मेरो गाउँमा पनि युरोप गएर आउनेहरू प्रसस्त थिए । सायद त्यो ठाउँ स्वर्ग जस्तै भएर त होला उतैको चर्चा धेरै हुन्थ्यो । युरोपबाट फर्केकाहरूले घुँडासम्म आउने सुकिला जाँघे र स्पोर्ट्स जुत्तामा गाउँ डुल्थे । कम्मरमा भिरेको सोनिको भिडियो क्यामेराले बेला–बेलामा गाउँका सोझासाझालाई कैद गरिरहन्थ्यो । म रिसले हो या डाहले हेर्न सक्थिनँ । देख्या नदेख्यै गरिदिन्थें ।
गाउँका केटीहरू नजिक जाँदैनथे, लाजले टाढै बस्थे तर उनीहरूको नजर भने लुकीछिपी उतै हुन्थ्यो । त्यो मैले राम्रैसँग बुझेको थिएँ । उनीहरू जति टाढा बसे पनि सोनी क्यामेरा थाहै नपाई नजिकै पुग्थ्यो । पछि भिडियोको स्क्रिनमा आफूलाई हेर्न पाउँदा ती हाम्रा चेलीका गाला लाजले राता हुन पुग्थे ।
मलाई ती दिन याद आउँछ । मैले त्यतिखेरै देखि मनमनै सोचेको थिएँ, ठूलो भएपछि म पनि युरोप जान्छु । त्यो भन्दा राम्रो क्यामेरा ल्याउँछु । त्यतिखेरसम्म रेग्मी काकाकी छोरीले बिहा नगरी बसेकी रहिछे भने म पनि उसको भिडियो खिच्नेछु । अनि उसका पनि गाला राता हुनेछन् । मभन्दा दुई वर्षले कान्छी थिई प्रीति । कति मीठो नाम । सुन्दैमा कान टाठा हुन्थे ।
म स्कुल पढ्दा प्राय: ऊसँग भेट हुन्थ्यो । गाउँको वल्लो छेउमा मेरो घर र पल्लो छेउमा उसको भएकाले अरू बेला भेट्न गाह्रै थियो । गाउँमा पूजा, विवाह अथवा अन्य केही त्यस्तै कार्यक्रम भएका बेला म ऊसँग नजिकिने कोसिस गर्थें । कहिलेकाहीं हेराहेर मात्र हुन्थ्यो भने कहिले केही न केही बहानामा बोल्न पनि भ्याउँथें । उनीसँग बोलेको दिन म त्यसै हावासँगै बहिदिन्थें ।
मैले १० कक्षाको परीक्षा दिदा ऊ आठमा थिई । परीक्षाको बेला दैवसंयोग हामी एउटै बेन्चमा परेका थियौं । म भगवान्ले जुराएका हुन् भनेर मख्ख परें । चिट चोर्न खुब सिपालु थिई प्रीति । स्कर्टको भित्रपट्टि आफैंले चोरखल्ती बनाएकी रहिछे । त्यसमा सबै चिटै चिटका टुक्रा भरिभराउ हुन्थे । त्यतिले नपुगेर दुवै तिघ्राभरि नीलो कलमले मसिना अक्षरमा लेखेर ल्याउँदी रहिछे । सुरु–सुरुमा त मैले मेसो पाएको थिइनँ । हिसाबको दिनमा साध्य नमिलेर म रन्थनिँदै थिएँ । अचानक मेरा आँँखा उसको पहिरनतिर पुगें । म जिल्ल परेर टोलाउन पुगेछु ।
