वर्षामा सबैभन्दा बढी प्रयोग हुने छाता र वर्षादी नै हो । वर्षायाममा घरबाहिर निस्कँदा झरीबाट जोगिन छाता र वर्षादी छुटाउनु हुँदैन ।
छाता : झरीमा छाता कत्तिको आवश्यक हुन्छ सबैले बुझेकै कुरा हो । प्रयोगपछि छातालाई ओभानो बनाउन पानी तक्र्याउनुपर्छ । यसरी सुकाएपछि छाता लामो समय टिक्छ अन्यथा छाता लामो समय चिसो भैरह्यो भने छिट्टै रंग उड्ने र करङमा खिया लागेर छाता बिग्रने सम्भावना हुन्छ । यसैगरी बेला–बेलामा छातालाई साबुन पानीले धोएर घाममा सुकाउने हो भने छाताको आयु लम्बिन्छ ।
वर्षादी : आजभोलि विभिन्न स्टाइलका तथा आरामदायक वर्षादी नेपाली बजारमा सहज ढंगले उपलब्ध छन् । झरीको मौसममा वर्षादीलाई राम्रोसँग पट्याएर पानी नछिर्ने ब्यागमा बोक्नुपर्छ । तार वा काँटीजस्ता छेड्ने कुराबाट जोगाउनुपर्छ । प्रयोगपश्चात् वर्षादीलाई सुख्खा ठाउँमा राख्ने वा फिँजाएर सुकाउने । भिजेको वर्षादी त्यत्तिकै पट्याएर झोलामा राख्दा त्यो गन्हाउने वा बिग्रने सम्भावना हुन्छ । ओभानो भएपछि मात्र पट्याएर राख्ने हो भने वर्षादी लामो समयसम्म टिक्छ ।