साप्ताहिक संवाददाता
फ्रान्सले युरो–२०१६ जितेको भए, एउटा मीठो कथा तयार हुने थियो तर त्यस्तो भएन । फ्रान्स फाइनलमा पोर्चुगलबाट पराजित भयो । फाइनलअघि सबैले फ्रान्सलाई नै उपाधिको बलियो प्रत्यासी मानिरहेका थिए तर उपाधिको त्यति नजिक पुगेर पनि फ्रान्स त्यसलाई चुम्न भने असफल रह्यो । के यो आयोजकका रूपमा फ्रान्सका लागि वास्तवमै निराशाजनक स्थिति हो ? सम्भवत: होइन । फुटबल विश्लेषकहरू यसै भन्न थालेका छन् ।
फाइनलमा हारपछि फ्रान्सेली प्रशिक्षक डिडिएर डेसक्यामपले भनेका छन्— ‘फ्रान्सले प्रतियोगितामा जस्तो खेल देखाएको छ र खेलाडीहरूले जस्तो प्रदर्शन गरेका छन्, त्यसमा गर्व गर्नुपर्छ । फ्रान्सका नयाँ पुस्ताका खेलाडीले राम्रो गरेका छन् र देशको फुटबल भविष्य उत्साहजनक देखिएको छ । युरो–२०१६ ले फ्रान्सलाई फुटबलमय बनाएको थियो र यसले तहसनहस भएको मानिएको फ्रान्सेली एकतालाई फेरि एकपल्ट एकै ठाउँमा ल्याएको छ ।
खासमा वर्षौको निराशा र एकपछि अर्को काण्डपछि फ्रान्सको राष्ट्रिय फुटबल टिम फेरि एकपल्ट लयमा फर्किएको हो । युरो–२०१६ का क्रममा फ्रान्समा त्यस्तै वातावरण तयार भएको थियो, जस्तो सन् १९८८ मा फ्रान्सले आफ्नै भूमिमा विश्वकप जित्दा महसुस गरिएको थियो । ‘फ्रान्सेली फुटबलप्रति आम जनताको माया असाधारण छ,’ प्रशिक्षक डेसक्यामपले भनेका छन् । आफ्ना समर्थकप्रति फ्रान्सेली खेलाडीको व्यवहार पनि सुखद रूपमा फेरिएको छ ।
युरोअघि फ्रान्सेली फुटबल वास्तवमै समस्यामा थियो । सन् २०१० को विश्वकपमा फ्रान्सेली फुटबल टिम हड्तालमै उत्रिएको थियो र त्यतिबेलाको कारण थियो— फरवार्ड निकोलस एनेल्का र प्रशिक्षक रेयमन्ड डोमेन्चबीचको विवाद । गत वर्ष मात्र करिम बेन्जेमा पनि यौन विवादमा नराम्रोसँग फसे । नतिजा यसपल्ट उनी फ्रान्सेली टिममै अटेनन् । यी सबै घटनाबीच फ्रान्स आफैं समस्याबाट गुज्रिरहेको थियो । त्यसक्रममै पेरिसमा आतंककारी आक्रमण भयो ।
फ्रान्स र जर्मनीबीच मैत्रीपूर्ण खेल हुँदा अहिले फाइनल भएको स्टेडियममै ठूलो बम विस्फोट भयो । त्यतिबेलादेखि नै फ्रान्समा संकटकाल लागू छ । युरो–२०१६ सुरु हुनुअघि पनि प्रतियोगिताको सुरक्षालाई लिएर चिन्ता व्यक्त गरिएको थियो । त्यसकै कारण निकै ठूलो सुरक्षा व्यवस्था पनि अपनाइएको थियो । धन्य, प्रतियोगिताका क्रममा कुनै अप्रिय घटना भएन । फ्रान्स गुनासो गर्न नमिल्ने किसिमले युरो–२०१६ को आयोजना गर्न सफल भयो ।