बलिउड अभिनेत्री परिणिती चोपडा तथा उनका ब्वाइफ्रेन्ड निर्देशक मनिष शर्माबीचको सम्बन्ध ब्रेकअपपश्चात् पुन: प्याचअपमा परिणत भएको छ । मिडियामा आएका समाचारअनुसार केही समयअघि उनीहरूबीच ब्रेकअप भएको थियो । अहिले फेरि उनीहरू नयाँ प्रेमी–प्रेमिकाझैं डेटमा रमाउन थालेको बताइन्छ ।
पछिल्लो चार वर्षदेखि रिलेसनसिपमा रहेका चोपडा र शर्मा जीवनसाथीझैं लाग्न थालिसकेका थिए । परिणिती मनीषको क्याबिनमा धेरै पटक देखिएकी थिइन् । सूत्रका अनुसार यी दुईले हालै यशराज फिल्म्ससँग एकसाथ एउटा प्रोजेक्ट पनि साइन गरेका छन्, चलचित्र ‘मेरी प्यारी बिन्दु’ । यो चलचित्रमा परिणितीका को–एक्टर आयुश्मान खुराना छन् । यो चलचित्रलाई अक्षय रायले निर्देशन गर्नेछन् ।
यो चलचित्रको प्रोड्युसरको भूमिकामा मनिष शर्मा छन् । प्रोजेक्ट साइनपश्चात् यो जोडीको सम्बन्ध गर्लफ्रेन्ड–ब्वाइफ्रेन्डझैं देखिन थालेको छ । एकअर्काको घर जाने, लामो समय एकसाथ बिताउने तथा मनिषको कार्यालयमा परिणिती पुग्ने जस्ता क्रियाकलाप सबैले देख्न सक्छन् ।
मेरी प्यारी बिन्दुको छायांकनका क्रममा एक पत्रकारले बंगाली भाषामा के तपाईंहरू विवाह गर्दै हुनुहुन्छ ? भनेर प्रश्न गर्दा परिणिती एकछिन अलमलिइन्, तर पछि नायक आयुश्मानले कुरा बुझाएपछि उनले तुरुन्तै भनिन्– ‘नो–नो’ ।