विद्यार्थी उच्च शिक्षाका लागि भारत पुग्नुको कारण भौगोलिक एवं सांस्कृतिक वातावरण मिल्दो हुनु पनि हो– थापाको तर्क छ ।
मिडिया स्टडिज, एयरक्राफ्ट इन्जिनियरिङ, मरिन इन्जिनियरिङ, एनिमेसन एन्ड गेमिङ, फिजियोथेरापीजस्ता विषय इन्डियन एजुकेसनमा धेरै विद्यार्थीको आकर्षणमा पर्ने विषय हुन् ।
म्यानेजमेन्ट फ्याकल्टीमा हस्पिटालिटी कोर्स होटल एन्ड ट्राभल म्यानेजमेन्ट, बिजनेस एडमिनेस्ट्रेसन, बैंकिङ एन्ड इन्स्युरेन्स, फिनान्स, बैंकिङ एन्ड इन्स्युरेन्स, इन्टेरियर डिजाइनिङ, रिटेल एन्ड टेलिकम म्यानेजमेन्ट, मार्केटिङ एन्ड सेल्स तथा मेडिकल एजुकेसनमा एमबीबीएस, नर्सिङ, फार्मेसी, मेडिकल इक्विपमेन्ट इन्जिनियरिङ, पब्लिक हेल्थ, फिजियोथेरापी जस्ता आकर्षक विषयका बारेमा विद्यार्थीले यो मेलाबाट जानकारी प्राप्त गर्ने छन् । यस्तै आइटी एजुकेसनमा कम्प्युटर इन्जिनियरिङ, ग्राफिक्स डिजाइनिङ, इन्फरमेसन टेक्नोलोजी इन्जिनियरिङ, कम्युनिकेसन इन्जिनियरिङ आदि विषयका बारेमा मेलामा जानकारी लिन सकिन्छ । त्यसबाहेक बायोटेक्नोलोजी, इन्भाइरोमेन्ट साइन्स, मिडिया स्टडिज, फेसन टेक्नोलोजी, सोसियल वर्क, आर्किटेक्चर इन्जिनियरिङ, कानुन जस्ता विषयमा उच्च शिक्षा हासिल गर्ने कुरामा मेला सहयोगी बन्न सक्छ ।
विश्वविद्यालय एवं कलेजका गरेर ५० भन्दा बढी स्टल मेलामा हुनेछन् । आयोजकहरूका अनुसार न्यूनतम २५ हजार विद्यार्थीले यो मेला अवलोकन गर्नेछन् । प्रबन्ध निर्देशक थापाका अनुसार भारत भन्नेबित्तिकै साउथ इन्डिया, दिल्ली तथा पुणेलाई सम्झिइन्छ, तर यो मेलामा दिल्लीदेखि साउथ इन्डियाका बैंगलोर, म्यांगलोर, चेन्नइ आन्ध्रप्रदेशका अतिरिक्त उत्तरप्रदेश, उडिसा, मध्यप्रदेश, हरियाणा, असम, पश्चिम बंगाल, सिक्किम तथा देहरादूनका शैक्षिक संस्थाहरूको समेत उपस्थिति भएकाले विद्यार्थीले छनौटको प्रशस्त अवसर पाउनेछन् ।
सेप इभेन्ट एन्ड मिडियाले आयोजना गर्ने यो मेला अन्य इन्डियन एजुकेसन फेयरभन्दा पृथक् छ । एब्रोड स्टडीका लागि एजुकेसन कन्सल्टेन्सीको सहायता लिएर वैदेशिक शिक्षामा पुग्ने नेपाली विद्यार्थीहरूले यो मेलामा आएर सीधै भारतिय विश्वविद्यालय एवं कलेजका प्रतिनिधिसँग भर्ना प्रक्रिया बुझ्न तथा आयोजनास्थलमै भर्ना हुन सक्छन् । ‘कुनै पनि नेपाली परामर्शदाताको सहयोग मेलामा आउने विद्यार्थीले लिनु पर्दैन,’ थापो भन्छन्– ‘ हामी एउटै थलोमा शैक्षिक संस्था एवं विद्यार्थीबीच अन्तक्र्रिया गर्ने वातावरण निर्माणका लागि माध्यम मात्र बनेका हौं ।’
के हो सेप एजुकेसन फेयर ?
