सिक्किमको रंगेली छुजाचेन गाउँकी मञ्जु क्षेत्री (नानु) अनायसै टेलिश्रृंखला ‘मेरी बास्सै’की कलाकार भएकी हुन् । दुई वर्षअघि उनको गाउँमा ‘मेरी बास्सै’को छायांकन टोली सिक्किमको जैविक खेतीसम्बन्धी अध्ययन र छायांकन गर्न पुगेको थियो । रमणीय दृश्य एवं जैविक खेतीसम्बन्धी पाँच भाग छायांकन गरिएको ‘मेरी बास्सै’मा सिक्किमका कलाकारहरूलाई पनि अवसर प्रदान गरिएको थियो । त्यहीबेला मञ्जु क्षेत्री (नानु)ले पनि ‘मेरी बास्सै’मा अभिनय गर्ने मौका पाएकी थिइन् । वास्तवमा ‘मेरी बास्सै’मा अभिनय गर्नु उनको अभिनय यात्राको पहिलो खुड्किलो थियो । ‘मेरी बास्सै’को चर्चित पात्र बान्द्रेकी प्रेमिकाका रूपमा उनले गरेको अभिनय निकै रुचाइएको पनि थियो । तिनै मञ्जु क्षेत्री (नानु) सँग साप्ताहिकले गरेको तीन प्रश्न :
अभिनयमा कसरी आउनुभयो ?
‘मेरी बास्सै’ नै अभिनयको मेरो पहिलो खुड्किलो बन्यो । सन् २०१४ मा सिक्किमको जैविक खेतीसम्बन्धी अध्ययन र छायांकन गर्न मेरी बास्सै टिम आएको थियो । सिक्किमको रमणीय दृश्य र जैविक खेतीसम्बन्धी पाँच भाग छायांकन गरिएको मेरी बास्सैमा सिक्किमका कलाकारहरूलाई पनि अवसर प्रदान गरिएको थियो । मैले पनि त्यसमा अभिनय गरेकी थिएँ, त्यही बेलादेखि म अभिनय क्षेत्रमा सक्रिय छु ।
अहिलेसम्म कुन–कुन सिरियल तथा चलचित्रमा अभिनय गर्नुभएको छ ?
‘मेरी बास्सै’ बाहेक ‘ड्याड’ शीर्षकको हिन्दी चलचित्रमा प्रहरी अधिकृतको भूमिका निर्वाह गरेकी छु, त्यसबाहेक दूरदर्शनबाट प्रसारण हुने केही टेलिश्रृंखला तथा विभिन्न विज्ञापनमा देखा परेकी छु ।
हास्यविधा नै किन रोज्नुभयो ?
म आफूलाई हास्य मात्र होइन, जुनसुकै विधामा प्रमाणित गर्न सक्छु । अभिनयप्रतिको लगाव र ‘मेरी बास्सै’ मा गरेको अभिनयबाट पाएको दर्शकहरूको सकारात्मक प्रतिक्रियाले पनि मलाई उत्साहित बनाएको छ । अझ ‘खड्का जी’ की श्रीमती भएर सानोपर्दामा आएपछि मेरा अरू कतिपय कामलाई त्यो भूमिकाले ओझेलमा पारेको छ ।