साप्ताहिक संवाददाता
पहिलो दिन कलेजको गेटबाट भित्र छिर्दा फिल भयो, अब स्वतन्त्र भइयो । लाग्यो, जिन्दगी अब मेरो आफ्नै हातमा छ ।
सुगम पोखरेल, गायक
कलेजको पहिले दिन आरएक्स १०० बाइक लिएर टेकुबाट कुपन्डोल जाँदै थिएँ । सिमसिम पानी परिरहेको थियो । कलेजनजिकै एउटा कारले पानी छ्यापिदियो । पहिलो दिन नै मेरो सेतो सर्टभरि हिलो लागेपछि कलेजको गेट नजिकै पुगेर पनि फेरि कोठा फर्किएँ अनि सर्ट फेरेर फेरि कलेज पुगेँ ।
प्रमोद अग्रहरी, अभिनेता
खै सम्झना भएन ।
प्रल्हाद बोगटी, संगीतकार
स्कुल पढ्दा लाग्थ्यो कि कलेज गएपछि ‘वाउ’ टाइपका ‘गुड लुकिङ’ केटीहरूसँग रोमान्स, ठट्टा र रमाइलो गर्न पाइन्छ, तर पहिलो दिन नै सिलेबल्स लिएपछि थाहा भयो, कलेजमा त स्कुलमा भन्दा बढी पढ्नुपर्ने रहेछ । सपनाहरू चकनाचुर भए ।
कैलाश अर्याल, सेफ
पहिलो दिन राम्रा–राम्रा केटीहरू देखेर अब मेरो पढाइ गोलखाँडी होला जस्तो पो लाग्यो ।
निश्चल बस्नेत, निर्देशक
स्कुलमा पढ्दा केटाहरू एकतर्फको बेन्चमा र केटीहरू अर्कातर्फको बेन्चमा बस्ने सिस्टम थियो । केटीसँग कहिल्यै सँगै बसिएकै थिएन । रत्नराज्य कलेजको पहिलो दिन कक्षामा विद्यार्थी एकदमै धेरै भएकाले बस्ने सिट पनि नपुग्ने, त्यसमाथि एउटी केटी मेरो छेउमा ‘एक्सक्युज मी’ भन्दै सँगै टाँसिइहाली, म अब के गरौं, के नगरौं भएँ । त्यो क्लासमा सरले के पढाएर निस्किए, मलाई त्यताभन्दा केटीसँग पहिलो बसाइको टेन्सनले सताइरह्यो ।
परशुराम रिजाल, गायक/संगीत व्यवसायी
कलेजको पहिलो दिन म एकदमै नर्भस थिएँ । धरानबाट एकैचोटि काठमाडौंको पिपुल्स क्याम्पस ज्वाइन गर्दा पहिलो दिन चलचित्रमा देखाइएझैं केही होला कि भन्ने डर लागिरह्यो । चलचित्रमा जसरी कुनै हिरो टाइपको केटासँग ठोक्किएला कि भन्ने लागिरह्यो ।
कला सुब्बा, रेडियोकर्मी
१० वर्षपछि फुत्किएको गोरुजस्तै गमक्क गम्केर दुई पाना कापी पाइन्टको पछाडि गोजीमा हालेर क्लास छिरेको, एकाउन्ट टिचरको चट्कन मेरो गालामा परिहाल्यो । दुई मिनेटमै केटो त क्लासबाहिर, अहिले सम्भँदा लाज लाग्छ ।
हरि कर्माचार्य, गायक/ग्लुमीगाइज
पहिलो दिन, मेरो कलेज युनिफर्म तयार भएकै थिएन । त्यसैले मन पर्ने लुगा लगाएर कलेज गएकी थिएँ । आँखामा आई लाइनर, उप्स् कत्ति राम्री देखिएकी थिएँ म ? स्कुलमा क्याजुअल वेयर लाउन र मेकअप गर्न पाइन्नथ्यो । कलेजमा त मस्ती भैहाल्यो नि ।
नम्रता सापकोटा, नायिका
कलेजको पहिलो दिन एक्साइटेड, नयाँ साथीहरू बनाउने उग्र चाहना । टिनएजर युवतीको फिलिङ्स । जीवनको नयाँ यात्रा आरम्भ भएको थियो । अहिले सम्झँदा मन फेरि चंगा हुन्छ ।
पल्पसा डंगोल ‘चम्सुरी’, अभिनेत्री
पहिलो दिन मात्र होइन, कलेज गएदेखि हरेक दिन कक्षामा कम, तर छेउको क्याफेमा चियाको चुस्कीसँगै चुरोटको सर्को लिएर साथीहरूसँग बढी गफ हानिन्थ्यो । साह्रै रमाइला थिए ती दिनहरू ।
नमित चन्द, निर्देशक
कलेजको पहिलो दिन मेरा लागि अविस्मरणीय छ । म अल्झेर भर्याङबाट गुल्टिएकी थिएँ ।
प्रेस्का उदास, भिजे
गाउँको स्कुलबाट एसएलसी पास गरेर काठमाडौंको कलेज पढ्न आएको, स्कुलको भारी ‘ब्याग प्याक’बाट मुक्त भएर प्यान्टको पछाडि एउटा पातलो कपी र कलम बोकेर कलेज छिरेको त्यो पहिलो दिन । प्रोफेसर, लेक्चरर अनि साथीहरूसँग परिचय गर्दा आफूलाई खुब स्मार्ट र हिरो सम्झिएको थिएँ । त्यो बेला सम्झँदा अहिले पनि १६ वर्षमा फर्केर फेरि कलेज जान मन लाग्छ ।
नवराज श्रेष्ठ, अभिनेता
ललितकला पढ्न गोरखाबाट काठमाडौं आएको ललितकला क्याम्पस भनेर प्याट–प्याट चप्पल बजाउँदै सरस्वती क्याम्पस पो छिरेछु ।
मन गुरुङ, कलाकार
एसएलसी उत्तीर्ण भएकोमा म यति एक्साइटेड थिएँ कि धरानमा कलेज इन्ट्रान्स नै छुट्यो । अस्कलमा भर्ना नै हुन पाइएन । १५ दिनपछि पाटन संयुक्त क्याम्पसमा भर्ना भएँ । पहिलो दिन खुसुक्क तेस्रो लहरको सिटमा बसियो । सबै नौला, सहदेव नाम गरेको केटालाई साथी बनाइयो । एउटी ठूलो आँखा गरेकी केटीले खुब चिनेझैं गरी हेरी, तर भोलिपल्टदेखि ती केटीलाई कलेजमा कहिल्यै देखिनँ ।
प्रमोद खरेल, गायक
स्कुल पढ्दादेखि नै म नेपाल टेलिभिजनको कार्यक्रम सञ्चालिका भएकीले मेरा केही सहपाठीहरू मलाई भेट्न उत्साहित भएको पाएँ । म भने नयाँ वातावरण, नयाँ साथीहरू अनि जिन्दगीको नयाँ ढोका खोलेर अझै अघि बढ्न उत्साहित थिएँ ।
रीमा विश्वकर्मा, नायिका