सेप अग्रणी शैक्षिक प्रवद्र्धन संस्था तथा उत्कृष्ट इभेन्ट म्यानेजमेन्ट कम्पनीका रूपमा परिचित छ । पछिल्ला १२ वर्षको अनुभवले प्रस्ट पार्छ, सेपले भारतका विभिन्न सहर तथा दक्षिण एसियाली मुलुकहरूमा आयोजना गर्दै आएको शैक्षिक मेलाले विद्यार्थीलाई आफ्नो बाटो पहिल्याउन मद्दत गरेको छ । सेप एजुकेसन फेयर विभिन्न मुलुकका १८ सहरमा नियमित रूपमा आयोजना हँुदै आएको छ । हालसम्म १ सय ५० वटा मेलासम्पन्न गरिसकेको यो संस्थाले भविष्यमा यसलाई थप विस्तार गर्दै लाने बताएको छ । सेप एजुकेसन फेयर भारतिय शिक्षाको प्रवद्र्धनका निम्ति भारतीय मेला मात्र नभै दक्षिण एसियाअन्तर्गतका अन्य मुलुकका राम्रा शैक्षिक कार्यक्रम प्रवद्र्धनमा पनि केन्द्रित छ । यो संस्था भुटान, नेपाल, बंगलादेश, म्यानमार, इन्डोनेसिया, भियतनाम, कम्बोडिया आदि मुलुकमा पहिलो पटक भारतीय एजुकेसन फेयर गर्ने आयोजकका रूपमा परिचित छ । गत वर्ष नेपालमा आयोजित मेलामै २० हजार नेपाली विद्यार्थी विभिन्न भारतिय विश्वविद्यालय तथा कलेजमा भर्ना भएका थिए ।
भारतको शैक्षिक प्रमाणपत्रलाई विश्वले राम्रो मान्छ
सञ्जय थापा
प्रबन्ध निर्देशक, सेप इभेन्ट मिडिया
भारत जाने विद्यार्थी एवं अभिभावकले ध्यान दिनुपर्ने कुरा के हुन् ?
उच्च शिक्षाका लागि भारत जान सजिलो छ । उच्च शिक्षामा राम्रा विषयमा अध्ययन गराउने मोहका कारण अभिभावक आफ्ना सन्तानलाई इन्डिया पठाउन सहज मान्छन् । विद्यार्थी पनि नेपालजस्तै भाषा, संस्कृति र परम्परा भएको भारत जान रुचाउँछन् । वास्तवमा भारतको शैक्षिक स्तर राम्रो र विश्व बजारमा विक्न सक्ने भएकाले उसको शैक्षिक बजार फराकिलो हुँदै गएको छ, तर इन्डियन एजुकेसनका केही नकारात्मक पक्ष पनि छन् । नेपाली अभिभावक यहाँको शैक्षिक वातावरणमा ६० प्रतिशत परिणाम मात्र हासिल भएको मानेर ९० प्रतिशत परिणाम खोज्न छोराछोरीलाई इन्डिया पठाउँछन् तर उल्टो परिणाम २० प्रतिशत पनि नआउने स्थिति छ । कुसंगत र कुलतका कारण नेपाली विद्यार्थीहरू अध्ययनमा मन नलगाउने तथा अराजक बन्ने ट्रेन्ड उत्तिकै डरलाग्दो ढंगले बढ्दैछ । कलेज, युनिभर्सिटी तथा उनीहरू बस्ने होस्टलमा सम्पर्क राखेर अभिभावकले आफ्ना सन्तानका बारेमा बुझ्नुपर्छ । आफ्ना सन्तानको कुरामा मात्र विश्वास नगरी अरूसँग छोराछोरीका बारेमा नियमित जानकारी लिनु जरुरी छ ।
एजुकेसनका लागि इन्डिया नै किन ?
पहिलो कुरा विश्वव्यापीकरणसँगै शिक्षा आर्जन गर्ने कुरा पेसासँग सम्बन्धित भएको छ । भिसाको झन्झटिलो प्रक्रियासँगै युरोप, अस्ट्रेलिया वा अमेरिका पुगेकाहरू बाँच्नका लागि काम गर्दै पढ्नुपर्ने बाध्यतामा हुन्छन् तर भारत र हाम्रो जीवनशैली लगभग समान छ, तीव्र विकासका कारण भारतमा रोजगारीको अवसर पनि बढेको छ । राम्रो अध्ययन गर्ने विद्यार्थीले बिनाभेदभाव अवसर पाएका छन् । थुप्रै नयाँ पाठ्यक्रम एवं अपडेटेड पुराना पाठ्यक्रममा विद्यार्थीले अध्ययन गर्न पाउँछन् । भारतको शैक्षिक प्रमाणपत्रलाई विश्वले राम्रो मान्न थालिसकेको छ ।
यो मेला अरूभन्दा के कुरामा पृथक् छ ?
हामीले भारतको तीव्र विकाससँगै रोजगारीको प्रशस्त सम्भावना देखेर उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूका लागि राम्रो सम्भावना छ भनेर बाटो देखाएका मात्र हौं, इन्डियन एजुकेसनका सम्बन्धमा बुझ्न पुतलीसडक क्षेत्रका कन्सल्टेन्सीमा बुझे पनि हुन्छ, तर विद्यार्थीले अनावश्यक शुल्क नतिरी इन्डियन एजुकेसनको बाटो रोज्न सकून् भनेर हामीले यो मेलाको आयोजना गरेका हौं । अर्को मुख्य कुरा जुलाईभित्र भारतका राम्रा शैक्षिक संस्थामा नेपाली विद्यार्थीले भर्ना पाउने भएकाले पनि यही समय पारेर हामीले मेलाको आयोजना गर्दै आएका छौं ।