कृषिमन्त्रीले गमलामा रोपाइँ गरेपछि तातेका ‘प्रतिक्रियावादीहरू’ अझै सेलाएका छैनन् । प्रसंगले अर्को अर्थ नलागेमा, यहाँ ‘प्रतिक्रियावादी’ शब्दको सम्बन्ध राजनीतिमा गालीका रूपमा प्रयोग गरिने ‘प्रतिक्रियावादी’ शब्दसँग छैन । गजुरियल विश्लेषणअनुसार, कुनै क्रियामाथि प्रतिक्रिया जनाउनु नै प्रतिक्रियावाद हो । हामी सबै सचेत नागरिक प्रतिक्रियावादी हौं र अरूको क्रियामाथि हाम्रो प्रतिक्रिया भैरह्यो भने मात्र सही निचोड निस्किन्छ भन्ने गजुरियल ठम्याइ छ ।
हो, ‘गमलामा रोपाइँ’ यो वर्षका अविस्मरणीय घटनाहरूमा पर्ने गजुरियल ठोकुवा छ । यस विषयमा आज लेखे पनि पुरानो हुँदैन । आघौं बोले पनि थोत्रो लाग्दैन । महाकाव्य, थेसिस, उपन्यास जे सिर्जना गरे पनि यो विषयले केही वर्ष मार्केट लिने पक्का छ ।
‘गमलामा रोपाइँ’ सम्भवत: संसारमै पहिलो पटक गरिएकाले होला, यसमा आएका प्रतिक्रियाहरू पनि कम रमाइला थिएनन् । कसैले लेखेर प्रतिक्रिया दिए, कसैले बोलेर धारणा राखे, कसैले मनमनै विचार बनाए । लिखित, मौखिक, सांकेतिक रूपमा आएका प्रतिक्रिया त हामीले पढी, सुनी र हेरिसकेका छौं । तर, जोसँग आफ्नो विचार दिने माध्यम थिएन, तिनीहरूका प्रतिक्रिया हामीले थाहा पाएका थिएनौं । त्यसैले आज ‘गजुरियल मनोमिटर’ को सहाराले यहाँ ती अव्यक्त विचारहरूलाई उल्लेख गरिंदैछ ।
मानिसको मनमा उठेका लाखौं प्रतिक्रियामध्ये केही यस्ता थिए : १. ‘गजुरेलको गमला र धमलाको हमला उस्तै–उस्तै हुन् ।’ २. ‘गाई, गमला, गजुरेल— तीनैवटा ‘ग’ को संयोग गज्जब छ ।’ ३. ‘गमलामा धान, डोको पानी, कहाँबाट ल्यायौ गजुरेल्नी नानी ?’ ४. ‘गमलामा धान फल्छ भने डोकोमा दूध किन अडिँदैन ?’ ५.‘साली कमला, धान रोप्नुपर्यो अब ल्याउ गमला ।’ ५. ‘पार्टीको ह्विप भएपछि गमलाले पनि धान दिनुपर्छ ।’ ६. ‘धान दिने गमला, चोट पाउने कमला ।’ आदि–इत्यादि ।
‘गमला काण्ड’ लाई जतिसुकै हल्का रूपमा लिए पनि यसको सार पक्ष त्यति हल्का लिनुपर्ने खालको पटक्कै छैन । तपाईं–हामीलाई थाहा छ, नयाँ आइडिया निकाल्न सजिलो छैन । भन्नैपर्छ, गमलामा धान रोप्ने आइडिया साना दिमागले आज्र्याको पटक्कै होइन । यो आइडिया निकाल्न आयोजकहरूको कति धेरै मिटिङ बस्यो होला । कति लामो छलफल–बहस भयो होला । पसिना निस्कियो होला । आइडिया निस्किएपछि भोज भयो होला । पानीमा भिज्नु पनि नपर्ने, हिलोमा गाडिनु पनि नपर्ने, पोहोरका कृषिमन्त्रीको जस्तो विवादको सामना पनि गर्नु नपर्ने, रमाइलो तरिका पनि हुने, मिडिया कभरेज पनि गज्जबले हुने मानेर ‘गमला रोपाइँ’ को कन्सेप्ट आएको हुनुपर्छ ।
तर, यहाँ कुरोलाई कुलोजस्तो बटार्नेहरूको कमी छैन । कसैले ‘खेतमा जान अल्छी मान्ने मन्त्री’ भने । कसैले ‘कृषिलाई ठट्टा मान्ने सरकार’ को आरोप लगाए । ‘गमलामा धान रोपेर कृषि क्रान्ति’ भन्दै उडाए । ‘गमलामाथि माओवादी आक्रोश, ‘गमले मन्त्रीको अमले आइडिया’, ‘गमलामा धान फलाएर चीनमा सप्लाई गर्ने’जस्ता प्रतिक्रियाहरूको ओइरो लाग्यो । तीमध्ये कुनै अर्थपूर्ण, कुनै तर्कपूर्ण कुनै व्यर्थपूर्ण थिए ।
हामीलाई थाहा छ, राजधानीका अधिकांश धानखेत प्लटिङ भैसके । सदरमुकाम वरिपरिका उर्वरभूमि खडेरी बनिसके । सडकछेउका कुनै जग्गा खाली छैनन् । कुनै भू–माफियाको कब्जामा छन्, कुनै कंक्रिटको जंगल बन्दैछन् । बाँकी रहेका जमिन पनि बाँझै छन् । हामी अल्छी भयौं, खेत गर्ने जाँगर छैन । सरकार पनि कृषिलाई आधुनिक बनाउनुभन्दा पनि कृषकलाई वैदेशिक रोजगारीमा पठाउने योजनालाई प्राथमिकता दिन्छ ।
यस्तो अवस्थामा ‘गमला रोपाइँ’ले निकट भविष्यको दर्दनाक दृश्यको संकेत गर्छ । हामीले कामलाई भन्दा कुरालाई प्राथमिकतामा राख्यौं भने, स्वदेशी श्रमलाई भन्दा विदेशी भ्रमलाई बोकिरह्यौं भने, भोलिलाई भन्दा आजलाई प्राथमिकतामा पार्यौं भने हाम्रा सन्ततिले एक दिन गमला त के धान रोपाइँ चलचित्रमा मात्र देख्न पाउनेछन् भन्ने गजुरियल अनुमान छ ।