साप्ताहिक संवाददाता
राजेश लामा, गायक
‘नक्कली नानी...’ गीत लोकप्रिय भएको हो ?
म सांगीतिक क्षेत्रमा नयाँ भए पनि रेडियो, टेलिभिजन, अनलाइन तथा छापा माध्यमबाट यो गीतलाई जसरी मूल्यांकन गरियो, यूट्युबमा जसरी यसलाई झन्डै चार लाख पटक हेरिएको छ, त्यसलाई आधार मान्ने हो भने यो गीत लोकप्रिय भएकै हो ।
यो गीत कुन शैलीमा आधारित छ ?
यसका शब्दहरू मौलिक छन् । संगीत संयोजन तथा धुनका आधारमा यसलाई लोकभाकामा आधारित आधुनिक गीत भन्न सकिन्छ । समग्रमा मैले यसलाई नेपालीपन भएको गीत भनेको छु ।
यो गीतको कुन पक्ष बढी रुचाइएको छ ?
सबैभन्दा रुचाइएको पक्ष नै यमन सुवेदीको शब्द तथा कल्याण सिंहको संगीत हो । गीतमा सबैको मुखमा सजिलै झुन्डिने खालको ठेट नेपाली शब्द प्रयोग गरिएको छ । संगीत पनि उत्तिकै मेलोडियस बनेको छ । सबैले गुनगुनाएको देख्दाचाहिं शब्द तथा संगीत बढि रुचाइएको निष्कर्ष निकालेको छु ।
कुन उमेरका स्रोताले यो गीत मन पराएका छन् ?
प्राय: सबै उमेरका श्रोताले गीत मन पराउनुभएको छ । तुलनात्मक रूपमा हेर्दा युवापुस्ताले बढी मन पराएको छ ।
सांगीतिक पक्ष कस्तो बनेको छ ?
यो सुन्न सजिलो लागे पनि गाउन धेरै मेहनत गरिएको गीत हो । अन्तराको धुन प्राविधिक रूपले अलि गाह्रो छ तर धुनको सबैभन्दा राम्रो पक्ष यसको फ्लो तथा मेलाडी नै हो । व्यवसायिक गीतमा मेलोडी भएन भने त्यो आइटम गीत जस्तो हुन्छ तर यो गीतमा मेलोडीले लिड गरेको छ । त्यसैले यसको सांगीतिक पक्ष उत्कृष्ट छ ।
म्युजिक भिडियोको प्रतिक्रिया कस्तो छ ?
हामीले अडियोमा भन्दा भिडियोमा बढी मेहनत गरेका थियौं । भिडियोलाई हामीले रमाइलो तथा जोली मुडको बनाउने प्रयास गरेका छौं । बी–बोइङ क्रिउ तथा नृत्यांगना माला लिम्बूको नृत्यले यो भिडियोलाई आकर्षक बनाएको छ । निर्देशक निकेश खड्काले कथाबिनाको भिडियोलाई पनि दर्शनीय बनाउनुभएको छ ।