साप्ताहिक संवाददाता
सरकारले सबै सवारी साधनमा मेसिनले पढ्न सक्ने ‘इम्बोस्ड नम्बर प्लेट’ राख्ने तयारी गरेको छ । हाल हस्तलिखित नम्बर प्लेट प्रयोगमा रहेको र त्यसलाई प्राविधिक रूपमा चेकजाँच गर्ने कुनै व्यवस्था नभएको हुँदा विभिन्न प्रकारका समस्या देखा परेको पाइन्छ । इम्बोस्ड नम्बर प्लेट लागू भएपछि सवारी साधनलाई व्यवस्थित गर्न मात्र होइन, सुरक्षित राख्न पनि सहयोग मिल्नेछ ।
यस्तो इम्बोस्ड नम्बर प्लेट आगामी तीन महिनाभित्रै परीक्षणमा आउने बताइएको छ । यातायात व्यवस्था विभागका प्रवक्ता वसन्त अधिकारीका अनुसार आगामी ५ वर्षभित्र देशभरका सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राखिनेछ ।
के हो इम्बोस्ड नम्बर प्लेट ?
सवारी साधनमा नम्बर लेख्न प्रयोग गरिएको धातुको प्लेटमा अक्षर बाहिर उठ्ने गरी लेखिएको नम्बर प्लेटलाई इम्बोस्ड नम्बर प्लेट भनिन्छ । उक्त प्लेटमा लोगोसमेत हुनेछ । प्लेटको बीचमा माथि पर्ने गरी अञ्चलको नाम लेखिनेछ । प्लेटको अर्को कुनातर्फ लेजर प्रिन्टबाट ७ अंकको गोप्य नम्बरसहितको चिप जडान गरिनेछ ।
इम्बोस्ड नम्बर प्लेटका विशेषता
यो नम्बर प्लेटको बाहिरी भागमा सवारीको नम्बर उल्लेख गरिन्छ, जसलाई सबैले सहजै देख्न सक्नेछन् । प्लेटमा लेखिएका अक्षरहरू बाहिर देखिने गरी उठेका हुनेछन् । यो बलियो र किफायती हुनेछ ।
इम्बोस्ड नम्बर प्लेट जडान भएका सवारीमा विभागले एउटा चिपसहितको स्टिकर टाँस्नेछ । उक्त स्टिकरमार्फत सवारीको विस्तृत विवरण उपलब्ध हुनेछ । यो नम्बर प्लेटमा राखिने प्रविधियुक्त चिपभित्र पनि सवारी धनी तथा सवारीको विभिन्न विवरण हुन्छ, जसका आधारमा प्रहरीले सवारीका सम्बन्धमा विस्तृत जानकारी लिन सक्नेछ । प्लेटको ठीक पछाडि बारकोड पनि हुनेछ ।
नम्बर प्लेटमा रेडियो फ्रिक्वेन्सी इन्फर्मेसन डिभाइस अर्थात् आईएफआईडी जडान गरिएको हुनेछ । उपत्यका भित्रिने पाँच स्थान तथा उपत्यकाबाहिर समेत यस्ता आईएफआईडी स्टेसन राख्ने सरकारको योजना छ । यो डिभाइसका आधारमा ती स्टेसनबाट सवारी साधन कुन स्थान र कुन अवस्थामा छ भन्ने कुरा पनि थाहा पाउन सकिनेछ । राजस्व तिरेको छ कि छैन र चोरी भएको छ भने कुन स्थानमा छ भन्ने कुरा पनि तत्काल थाहा पाउन सकिनेछ । अहिले नेपालका सवारीमा १४ किसिमका नम्बर प्लेट छन् । अब ५ किसिमका मात्र नम्बर प्लेट रहने गरी यो प्रणाली लागू गरिनेछ ।
सूचनामूलक र उच्च सुरक्षायुक्त इम्बोस्ड नम्बर प्लेट सवारीको अगाडि र पछाडि दुवैतर्फ राखिनेछ । जसभित्र सवारी र सवारी धनीका सबै विवरण हुनेछ, यसलाई प्रहरीसँग हुने हाते मेसिन तथा विभिन्न स्थानमा राखिने ठूला मेसिनले पढ्न सक्नेछन् ।