उसका ती मिनीस्कर्ट बेलाबेलामा सल्र्याम्मै माथि आइपुग्थे । म एउटै गाउँको दाइजस्तै मान्छे नजिकै छ भन्नेसम्म ख्याल नगरी, लगभगै भित्री अङ्ग ती लाजका गहना ढाक्ने वस्त्रको गोपनीयतासमेत भङ्ग हुने गरी स्कर्टमाथि सार्न सक्ने मेरी सपनाकी रानी । प्रीति रेग्मी । म उसलाई त त्योभन्दा अगाडिदेखि नै मन पराउँथे । सायद जन्मैदेखि या अघिल्लो जुनीमा पनि हामी जोडी थियौं । त्यसैले होला, कहिलेदेखि उसलाई मन पराएँ भन्ने थाहा नै थिएन । म पत्याउनै नसकेर अलमलिएछु । मेरा आँखा उतै थिए । मैले साध्य मिलाउनेतिर ध्यान दिनै सकिनँ । ‘यता नहेर्नुस् न,’ मुसुक्क हाँसेर बोली प्रीति । ऊ कत्ति पनि लजाएकी थिइन । म भने एक शब्द बोल्न नसक्ने लाटो भइसकेको रहेछु । मुखबाट शब्द निकाल्ने साहसमा थिइनँ । निकाल्न खोजेको पनि हो तर मुखैमा अड्किएछ ।
म मेरो मुन्टो मानी नमानी आफ्नो नियन्त्रणमा लिने प्रयासमा फेरि साध्यलाई सुरुबाटै प्रमाणित गर्ने जमर्कोमा थिएँ । हाम्रो कोठामा हुनुभएका एक जना सर र मेडम कुराकानीमै व्यस्त हुनुहुन्थ्यो । यस्तै मौका पारी प्रीतिजस्तै थुप्रैले विभिन्न तरिकाबाट आफूलाई अब्वल साबित गर्न लागिपरेका थिए ।
‘उता हेर्नु न, सरले थाहा पाउनु हुन्छ के ।’ मसिनो स्वरमा फेरि बिन्ती गरी उसले । उसको बोलीमा रिस पटक्कै मिसिएको थिएन । मुसुक्क हाँसेर भनेकी हुनाले मलाई फेरि फरक्क फर्केर हेर्ने साहस मिल्थ्यो ।
बेलाबेलामा मेरा नजरहरू फेरि उतै पुग्थे अनि ऊ कलमको चुच्चो तेस्र्याउँथी । मैले छड्के नजरले हेरेको पनि थाहा पाउँथी । चिट उसले चोरेकी थिई, म थरथर काँँपेको थिएँ । धन्य मैले जानेको जति पहिल्यै गरिसकेको थिएँ नत्र त्यो दिनमा मेरो सयमा शून्य आउने पक्कापक्की थियो ।
परीक्षाको समय सकियो । मैलै सबै प्रश्नको हल गर्न भ्याएको थिइनँ । पास हुने पक्का थियो तर भनेजस्तो राम्रो गर्न सकिनँ र पनि पछुतो पटक्कै थिएन । समय सकिएपछि बाहिर सबै कसले के बिगार्यो, कसले के मिलायो यस्तै कुरा भैरहेका थिए । बिगार्नेहरू अँध्यारो अनुहारमा थिए । मिलाउनेहरू खुसी । ममा पनि त्यस्तै खुसी थियो । अझ भन्ने हो भने ती सबै मिलाउनेहरूको भन्दा धेरै खुसी ममा थियो । सबै हिसाब मिलाए १ सय आउँथ्यो तर मैले त जीवनकै हिसाब मिलाउने तरखरमा थिएँ । त्यसैले मलाई त्यो सयको मतलब थिएन ।
