साप्ताहिक संवाददाता
आठवटा म्युजिक भिडियो एकैपटक सार्वजनिक गर्नुको उद्देश्य ?
आठवटा म्युजिक भिडियो आठै प्रकारका छन् । हरेक गीत, ती गीतका भिडियोको शैली र स्वाद पृथक छन् । सबै उमेर र वर्गका मानिसले आ–आफ्नो रोजाइका गीतको भिडियो हेर्न पाऊन् भन्ने चाहनाले पनि पर्खिएरै सबै भिडियो एकैपटक सार्वजनिक गरेको हुँ । एउटा गीतको भिडियो सार्वजनिक गर्ने ट्रेन्ड विकास भएको समयमा आठवटै गीतको भिडियो सार्वजनिक गरेको छु, त्यसो गर्दा दर्शकले मेरो कामको मूल्यांकन गर्न सजिलो हुन्छ भन्ने विश्वास छ ।
लामो समयको ग्यापपछि संगीत क्षेत्रमा पुनरागमन गर्नुभएको छ, ढिलो किन ?
कार्यव्यस्तताकै कारण ढिलो भएको हो । केही समय अन्य काममा व्यस्त भएँ, साथीभाइहरूका लागि गीत–संगीत तयार पारिदिएँ । केहि समय चलचित्रमा पनि सक्रिय रहें । अब संगीतमै निरन्तरता दिनुपर्छ भनेर दह्रै तयारीका साथ आएको छु ।
तपाईंको कमब्याकलाई दर्शक श्रोताले कसरी लिन्छन् भन्ने आशा छ ?
म हिजो पनि संगीतमै सक्रिय थिएँ, अहिले पनि यही नै मेरो मुख्य कर्म हो । त्यसैले यो एल्बमलाई मेरो कमब्याकका रूपमा लिनु हुँदैन् । दर्शक–श्रोताले केही समय मेरा गीत तथा म्युजिक भिडियो सुन्न र देख्न पाउनुभएको थिएन, अब त्यो पनि थोकमै उपलब्ध गराएको छु । संगीतमा नयाँ प्रयोग गर्न रुचाउने भएकाले त्यसका निम्ति दह्रै सिर्जनाकर्ममा लागेको मात्र हो ।
एल्बमको शीर्षक नै डिल्लेजी भर्सेज लालेजी रहेछ, यसमा भएका मध्ये तपाईंलाई सबैभन्दा राम्रो लागेको म्युजिक भिडियो ?
सबै म्युजिक भिडियोका आ–आफ्नै विशेषता छन् । गायकका हिसाबले मलाई सबै गीत र म्युजिक भिडियो राम्रा लागेका छन् । आफूले सिर्जना गरेका सबै गीत सर्जकलाई मन पर्छन् । विशेष गरी ए बूढी थिचिदेऊ न भुँडी गीत सार्वजनिक भएको छोटो समयमै धेरैले मन पराउनुभएको छ । मलाई पनि मन परेको गीत हो यो ।
ए बूढी थिचिदेऊ न भुँडी गीतमा त्यस्तो के विशेषता छ ?
प्राय:जसो मायाप्रीतिका गीतहरू १८–२० वर्षका युवा जोडीहरूको वरिपरि घुमेको हुन्छ, तर ए बूढी थिचिदेऊ न भुँडी गीत ८० वर्षका हजुरबुबा र ७५ वर्षकी हजुरआमाको मायाप्रेममा आधारित छ । युट्युबमा यो गीत हेर्ने दर्शकहरूले यसको प्रशंसा गर्नुभएको छ ।