नयनराज पाण्डे नेपाली आख्यानमा चर्चित नाम हो । ७ वटा उपन्यास तथा ४ कथा संग्रह प्रकाशन गरिसकेका नयनले एक दर्जनभन्दा बढी चलचित्रका कथा–पटकथा तथा संवाद पनि लेखेका छन् । कुनै बेला टेलिश्रृंखलामा पनि उनको लेखन जमेको थियो ।
राजनीति एवं सामाजिक परिवेशका गम्भीर मुद्दालाई सरल भाषामा प्रस्तुत गर्नु नयनको विशेषता हो । उनका ‘लू’ र ‘उलार’ उपन्यास पश्चिम तराईमा आधारित सुप्रसिद्ध कृति हुन् । हालै उनले हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पाहरूको जीवनलाई आख्यानमा उतारेका छन् । यो कृतिले सर्वत्र चर्चा पाइरहेको पनि छ । यही उपन्यासको सेरोफेरोमा साप्ताहिकले नयनसँग साहित्यिक संवाद गरेको थियो ।
सल्लीपिर लेख्नुको अर्थ नयाँ उपन्यास थप्नु मात्र थियो कि अर्को कुनै कारण थियो ?
उपन्यास थप्ने रहर छैन अब । कुनै विषयमा वा मुद्दामा लेख्नु आवश्यक छ भन्ने लागे लेख्छु । सल्लीपिर त्यही आवश्यकताले लेख्न लगायो ।
तराईलाई छाडेर हिमाल उक्लँदा सबैभन्दा गाह्रो कहाँ भयो ?
विषय चयनमा पटक्कै गाह्रो भएन । परिवेश, रहनसहन एवं सांस्कृतिक पक्षको अध्ययन–अनुसन्धानमा बढी श्रम खर्च भयो । यो उपन्यास लेख्ने क्रममा धेरैको सहयोग पाएँ ।
सल्लीपिरमा कतिपटक तपाईंलाई लेक लाग्यो ?
धेरै वर्षअघि नाम्चेसम्म गएको हुँ । त्यतिबेला लेक लागेन । लेख्न बस्दा भने पात्रहरूका संघर्ष र पीडाहरूले भने धेरै पटक मुटु बटारियो । वास्तविक लेकको अनुभव लेख्न बस्दा भयो ।
पाठकको प्रतिक्रिया कस्तो लागिरहेको छ ? के अब लेखेरै बाँच्न सकिने अवस्था आएको हो ?
आदरणीय पाठकहरूको अद्भूत प्रतिक्रियाले उत्साहित बनाएको छ । लेखेर बाँच्ने समय पनि आउला तर अहिले लेखेर जीवनयापन केही सहज हुने स्थिति भने छ । यद्यपि पाठकको विश्वास जित्ने सामथ्र्य भने हुनुपर्छ लेखनमा । लेखकका लागि अवसर आएको छ तर चुनौती अझ बढेको छ ।
पाठकले तपाईंबाट राखेका अपेक्षाहरूचाहिँ के–के रहेछन् ?
मबाट पाठक मित्रहरूले हल्काफुल्का विषयको आसा राख्नु हुन्न । मेरो लेखनमा केही गम्भीर विषय हुन्छन् भनेर पाठकहरूले पढ्ने हो मलाई । उहाँहरू मबाट जमिनसित जोडिएको लेखनको अपेक्षा राख्नु हुन्छ र मेरो रुचि पनि त्यही हो ।
केही पाठकले उपन्यासका गल्तीहरू औंल्याइरहेका छन्, त्यसमा तपाईंको भनाइ के छ ?
यही त सामथ्र्य हो अहिलेका गम्भीर पाठकहरूको । उहाँहरूले आँैल्याएका गल्तीहरू सच्याएर सल्लीपिरको दोस्रो संस्करण चाँडै बजारमा आउँदैछ ।
नयाँ प्रोजेक्ट कहिलेदेखि सुरु गर्नुहुन्छ, कुन विषयमा लेख्नुहुन्छ ?
केही विषय त छन् तर तत्काल काम थाल्ने योजना छैन । एकदुई महिना आराम पनि चाहन्छु । घुमघाम र अध्ययनमा समय बिताउन चाहन्छु ।
चलचित्र लेखन र आख्यान लेखनमा के फरक महसुस गर्नुहुन्छ ?
फरक विधा हुन् दुवै । दुवैका आ–आफ्नै विशेषता एवं सीमाहरू छन् । सिनेमा दृश्य माध्यम हो । आख्यानमा हामी शब्दहरूमार्फत दृश्य निर्माण गर्छौं । चलचित्रमा एउटा निर्देशक हुन्छ तर आख्यान हातमा परेपछि हरेक पाठकले आफ्नै खालको दृश्य निर्माण गर्छ । पुस्तक पढ्दा पाठक आफैँ एडिटर, आफैँ निर्देशक तथा कास्टिङ डाइरेक्टर पनि आफैँ हुन्छ ।
अहिले आख्यान लेख्नेहरूको बाढी नै आएको छ, नयाँ लेखकहरूलाई के सुझाव छ ?
अरूको नपढी आफूले राम्रो लेख्न सक्छु भन्ने भ्रमबाट नयाँ लेखकले समयमै मुक्त हुनुपर्छ । पात्र, परिवेश र समकालीन सन्दर्भहरूप्रति गहिरो जानकारी र चासो राख्नुपर्छ नयाँ लेखकले । आख्यानमा अझै धेरै काम गर्न बाँकी छ । नयाँ सोचसहितका लेखकहरूको ठूलो आवश्यकता छ र त्यस्ता लेखकहरूलाई यो क्षेत्रमा स्वागत छ ।