साप्ताहिक संवाददाता
सुनिल थापा, अभिनेता
बलिउडमा जम्ने क्रममा फेरि यहाँ किन एकेडेमी ?
बलिउडका चलचित्रमा काम गरे पनि मन त मेरो नेपाली हो । यहाँ चलचित्र बिषयको अध्ययन गराउने एकेडेमीको आवश्यकता मलाई धेरै पहिलेदेखि महसुस भएकाले यसपटक साथीहरूको साथमा एभरेष्ट एकेडेमी सुरु गरियो ।
आफैं अध्यक्ष हुनुहुँदो रहेछ, समय दिन कत्तिको भ्याउनुहुन्छ ?
जिम्मेवारी लिइसकेपछि भ्याउनैपर्यो । पहिलो प्राथमिकतामा राखेको छु ।
तपाईं नेपालको कि भारतको अभिनेता ?
शतप्रतिशत नेपालको । म आफूलाई बलिउडमा अभिनय गरिरहेको एक नेपाली अभिनेता भन्न रुचाउँछु ।
अहिलेचाहिँ बढी बलिउडको, हैन त ?
म काम परेको बेलामा मात्र उता जाने हो । फुर्सदमा यतै हुन्छु ।
२८ वर्षअघि नै बलिउडमा ‘एक दुजे के लिए’, ‘मशाल’, ‘आजकी आवाज’, ‘मानव हत्या’ जस्ता चलचित्रमा काम गरेर लगभग उतै स्थापित भैसकेको अभिनेतालाई नेपालमा कसले बोलायो ?
म फुपाजुको बरखीका लागि आएको थिएँ । ‘अन्याय’को मुहूर्त सट दिइयो, तर म पाकिस्तानी चलचित्रमा काम गर्न एकहप्ताका लागि पाकिस्तान गएका बेला म त ‘आउट’ भैसकेछु । त्यसपछि दीपक आलोकको निर्देशनमा मैले चलचित्र ‘सम्बन्ध’मा काम गरेँ ।
फर्किएपछिको पहिलो चलचित्र त ‘चिनो’ होइन र ?
‘चिनो’ले चिनायो, तर धेरैले याद नगरेको कुरा मैले त्योभन्दा अघि ‘सम्बन्ध’ र ‘संजोग’मा खलनायक भएर काम गरिसकेको थिएँ ।
‘राते काइँला’ नामबाट कहिलेसम्म चर्चा पाइरहने ?
‘चिनो’को त्यो खतरनाक पात्र दर्शकले जहिलेसम्म बिर्संदैनन् ।
‘मेरी कोम’पछि त्यतिको राम्रो अवसर पाउनु भएन होइन् ?
‘मेरी कोम’ पछि बलिउडमा मेरो पुनरागमन रामैसँग भएको छ । भर्खरै छायांकन सकिएको ‘खमियाजा’मा खतरनाक नेगेटिभ भूमिकामा आउँदैछु । नायिका डेजी शाहसंग ‘गो टु हेल’ मा काम गर्दैछु भने भोजपुरी चलचित्र ‘सरकार राज’मा केन्द्रीय भूमिकामा छु । चर्चित वेबकम एट्टिन ब्यानरमा बनेको बेव सिरिज ‘चाइनिज बसर्ड’ को काम सकेको छु । अब उता गएर ‘स्याटरडे नाइट फिवर’मा काम गर्दै छु ।
निकै कमाउनु भयो होला हैन ?
पैसाभन्दा पनि मैले मलामी कमाएको छु ।
बलिउडका पछिल्ला मिल्ने साथी ?
निर्देशक उमंग कुमार, नायिका प्रियंका चोपडा, निर्देशक तथा निर्माता सञ्जयलिला भन्साली, निर्माता सन्दिपसिंह, धेरै पो छन् त ।
सबैभन्दा खुसी लागेको क्षण ?
अमेरिकामा सम्पन्न फोग एवार्डमा ‘लाइफ टाइम एचिभ्मेन्ट’ एवार्डबाट सम्मानित हुँदा ।
जीवनमा गुमाएको एउटा ठुलो अवसर ?
‘चिनो’पछि यतै व्यस्त भएँ । एकताका यति व्यस्त भएँ कि दिनमा चारदेखि पाँचवटा चलचित्रको छायांकन भ्याउँथे । त्यही बेला बलिउडको चर्चित अधिकारी ब्रदर्शले जिटिभीका लागि बनाउन लागेको श्रृंखला ‘कमान्डर’को केन्द्रीय पात्रका लागि अफर आयो । म जान सकिनँ ।
मन परेकी एउटी नेपाली नायिका ?
मेनुका प्रधान, म उनलाई नेपालकी स्मिता पाटिल भन्न चाहन्छु ।