सबै समीरको अगाडि–पछाडि झुम्मिएका थिए । गलत के हो, सही के हो थाहा पाउन । मलाई त्यसको मतलब थिएन । ऊ हाम्रो कक्षाको फस्ट ब्वाई । ऊ यति सिपालु थियो कि सर नभएको बेला उसैले हामीलाई पढाउँथ्यो । मेरो सोचमा त हिसाबमा कति आयो भन्दा पनि जीवनमा कति आउला भन्ने थियो । यताउता खोजें, प्रीतिलाई देखिन । उ अगाडि नै आफ्ना साथीहरूसँग गैसकेकी थिई । म लस्किएँ । उसलाई भेट्टाउन । एकछिनमा भेट्टाएँ । ऊ उसका साथीहरूसँग थिई । उसले त सबै प्रश्नको हल गरिछ । खुसी देखिन्थी । नहोस् पनि किन । उसका साथीहरू बिदा भएर आफ्नो बाटो लागे अनि उसको र मेरो बाटो केही बेर एउटै हुनाले बोल्ने मौका मिल्यो ।
‘कस्तो गर्यौ आज ?’ मैले नजिकै पुगेपछि भने । ऊ फर्केर मुस्कुराई । यतिखेर भने लाजले ऊ भुतुक्क भएकी थिई । बोल्दै बोलिन । मुस्कुराउँदै अगाडि बढिरही । हाम्रो बाटो धेरै लामो थिएन त्यसैले म सकेसम्म छोटो पाइला गर्ने कोसिस गर्दै थिए । अनि ऊ मेरै तालमा थिई । ‘तपाईंको कस्तो भयो नि ?’ मलाई पुलुक्क हेर्दै सोधी । उसको अनुहार झल्झली बलेको थियो । असाध्यै खुसी देखिन्थी ।
‘मेरो त डामाडोल भयो नि आज’ भन्न भ्या’को पनि थिइनँ, ऊ मुर्छा परुन्जेल हाँस्न थाली । उसलाई थाहा थियो, मैले यसो भन्नुको कारण । मेलै उसले चिट चोरेको हेर्न थालेपछि एउटा अक्षर पनि लेख्न सकेको थिइनँ । उसको त्यो हाँसोले मलाई लागेको थियो, प्रीति मेरी आफ्नै साथी हो । मेरो मुटुको धड्कन हो ।
परीक्षा सोचेजस्तो नभए पनि मलाई कत्ति पनि मन दुखाई थिएन । मैले प्रीतिलाई यति नजिक अनुभव गर्न पाएँ । त्यस्तो अमूल्य समयका लागि त, म मेरो जीवनभर दिनुपर्ने सम्पूर्ण परीक्षाहरू डामाडोल पार्न तयार थिएँ । ‘मैले गर्दा त होइन होला नि ?’ हाँसो रोकेर मतिर पुलक्क फर्केर फेरि सोधी ।
म कसरी भन्न सक्थें त्यो मीठो सत्य । ‘यसलाई तिम्रो दोष भन्न मिल्दैन । किनभने आज मेरो परीक्षा बिग्रेकोमा मलाई कुनै गुनासो छैन ।’ ऊ अडिई अनि म पनि । बाटो हाम्रो अलग हुँदै थियो । ‘आई एम सरी,’ एकाएक मलिनो अनुहार भएको थियो प्रीतिको ।
‘के को सरी भन्या होला तिमीले पनि,’ उ आफ्नै बाटो र म आफ्नै बाटोका लागि हाम्रो दूरी लम्बिँदै थियो । यस्तो लाग्थ्यो, उनीसँगै जान पाए कस्तो हुन्थ्यो होला । मेरो मन छुट्टिनै मानेको थिएन । ऊ मतिरै हेर्दै थिई । सायद उसलाई पनि त्यस्तै भाथ्यो होला । मौन थियौं हामी तर मन जोरले चिच्याएको थियो ।
‘भोलि के छ नि तपाईंको ?’
