मैले जिन्दगीमा चोट मात्र भोग्नुपर्यो, किन होला ?
विवेक स्याङ्बो
चोटले नै मानिसलाई सफल बनाउँदै लान्छ, हरेस खानु हुँदैन । त्यस्ता चोटलाई चट पार्दै अघि बढ्नुपर्छ । कुनै पनि काम गर्दा सोचेर–विचार गरेर मात्र गर्नु होला ।
कति आफ्ना लागि मात्र पैसा कमाउनुहुन्छ ? भूकम्पपीडितहरूका लागि के गर्नुभयो ?
सुजन सी अर्याल
मैले सक्ने जति गरेँ हजुर र गर्दै पनि छु । पैसा आफ्नै लागी कमाउने हो, कसैले पनि अरूका लागि कमाइदिँदैन । मेरा लागि सबै भूकम्पपीडित एक हुन्, दुई–चार जनालाई मात्र खुसी पारेर नाम कमाउनु छैन । सबैलाई राज्यले सम्बोधन गर्नुपर्छ भन्ने मेरो मान्यता छ ।
अहिले देशको पुनर्निर्माणमा सबैले कम्मर कस्नुपर्ने अवस्था छ । तपाईंचाहिँ किन हँसाउँदै हिँड्नुभएको छ ?
विवेक सुवेदी
हँसाउनु मेरो काम हो, मेरो पेसा हो । म आफ्नो पेसामा इमान्दार छु । पुनर्निर्माण भन्ने कुरा हामीले मात्र सक्ने कुरा होइन, यो सरकारले नै गर्नुपर्छ । सरकारले चाँडोभन्दा चाँडो काम अघि बढाउनुपर्छ । हामी कलाकारले त यस्तो हुनु पर्छ भनेर सन्देश दिने हो र हामीले दिइरहेका पनि छौं ।
वडा नम्बर ६ मा तपाईंको अभिनय राम्रो लाग्यो । जिरे खुर्सानी किन बन्द गर्नुभएको ?
भरत खनाल
धन्यवाद । अब ‘छक्का–पञ्जा’ पनि हेरेर प्रतिक्रिया दिनुहोला । जिरे–खुर्सानीलाई मलजल गर्ने मान्छे भएनन् । आफूले नचाहँदा–नचाहँदै बन्द गर्नुपर्यो, यो कुराले म दु:खी छु ।