‘विज्ञान’
‘ए मेरो पनि विज्ञान हो ।’
‘लौ त, भोलि भेटौंला,’ मलाई भन्न त मन थिएन तर पागलै भएजस्तो गर्न पनि भएन ।
‘ल, भोलिको चाहिं राम्रो गर्नु नि फेरि,’ म केही बोल्न सकिनँ । उसलाई हेरें । मुसुक्क मुस्कुराएकी थिई ।
‘म त मेरो जीवनमा आउने सबै परीक्षाहरू बिगार्ने निष्कर्षमा पुग्या छु,’ ऊ फेरि पहिलाको जस्तै गरी हाँसी । म मुख खोलेर हाँसेको जस्तो गरे पनि आवाज थिएन । मेरा हातगोडा कता–कता काँपेका जस्ता थिए । मैले जमिनको भेउ नै पाएको थिइनँ ।
ऊ हाँस्दै बाटो लागी । बेला बेलामा फर्केर हेर्थी । मेरा आँखा त झिमिक्क पनि गरेका थिएनन् ।
परीक्षा दिन गएको छोरो हँसिलो अनुहारमा घर आइपुग्दा वाबु आमा त खुसी हुने नै भए ।
‘जाँच राम्रो गरे जस्तो छ आज,’ घर पुग्नेबित्तिकै बाले भन्नुभयो ।
‘हजुर, राम्रै भयो,’ मैले कसरी भन्न सक्थेँ अरु सबै कुरा ।
हरिभक्त रेग्मीको गाउँमा राम्रै इज्जत थियो । धन सम्पत्ति प्रशस्त, मान प्रतिष्ठा पनि । गाउँका गनिने अब्बल दर्जाका व्यक्तित्व थिए । मेरो बालाई भाइ र आमालाई बुहारी भनेर नाता गाँसेका थिए ।
त्यसैले म र मेरी दुई बहिनी काका भन्थ्यौँ । गाउँमा ऐँचो पैँचो, अर्म पर्म गर्न पर्दा घर टाढै भए पनि प्रीतिकी आमा र मेरी आमाको खुब आवत–जावत चल्थ्यो । म खाजा खाएर आफ्नो कोठामा थुनिएँ । मलाई जसरी पनि विज्ञान रट्नु थियो, किनभने म यसमा अत्यन्त कमजोर थिएँ । मलाई यसैको डर थियो ।
म विज्ञानलाई सात्विक जीवनको शत्रु ठान्थेँ । आज पनि मेरो त्यो मानसिकतामा कत्ति पनि कमी आएको छैन ।
विज्ञानले मानिसलाई त्यो बाटोमा डोर्यायो जुन बाटोमा कहिल्यै शान्ति छैन ।
माया छैन ।
प्रेम छैन ।
मैले यो कुरा मेरो साथी समीरलाई सुनाउँदा मलाई मूर्ख र स्वाँठ भन्थ्यो ।
क्षणिक भोग विलास, विनास र अन्धकारमय भविष्य विज्ञानका उपलब्धि हुन् भन्ने कुरा अबको मानवले पत्याउने सम्भावना पनि छैन । मैले विज्ञान पास गर्नु थियो अरु मलाई के मतलब । तर मैले रट्न सकिनँ । झल्झली प्रीतिको अनुहार पो याद आउन थाल्थ्यो । अनि त्यो उसको हाँसो । कति लोभ लाग्दो । निश्छल अनि पवित्र थियो । किताब बन्द गरेर मोबाइल निकालेँ । फेसबुकको चलन । उसको पनि फेसबुक छ कि भनेर खोज्न थालें । अहँ, कति खोजेँ उसलाई फेला पारिनँ । मेरो रटान त्यसै हरायो ।
भोलिपल्ट स्कुलमा परीक्षा सुचारु भयो । ऊ आफ्नै सुरमा लेख्दै गई । बेला बेलामा उसको त्यो स्कर्टको चोर खल्तिबाट टुक्राहरू निकाल्थी अनि धमाधम सार्थी तर उसको मिनी स्कर्ट भने माथि कहिल्यै सरेन ।
‘तपाईंको विज्ञान बिग्रन्छ भनेर मैले चिटै चोरिनँ,’ त्यो दिन घर फर्कंदा उसले भनी ।
मेरो विज्ञान प्रतिको उसको त्यो चिन्ता हाम्रो मायाको सुरुवात जस्तो लाग्थ्यो । मेरा मनका क्षणिक रहरहरू पूरा नभए पनि उसका ती शब्दहरूले हामी दुईको भविष्यको सम्बन्ध अझै गाढा हुनेमा म विश्वस्त थिएँ ।
(उपन्यासकार रविचन्द्र भट्टराईको उपन्यास 'तृष्णा' बाट एक अंश)